वैकल्पिक ऊर्जाको संभाव्यताबारे छलफल

mainकाठमाडौं, २३ पुस । नेपालका विविधतायुक्त पर्यावरणीयस्थलमा उपयुक्त वैकल्पिक ऊर्जा प्रविधिको सम्भाव्यता अध्ययन विषयमा छलफल गर्न नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले सरोकारवालासँग छलफल गरेको छ ।

उक्त छलफलमा बोल्दै विज्ञान तथा प्रविधि मन्त्री एवं नाष्टका सहकुलपति शिवलाल थापामगरले मुलुकमा वर्तमान असहज परिस्थितिका कारण इन्धनको संकट भइरहेको अवस्थामा यस किसिमको कार्यक्रमको आयोजना हुनु अत्यन्त सान्दर्भिक रहेको बताए ।

उनले नाष्टले सर्वसाधारण जनताले सहजरूपमा प्रयोग गर्नसक्ने किसिमको वैकल्पिक ऊर्जाको अनुसन्धान र विकासमा विशेष जोड दिनुपर्ने सुझाव पनि दिए । मन्त्री थापाले भने, ‘हाल युवा वैज्ञानिक तथा प्राविधिज्ञहरूको बढ्दो विदेश पलायन चिन्ताको विषय हो । यस प्रवृत्तिलाई रोकी उनीहरूलाई स्वदेशमै आफ्नो क्षमता उपयोग गर्ने वातावरण सिर्जना गर्नेतर्फ मन्त्रालय क्रियाशील रहेको छ ।’

उनले यसका लागि निकट भविष्यमै युवा वैज्ञानिक तथा प्राविधिज्ञहरूको जमघट आयोजना गरी प्राप्त सुझावका आधारमा उनीहरूको सिर्जनशीलतालाई प्रोत्साहित गर्न विभिन्न कार्यक्रमहरू ल्याउने तयारी मन्त्रालयले गरिरहेको जानकारी दिए । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) का उपकुलपति प्राडा जीवराज पोखरेलले नेपालमा जटिलरूपमा देखा परिरहेको वैज्ञानिक तथा प्राविधिज्ञहरूको विदेश पलायनलाई रोक्न नास्टले विभिन्न कार्यक्रम गरिरहेको बताए ।

उनले समयमै बजेट प्राप्त हुन नसक्दा मुलुकले सामना गर्नुपरेको विनाशकारी भूकम्प र नाकाबन्दीका कारण अपेक्षा गरेअनुरूप कार्य गर्न नसकेको बताए । उनले भने, ‘तर नेपाल सरकारले यसवर्ष समयमै बजेट उपलब्ध गराउने हो भने हामी अझै पनि छोटो समयमै विज्ञान प्रविधिको विकास र वैकल्पिक ऊर्जा क्षेत्रमा उल्लेखनीय कार्य गर्न सक्दछौँ ।’

विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले नेपाल प्राकृतिक स्रोत साधनको दृष्टिले सम्पन्न मुलुक भए पनि त्यसको सही उपयोग हुन नसकेका कारण विकासको बाटोमा पछि परेको बताए ।

प्रतिक्रिया