चुक्यो सरकार

बाँच्न पाउने पहिलो हक हो । समाजिक उत्थान सामाजिक सम्मान र समानताका विषय त पछि नै उठ्ने हुन् । नेपालीको जनजीवन धेरै वर्षदेखि कठिन नै थियो । साउने झरीसँगै बाढीपहिरोका कारण हजारौँले ज्यान गुमाउने नेपालमा झाडापखालाको समेत औषधि नपाएर ज्यान गुमाउने नियति बारम्बार देखिएको छ । यो वर्ष नेपालीको नियति यत्तिमा सीमित रहेन । हाल आपूर्ति अभावको समस्या भोगिरहेका नेपालीका माझ जाडो बढ्दै जाँदा थप समस्या देखिएको छ । १२ र २९ वैशाखमा गएको भूकम्पका कारण धेरै नेपालीले ज्यान गुमाए । समस्या यत्तिमा मात्र सीमित रहेन । जाडो बढ्दो छ । यो ७ महिनाको अवधिमा पनि भूकम्पपीडितको पुनःस्थापनाको काम भएन । यसका लागि छुट्याइएको बजेट उपयोग भएको छैन । गोरखामा भूकम्पपीडितले आगोको भरमा रात बिताइरहेका छन् । राज्य मौन छ । देशमा पेट्रोलियम अभाव भएको हो की पेट्रोलियम पदार्थको मूल्य वृद्धी भएको छुट्याउन कठिन भएको छ । खुलमखुल्ला महँगो मूल्यमा पेट्रोलियम पदार्थको बिक्री भइरहेको छ । सरकार यस बारे मौन छ । कूटनीतिक क्षेत्रमा सरकार असफल भएको छ । राज्यको विपद् व्यवस्थापनका निम्ती तयार भएको श्रोत र साधनमा ठूलो पद र ओहदाका व्यक्तिले मनोमानी गरेको समाचार सामान्य बनेका छन् । पूर्ववत् सरकारको अर्थमन्त्रीको आफन्त नै यसमा सबैभन्दा धेरै मुछिए । यस सरकारका गृहमन्त्री विवादमा मुछिइसकेका छन् ।

आमनागरिकले आफ्नो कमाइबाट राज्यलाई तिर्ने कर सामान्य होइन । अप्ठेरो समयमा राज्यको अस्तित्व महसुस होस् भनेर नै हो । आम नागरिकले बाढी पहिरोको समयमा राज्यको अस्तित्व महसुस गर्न सकेनन् । थुप्रै नेपालीले झाडापखाला लाग्दा राज्यको महसुस गरेनन् । अहिले भूकम्पपछि आएको जाडोयाममा राज्यको महसुस गर्न सकेनन् । नेपालीको विगत संघर्षमा बित्यो । भयमा बित्यो । वर्तमान अभाव र समस्यामा बित्दै छ । भविष्य अनिश्चित छ । सरकारले अहिलेसम्म सही बाटो पक्रिएको छैन । जताततै कठिनाइ नै कठिनाइ छ । यसका बाबजुद नेपालीले धैर्यता गुमाएका छैनन् । सकारात्मक भविष्यको प्रतिक्षा गरेर नै बसेका छन् ।

महिनौँ राजनीतिक नेतृत्वको वैदेशिक भ्रमण नेपालमा सामान्य बनेको छ । तर, त्यहाँ गएर त्यहाँको जनजीवन र राज्य सञ्चालनको सामान्य तरिकासमेत बुझेको देखिएको छैन । नागरिकप्रतिको दायित्व बोध भएको छैन । राज्यलाई कर तिरेवापत् बिमारी पर्दा घरमै चिकित्सक आइपुग्ने संस्कृतिको ख्याल भएको छैन । संसारमा कुनै ठाउँमा हिंसा भड्किँदा आफ्नो नागरिक त्यहाँ छ या छैन बुझ्ने र भएमा उद्धारको कदम चालिहाल्ने संस्कृति थाहा छैन । राज्य नेतृत्वको असफलता र लाचारी विगतदेखि नेपालमा देखिँदै आएको थियो । तर, पछिल्लोसमय जसरी भूकम्पपीडित आगोको भरमा जीवन बिताउन बाध्य छन् यसले राज्यप्रतिको विश्वास गुम्दै जानु स्वभाविकै हो ।

प्रतिक्रिया