औषधि आपूर्ति सहज बनाऊ

भारतीय नाकाबन्दी र मधेसमा भएको आन्दोलनको वहाना बनाउँदै अहिले नेपालमा औषधि अभाव भएको बताइएको छ । औषधि अभाव भएको भन्दै अस्पतालहरूले आकस्मिक बाहेकका विरामी भर्ना नलिने बताउन थालेका छन् । शल्यक्रिया गर्नु पर्ने विरामीलाई त झन् त्यसमा चाहिने उपकरणहरूकै अभाव भएको बताइएको छ । औषधिकै अभावमा मर्नु पर्ने अवस्था आउनु भनेको अत्यन्त जटिल अवस्था हो । कसैको अवरोधका कारण आपूर्ति हुन नसकेर अभाव भई विरामीले मृत्यु वरण गर्नु पर्ने अवस्था आउनु मानवीयताको पराकाष्ठा नै हो । संसारमै यो भन्दा ठूलो अपराध अरू हुन सक्दैन ।

इन्धन अभावको त विकल्प हुन सक्छ तर, औषधि अभावको विकल्प वारे कल्पना गर्न सकिँदैन । युद्धको अवस्थामा पनि कसैले कसैको औषधि आपूर्तिमा वाधा पु¥याएको सुन्नु परेको छैन । ‘युद्धका नियम’ भनेर चिनिने जेनेभा महासन्धीले त घाइते भई लड्न नसक्ने अवस्थामा पुगेका शत्रु पक्षका योद्धालाई पनि उपचार गरी मानवीय व्यवहार देखाउनु पर्ने भनिएको छ । युद्ध ग्रस्त क्षेत्रमा रेडक्रसजस्ता टतस्थ सेवामुखि संस्थालाई निर्वाध काम गर्न दिनु पर्छ । उनीहरूलाई औषधिजन्य वस्तुको आपूर्तिमा कसैले वाधा पु¥याउन पाइँदैन भनिएको छ । तर, त्यो अवस्था नेपालको होइन । नेपालले भारतसंँग युद्धको घोषणा गरेको छैन र भारतले पनि नेपालसँग । यदी युद्धकै अवस्था हुन्थ्यो भने पनि औषधिको आपूर्ति रोक्न पाइदैनथ्यो । माओवादी सशस्त्र द्वन्दको समयमा पनि औषधि आपूर्तिमा अवरोध थिएन । माओवादीको नियन्त्रणमा रहेको सेना, प्रहरी वा राज्य पक्षका अन्य व्यक्तिलाई परिवार वा नजिकका नातेदारले औषधि पठाउन चाहेमा उनीहरूले संम्वन्धित व्यक्ति कहाँ सो औषधि पु¥याएको प्रशस्त उदाहरण छन् । अहिलेको अवस्था भनेको त्यतिवेलाको सशस्त्र द्वन्दकोजस्तो अवस्था पनि होइन । आन्दोलनरत् दलले राज्य विरुद्ध सशस्त्र युद्धको घोषणा गरेका छैनन् । आफूहरूको आन्दोलन शान्तिपूर्ण रहेको उनीहरूले बताउँदै आएका छन् यस्तो अवस्थामा औषधि लगायत जीवन धान्न आवश्यक वस्तुको आपूर्तिमा अवरोध पु¥याउनु अपराध हो ।

शत्रुसँग वार्ता हुन सक्छ र संसारमा यस्ता उदाहरण प्रशस्त छन् । तर, अपराध गर्नेसँग वार्ता वा संवाद हुन सक्दैन । अपराध नियन्त्रण वा न्युनिकरण गर्ने उपाय भनेको सजाय मात्रै हो । राष्ट्रिय हुन वा अन्तर्राष्ट्रिय अपराधिले पाउने सजाय हो । अपराधिसँग वार्ता, संवाद गर्नु वा कुनै किसिमको सहमति गर्नु भनेको अपराधलाई बढावा दिनु नै हो । तिमी मेरो यो माग पुरा गर अनि मात्र म औषधि खान दिन्छु भन्नु एउटा अत्यन्त क्रुर ‘जल्लाद’ ले पनि गर्न नसक्ने कुरा हो । नेपाल सरकारले औषधिजस्तो अतिआवश्यकिय वस्तुमा पनि अवरोध गरियो भनेर दुनियाँलाई देखाउन जानेरै अभाव बनाएको हो भने सरकार ‘पानीमाथिको ओभानो’ हुनसक्दैन । उसको यस्तो कार्य पनि आततायी प्रकृतिकै अपराध हुन्छ । औषधिजस्तो जीवन दायिनी वस्तुमा अवरोध पु¥याएर गरिने आन्दोलन न्यायपूर्ण हुन सक्दैन । औषधि आपुूर्तको अवरोध कायमै राखेर अवरोधकारी र खुलाउने पक्षबीच वार्ता हुन्छ भने दुवै पक्ष दोषी हुन । आन्दोलनरत् पक्षले हालै जारी गरेको विज्ञप्तिमा अव गरिने आन्दोलनमा पनि एम्वुलेन्स, सञ्चारकर्मी र मानवअधिकारलगायतका सवारी साधनमा अवरोध नगर्ने जनाएका छन् । औषधि आपूर्तिमा अवरोध पु¥याएर एम्वुलेन्स गुड्न दिनुको कुनै अर्थ छैन । यस्तो खोक्रो आदर्श र मानवीयता देखाउने दाँतजस्तो पनि हुन सक्दैन । सरकार पनि मोर्चाको अवरोधको कारण औषधिको अभाव भएको भनेर कराउनुको अर्थ छैन । कुनै पनि जनताप्रति जिम्मेदार सरकारले यसो भन्नु भनेको नालायकीपन हो । हवाई इन्धन हवाई मार्गबाट आपूर्ति हुन सक्ने औषधि हुन नसक्ने हुदैन । सरकार र आन्दोलनकारी तथा भारत तीनै पक्षले जस्तोसुकै संम्वादहीनताको अवस्था वा शत्रुताको अवस्थामा पनि औषधिजन्य वस्तुको आपूर्तिमा हेलचेक्र्याई नगरी मानवीयता देखाउनु जरुरी छ ।

प्रतिक्रिया