विगतदेखि कुनै न कुनै बाहानामा नेपालको आन्तरिक मामलामा भारतले दख्खल दिँदै आएको छ । भारतले नेपालमाथि गर्ने दमनको पराकाष्ठा रूप हो, नाकाबन्दी । विगतमा विभिन्न समयमा नेपालमाथि नाकाबन्दी गरेर भारतले आफ्नो स्वार्थ पूरा गर्दै आएको छ । भारतको चाल नबुझेर अनि कहिलेकाहीं बुझेरै पनि बाध्यतामा उसको कुरो मान्दै आएका हाम्रा राजनेताका विगतको गल्तीको परिणामस्वरूप हाम्रो अर्थतन्त्र पूरै भारतमूखी बन्यो । यो एकैपटक भएको होइन । तर, भारतको चलाख कुटीनितले हाम्रो अर्थतन्त्रलाई सुस्तसुस्त पूर्ण रूपमै भारतमूखी बनाइ छाड्यो । नेपाली राजनेताको अदूरदर्शीताकै कारण ‘भारतको सहयोगबिना नेपालले केही गर्नै सक्तैन’ भन्ने मानसिकता नेपाली जनतामा पनि विस्तारै विकास हुँदै गयो । भारतको इसारामै नेपालमा सरकार बन्ने र ढल्ने गरेको इतिहास पनि हामीसामू छदैँछ ।
नेपालका राजनेतामा हरेक निर्णयमा भारतको स्वीकृति खोज्ने परम्परा विकास भएको थियो । ०७ सालदेखिका हरेक ठूला राजनीतिक घटना क्रममा भारतले ‘अघोषित हस्तक्षेप’ गर्दै आएको छ । त्यस्ता ठूला राजनीतिक परिवर्तनपछि भारतले नेपाललाई दूरगामी असर गर्ने खालका र उसलाई दीर्घकालसम्म फाइदा हुने कुनै न कुनै सन्धी–सम्झौता गर्दै आएको इतिहास छ । आफ्नो स्वार्थअनुसार नेपालका संस्थापन पक्ष चल्न छाडेको भान हुन थालेपछि भारतले कुनै न कुनै रूपमा नेपालको जनजीवन प्रभावित पार्ने गरी विभिन्न हथकण्डाहरू अपनाउँदै आएको छ । परिस्थिति परिवर्तन हुँदै जाँदा अहिले अवस्था केही बदलिएको छ । समय परिस्थितिले अब भारतकै इसारामा मात्रै नेपालमा सरकार बन्ने र ढल्ने अवस्था रहेन । नेपाली जनतामा आएको सकारात्मक सोचले यस्तो सम्भव भएको हो ।
विगतदेखि नै घोषित रूपमा नेपाललाई आफ्नो सुरक्षा छातामुनि राख्न चाहने भारत अन्तर्राष्ट्रिय दबाबकै कारण त्यसमा सफल हुन सकेको छैन । तर, नेपालको सुरक्षा क्षेत्रमा उसको बलियो उपस्थिति भने कायमै छ । पहिलापहिला शक्तिशाली मुलुकहरूले कमजोर मुलुकमाथि सिधै आक्रमण गरेर आफ्नो औपनिवेश खडा गर्थे । हिजोआज चाहिँ आर्थिक रूपमा कुनै पनि मुलुकलाई कमजोर बनाउने अनि आफूले भनेजसरी राज गर्ने चलन छ । विगददेखि नै भारतको नीति पनि यस्तै छ । भारतले खासगरी दक्षिणपूर्वी एसियाका आफ्ना छिमेकी मुलुकलाई आर्थिक रूपमा जर्जर बनाएर आफूअनुकूल चलाउन चाहन्छ । उसले आफ्ना छिमेकी मुलुक आर्थिक रूपमा सबल र सक्षम भएको कहिल्यै हेर्न चाहँदैन । भारत दक्षिणपूर्वी एसियामा आफूलाई ‘बडे भाइ’ को रूपमा स्थापित गर्न चाहन्छ । बुझ्नुपर्ने के छ भने, मुलुक सानो र ठूलो हुन सक्छ तर सबै मुलुकको स्वाधीनता र राष्ट्रियता उस्तै हुन्छ । यो कुरा हाम्रा नेताहरूले भरर्खरै बुझन् थालेका छन् । भारतले पनि यसलाई ख्यान गर्नैपर्छ । नत्र नेपाल र भारतको सम्बन्ध भौगोलिक रूपमा जोडिए पनि ‘रोटी–बेटी’ अलापेर मात्र भावनात्मक रूपमा नजिक हुन सक्तैन ।
प्रतिक्रिया