नेपालीहरू महान चाड तिहारको नजीक आइपुगेका छन् । मुस्किलले दसैँको विदाई गरेका नेपालीका लागि तिहार पनि कम कठिनाइको पक्कै हुने छैन । प्रत्येक चाडका आफ्ना सांकेतिक अर्थ हुन्छन् । त्यसलाई जीवनमा नउतारे चाड मनाउनुको कुनै अर्थ हुने छैन । यम पञ्चकको रूपमा मनाइने पाँच दिनका आफ्नै अर्थ छन् । साथै महत्व पनि छन् । सृष्टि चल्ने क्रममा सबैको आफ्नो दायित्व र भूमिका हुन्छ नै । ती भूमिकालाई स्वीकार गर्नु, सबैलाई सम्मान गर्नु र सबैको हित चाहनु नै जीवनयापनको साँचो अर्थ हो । प्रकृतिले जन्म दिएका हरेक जिवका आफ्नै चरित्र हुन्छ । आफ्नै महत्व पनि ।हामी आधुनिक सञ्चारको युगमा प्रवेश गर्नुभन्दा धेरै अघि पशुपंक्षी सञ्चारमाध्यमको रूपमा रहेका थिए । कुनै खबर पहिले कागले नै थाहा पाउँछ र यसले सचेत गराउँछ भन्ने परम्परागत मान्यता रहेको छ । यसका साथै कागको निरन्तर एउटा काम फत्ते नभएसम्म लागीरहन्छ भन्ने मान्यता छ । त्यसो त हामीले पूजा गर्ने गरेको कुकुरको आफ्नै विषेशता नभएको होइन । मान्छेप्रति सबैभन्दा बफादार प्राणीको रूपमा कुकुरलाई लिइन्छ । कुकुरले पनि विपत्तीको समयमा सूचना दिन्छ भन्ने मान्यता छ ।
मानव जीवनमा सबैभन्दा उपयोगी खाद्य पदार्थ गाईको दूधका उत्पादन नै हुन् । त्यसै कारण गाईलाई आमा समान मान्ने हाम्रो प्रचलन हो । त्यस्तै गाईलाई हिन्दूहरूको भगवान लक्ष्मी मानेर पनि पूजा गर्ने गरिन्छ । नेपाल कृषि प्रधान देश हो । यहाँ गोरूको आफ्नै महत्व छ । गोरूबिना कृषि व्यवसाय सम्भव थिएन । तिहारको अन्तिम दिन भाइ टीकाको अर्थ भातृत्वको भावना बढोस् भन्ने हो । ५ हजार वर्ष पुरानो मानव सभ्यताले वैज्ञानिक फड्को मार्दा, मानव सभ्यता असफल भएको महसुस भएको छ । एकातिर हामी हाम्रो जीवनमा महत्वपूर्ण भूमिका रहने सम्पूर्ण पशु पंक्षीको समेत महत्व छ भनेर चाड मनाइरहेका छौँ । अर्कोतर्फ युद्ध र अशान्तिले थुप्रैले ज्यान गुमाइरहेका छन् । चाड मनाउने नाममा विकृति बढ्दो छ । यसको लाक्षणिक अर्थ र महत्वलाई जीवनमा स्वीकार गर्नेभन्दा पनि विलासिताकासाथ समय विताउनका लागि चाड बनाइने प्रचलन बढ्दो छ ।
संस्कृतिको रक्षा गर्नु भनेको विलासिताका दिन पर्खेर बस्नु पक्कै होइन । आशा गरौँ यो तिहारपछि हाम्रो जनजवीवनले नयाँ मोड लिने छ । कुकुरलाई पूजा गरेजस्तै हामी सधंै आफूप्रति वफादार हुनेलाई सम्मान गर्न सकौँ । कागलाई पूजा गरेजस्तै हामी हाम्रो काममा दत्तचित्त होऊँ । गाईलाई पूजा गरेजस्तै खानपानमा सात्विक होऔँ । गोरूलाई पूजा गर्नेहरू कृषि व्यवसायको महत्व बुझौँ । हामी सबैमा भातृत्वको विकास होस् । यसो भयो भने यो तिहारसँगै हाम्रो जीवन र हाम्रो समाजको विकास क्रमले नयाँ मोड लिन सक्नेछ ।
प्रतिक्रिया