झेली कूटनीति

सरकार र मधेसी मोर्चाबीचको वार्ता सकारात्मक भएको खबरले सबैलाई खुसी तुल्याएको थियो । लामो बन्दले आजित भएका तराई–मधेसका स्थानीयलाई पनि मोर्चाकै वार्ता टोलीले समेत सरकार मोर्चाको माग पूरा गर्न सकारात्मक भएको सन्देशले खुसी बनाएको थियो । अभावै अभावमा दैनिकी चलाइरहेका नेपालीहरु अब केही दिनमै नाकाबन्दी खुलेर उपभोग्य सामग्री सहज हुने कुरा मनमा खेलाउँदै निदाएकामा सोमवार बिहान ओछ्यानमै वीरगञ्जको घटना सुन्दा छाँगाबाट खसेजस्तो भएका थिए । उनीहरुको मनमा आइतबार ननिदाउञ्जेल खेलेका कुरा बिहान नब्युझिंदै सपनामा परिणत भएका थिए । भारतको झेली कूटनीति नबुझेर बचकनापन देखाउँदा वीरगञ्ज घटना भएको घाम जत्तिकै छर्लंग छ । मोर्चा र सरकारबीचको वार्ता मिल्ने अवस्थामा पुग्दा निद्रा हराम भएको भारतले वीरगञ्ज घटनाको षड्यन्त्र बुनेको सरकार र मधेसी मोर्चा दुवैले बुझ्न सकेनन् । होइन भने वीरगञ्जमा फसेका भारतका सबै मालवाहक सवारी साधन भित्रिनलाई सहयोग हुने र नेपालका मालवाहक गाडी यता पठाउने बेला गायब हुने परिस्थिति आउने थिएन ।

पहिलो कुरा त सरकारै भुक्कियो । मधेसी मोर्चाले गरेको आन्दोलनलाई बहाना बनाएर भारतले आपुर्ति रोकेको कुरा सफेद झूठ हो भन्ने सरकारले बुझेकै थियो । आम सर्व साधारण भन्दा यस विषयमा सरकारमा नेतृत्व गर्ने दल र नेता जानकार थिए । यस्तो अवस्थामा मोर्चासँगको वार्ता निष्कर्षमा नपु¥याई नाका खुलाउन बल प्रयोग गर्ने भारतीय उक्साहटमा आउनु भूल थियो । प्रष्ट कुरा त के भने भारत नेपालले संविधान यति चाँडै जारी गरेकामा बेखुश रहँदै आएको जगजाहेर छ । आफ्ना सुझाव संविधानमा नसमेटिनु र उसलाई रुजु नगराई जारी हुनु उसको टाउको दुखाई हो भन्ने कुरा बताइरहनु पर्दैन । यस कुराको पुष्टी संविधान जारी हुनबाट रोक्न उसले गरेको भागिरथ प्रयत्नबाट भएकै छ । अत्याधिक सहमतिमा संविधान जारी गरेको भोलिपल्टैदेखि यो नाकाबन्दी सुरु भएकै हो । नेपालका केही सञ्चार माध्यम र नेता यसलाई अघोषित नाकाबन्दी भन्ने गर्छन, जुन तथ्यले घोषित नै भएको ठह¥याउँछ । अघिल्लो दिन राति भारतीय विदेश मन्त्रालयको आपुर्तिमा कठिनाई आउने विज्ञप्ति आउँछ र विहान हुन नपाउँदै नेपाल प्रवेश गर्ने सवारी साधन रोकिन्छ भने यसलाई कसरी अघोषित भन्ने ? तर, भारत चलाखी गर्दा गर्दै पनि नाङ्गो भइसकेको छ ।

मधेसी मोर्चालाई ठूलो भ्रम छ की भारतले हामीलाई सहयोग गरिरहेको छ भन्ने । उसले बुझ्न नसकेको कुरा के होे भने भारतले उसलाई तत्कालको लागि भरिया बनाएको मात्रै हो । उसको अभिष्ट अर्कै छ । भारत त्यस्तो कच्चा खेलाडी होइन जसले मधेसीलाई मात्र साथ लिएर आम नेपालीप्रति नकारात्मक भाव राख्छ । आफ्नो अभिष्ट पुरा गर्ने ताकत नेपालका मुलधारका राजनीतिक दल र तीनका नेताले मात्र सक्छन् भन्ने कुरा उसले नबुझेको हैन । मधेसलाई मात्र केन्द्रमा राखेर खुलेका दलले मधेसमै धुलो चाटेको उसले देखेकै छ । अहिले पहिलोपटक मुलधारका राजनीतिक दलले उसको कुरा नसुनेकामा उ विक्षिप्त भएको हो । अन्ततोगत्वा भारतले मुलधारका दल र तीनका नेतालाई नै उसले साथ लिनु पर्छ । खुला सीमाका कारण उसलाई पर्न सक्ने समस्यालाई मुलधारका दलले मात्र सम्वोधन गर्न सक्छन् भन्ने भारतलाई राम्रो जानकारी छ । वीरगञ्जको घटनामा जसरी भारतको केन्द्रिय तहबाट जसरी चासो राखियो त्यो चासो परिस्थितीको उपज हो । विहारमा विधानसभाको निर्वाचन यतिखेरै नभएको भए मधेसी मोर्चाले न यति सहयोग पाउँथे न त वीरगञ्जको घटनामा स्वयं मोदीले चासो राख्थे । त्यसैले मधेसी मोर्चाले भारतको सहयोगको रमाएर नेपालीलाई दुखः दिनु किमार्थ बुद्धिमानी होइन । पछि छाँगाबाट खसेर चोट पाउनुभन्दा सरकारसँगको वार्तामा लचकदार भएर निष्कर्ष निकाल्नु बुद्धिमानी हुन्छ ।

प्रतिक्रिया