सम्बन्ध सुधार

सामरिक र ऐतिहासिक भनिने नेपाल–भारत सम्बन्ध अहिले इतिहासकै कमजोर अवस्थाबाट गुज्रिरहेको छ । दुई देशबीचको सम्बन्ध दिनदिनै ‘तनाबग्रस्त’ बन्दै गएको छ । आजै वीरगंजमा भएको घटनामा भारतीय नागरिकको मृत्युले नेपाल–भारतको सम्बन्ध झनै चिसिने निश्चित छ । कठीन अवस्थामा रहेको दुई देशबीचको सम्बन्ध सुधार्न नेपालको तर्पmबाट जे–जति प्रयास भएका छन्, ती प्रभावहीन देखिएका छन् । यसले हाम्रो कुटनीतिक क्षमतामाथि नै प्रश्न उठेको छ । भारतलाई ‘बडे भाइ’को नजरले नहेर्ने नेपालका राजनीतिक नेतृत्वको पछिल्लो कदम सकारात्मक भए पनि दुई मुलुकबीचको सम्बन्धलाई व्यवस्थापन गर्ने कुरामा उनीहरू नराम्ररी चुकेका छन् । हुन त एउटा पक्षको मात्रै जोडबलले सम्बन्ध सुध्रने गर्दैन । यद्यपि हाम्रो तर्पmबाट इमानदार प्रयत्न जारी रह्यो भने भारत झुक्न बाध्ये हुनेछ । त्यसो त भारतले पनि बुझेकै छ, नेपाल–भारत सम्बन्ध जति लामो सयमसम्म संक्रमणमा रहन्छ त्यति नै दुवै देशलाई वेफाइदा हुन्छ ।

अहिले नेपालमा भारतविरोधी ‘सेन्टिमेन्ट’ बेस्सरी बढेको छ । दैनिकजसो मुलुकको विभिन्न भागमा भारतीय संस्थापनको विरोध गर्दै कार्यक्रमहरू हुँदै आएका छन् । प्रवासमा पनि नेपाली समुदायले भारतको कदम (अघोषित नाकाबन्दी) को विरोध गरिरहेका छन् । अन्तर्राष्ट्रिय जगतले पनि प्रष्टै बुझेको छ, भारतको नियत के हो भनेर । अन्तर्राष्ट्रिय जगतलाई हामीले हाम्रा अप्ठ्याराबारे अवगत गराउनैपर्छ संस्थागत रूपमा र आधिकारिक थलोबाट । हामीसँगै भारत पनि विभिन्न अभिसन्धीहरूमा अनुबन्धित छ । भूपरिवेष्ठित मुलुकको हैसियतमा हामीले पाउनुपर्ने पारावहनको अधिकारलाई भारतले निकृष्ठ तरिकाले कुन्ठित गरिरहेको छ । यो कुरा अन्तर्राष्ट्रिय जगतलाई अवगत नै छ । तर, हाम्रो कुटनीतिक कमजोरीका कारण अन्तर्राष्ट्रिय अभिसन्धीहरूले भूपरिवेष्ठित मुलुकका लागि निश्चित गरेको परावहनको अधिकारसमेत उपभोग गर्नबाट हामी बन्चित छौँ ।

इतिहासमा हेर्ने हो भने भारतले आफ्नो ठूलै स्वार्थपूर्ति गर्ने क्रममा नेपाललाई नाकाबन्दी गर्दै आएको छ । यसपटकको नाकाबन्दी पनि विगतभन्दा पृथक उद्देश्यको होइन । भारतको यसपटको स्वार्थ विभिन्न माध्यमबाट सार्वजनिक भएकै छन् । भारतको यसपटकको नाकाबन्दी विगतभन्दा पृथक उद्देश्यको नभए पनि उसले नेपालभित्रको वर्तमान परिस्थितिलाई बुझ्न सकेन । यसैको परिणामस्वरूप भारतीय संस्थापन पक्ष अहिले ‘असफल’ बन्दै गएको छ । विगतमा भारतले नाकाबन्दी गर्दा उसको पक्षमा ठूलै शक्तिको समर्थन रहेको हुन्थ्यो । जसका कारण नेपालको संस्थापन पक्ष झुक्न बाध्ये हुन्थ्यो । अलिहे परिस्थिति त्यस्तो छैन । मधेसी मोर्चाले ‘नाकाबन्दी हामीले गरेका हौँ’ भने पनि उनीहरूको रिमोटकन्ट्रोल भारतसँग रहेको विभिन्न घटनाहरूले पुष्टि गरिसकेको छ । भारतले बुझ्नै पर्छ कि, नेपाली जनताको ठूलो हिस्सा अहिले भारतको कदमको विरुद्धमा छ । भारतीय संस्थापन पक्षले बेलैमा आफ्नो गल्तीलाई सच्याएन भने दीर्घकालमा भारतीय जनताले यसको परिणाम भोग्नुपर्ने हुन्छ । त्यसैले त अहिले भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीविरुद्ध भारतमै विरोध भइरहेको छ । ‘रोटी र बेटी’ का सम्बन्ध भन्दै ‘बडे भाइ र छोटे भाइ’को सम्बन्धलाई निरन्तरता दिन खोज्नु भारतकै लागि पनि प्रत्युत्पादक हुने निश्चित छ । सम्बन्ध सुधार्न दुवै मुलुक तत्पर बन्नुपर्दछ । यो संक्रमणले न त भारतले जित्छ न त नेपाल नै हार्छ ।

प्रतिक्रिया