कमजोर कूटनीति

भारतको अघोषित नाकावन्दीले सिंगो मुलुक अस्तव्यस्त भएको छ । नाकावन्दीकैबीच नेपालीहरुले बढो कष्टपूर्ण ढंगले प्रमुख चाड दशैं मनाए अब अर्को प्रमुख चाड तिहार सन्निकट छ । बजारमा अत्यावश्यक वस्तुको चरम अभाव सिर्जना भएको छ । दशैं भन्दा कष्टपूर्ण ढंगले तिहार मनाउनु पर्ने हो कि भन्ने चिन्ता सबै नेपालीमा पर्न थालेको छ । भारत भने नाकावन्दी गरेको कुरा स्वीकार गर्न तयार छैन । उसले संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसी समुदायले लामो समयदेखि गरेको आन्दोलनका कारण असुरक्षा उत्पन्न भएकाले आपुर्ति सुचारु हुन नसकेको जनाउँदै आएको छ । आन्दोलनरत मधेसी मोर्चा पनि नाकाबन्दी भारतले हैन हामीले गरेको बताउँदै आएका छन् । मधेसी मोर्चाको कुनै अवरोध नभएका नाकाबाट पनि आपुर्ति सहज हुन नसकेबाट अघोषित नाकाबन्दी छताछुल्ल भएको छ । तर, पनि आपुर्ति ठप्पै नभएकाले र आन्दोलनकारी मधेसी मोर्चाको माग राजनीतिक रुपबाट समाधान गरे आपुर्ति सहज हुने बारम्बार भारतले दोहो¥याई रहेकाले पनि मोर्चासँगको आज हुने भनिएको वार्ता निष्कर्षमा पु¥याउन आवश्यक छ ।

नाकाबन्दीले मानव जीवनमा सिधै सरोकार राख्ने औषधीलगायतका अत्यावश्यक वस्तुको चरम अभाव हुँदा, पेट्रोलियम पदार्थको अभावले आवागमन कष्टकर हुँदा, ग्याँसको अभावले चुलो निभ्दा पनि नेपालीले देखाएको धैर्यताको जति प्रशंसा गरे पनि कम हुन्छ । यो धैर्यता नेपालीहरुको देश प्रेमको एउटा उदाहरण पनि हो । नेपालीहरुले कष्ट सहेर पनि अहिलेसम्म सरकारमाथि वा आन्दोलनरत मधेसी मोर्चामाथि आक्रोस पोखेको देखिएको छैन । उनीहरुले सहेका छन् । राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता अनि नेपालीको स्वाधिनताका खातिर । नाकाबन्दी मानवता विरुद्धको अपराध हो । संयुक्त राष्ट्रसंघको स्वीकृतबिना कुनै पनि राष्ट्रले कसैलाई नाकाबन्दी लगाउन पाउँदैन । अन्तर्राष्ट्रिय मानवीय कानूनले युद्धको अवस्थामा पनि नाकाबन्दी लगाउन वर्जित गरेको छ । नेपाली सञ्चार माध्यम तथा सारा नेपालीले यो भारतले लगाएको अघोषित नाकावन्दी नै हो भनेर ठोकुवा गरिरहेका बेला सरकार भने ‘नाकावन्दी’ शब्द स्पष्ट उच्चारण गर्न जिब्रो कमाउँदै छ । अर्कोतिर मधेसी मोर्चा नाकावन्दी हामीले गरेका हौं भनेर हाकाहाकी छाती ठोकिरहेका छन् । कुरा प्रष्ट छ । भारत नेपाली मधेसीको शरीरभित्र ‘धभुत’ जस्तो प्रवेश गरेर नेपालीलाई नै सताउँदैछ । यस्तोमा सरकारले झाक्रीको जस्तो भूमिका निर्वाह गरी मधेसी नेपालीको जायज माग र भारतीय नाजायज स्वार्थलाई छुट्ट्याउन सक्नु पर्छ ।

आज सरकार र मधेसी मोर्चाबीच वार्ता हुने भनिएकाले र मधेसी मोर्चाले आजको वार्तालाई निर्णायक बनाउने बताउँदै आएकाले वार्ताअघि सम्भव सबै विकल्पको अध्ययन् र गृहकार्य गरेर मोर्चाका प्रतिनिधिसमक्ष प्रस्तुत हुन आवश्यक छ । हालै नेपालले पेट्रोलियम पदार्थ आयातका लागि चीनसँग गरेको सहमति र चीनले अनुदानमा दिन लागेको पेट्रोलका कारण भारत मुर्मुरिएको कुरा सार्वजनिक भएसँगै मधेसी मोर्चाका नेताको पनि रुखो अभिव्यक्ति आउन थालेको छ । यो ‘बाग कराउनु र बाख्रा हराउनु’ जस्तो संयोग परेको होइन भन्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा हुन लागेको सरकार मधेसी मोर्चाबीचको वार्तामा सरकार पक्ष जिम्मेवार तथा नभाँचिई नुहिन सक्ने जति नुहिएर मिलनबिन्दु खोज्नु पर्दछ । मधेसी मोर्चाले पनि नेपाली राष्ट्रियता, सार्वभौमसत्ता र स्वाधिनतालाई स्वीकार गरेको हो र फेरी पनि नेपाल भित्रै रहेर राजनीति गर्ने हो भने ‘मेरो गोरुको बाह्रै टक्का’ नभनी मिलन बिन्दु खोज्नै पर्छ । आम नेपाली जनता आजको वार्ता फलदायी होस् भन्ने प्रतिक्षारत छन् ।

प्रतिक्रिया