कूटनीतिक पहल गर

नेपालको संविधान २०७२ जारि गरेपछि भारतले गरेको नाकाबन्दीले सर्वसाधारणको जनजीवन प्रभावित भएको छ । भारतले दसँैको मुखमा आएर गरेको नाकाबन्दीले आम नागरिक कस्टकर जीवन बिताउन बाध्य भएका छन् । भारतले यतिखेर असल छिमेकीको सम्बन्ध बिर्सिसकेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्दा जुन आशा र विश्वास थियो । त्यो अहिले देखावटी मात्र भएको पुष्टि भइसकेको छ । यस्तो अवस्थामा परराष्टमन्त्री कमल थापा पारवहन वार्ता र आपूर्ति सहज गर्ने उद्देश्यले भारत भ्रमणमा गएका छन् । यसबाट के कस्तो परिणाम आउँछ त्यो भने हेर्न बाँकी छ । भारतले आफ्नो छिमेकी मुलुकमा योभन्दा अघि पनि नाकाबन्दी गरेको थियो । प्रजातन्त्र पुनर्बहाली हुनुअघि भारतले नेपालमाथि नाकाबन्दी गरेको थियो । त्यतिखेरदेखि अहिलेसम्म पनि नेपालले इन्धनलगातका अन्य खाद्यान्न आपूर्तिको सम्बन्धमा वैकल्पिक व्यवस्था गर्ने वातावरण सृर्जना गर्न सकेन । यो हामी सबैका लागि दुःखको विषय बन्न पुगेको छ । त्यसैले अब भोलिका दिन पनि यस्तो नाकाबन्दी नहोला भन्न सकिन्न । त्यसैले त्यसतर्फ सोच्नुपर्ने भएको छ । अहिलेलाई तत्कालै आपूर्ति सहज गर्न नेपालले तत्कालै कूटनीतिक प्रयासलाई तीव्र बनाउनुपर्छ ।

भर्खरै नयाँ सरकार बनेको छ । नयाँ सरकारका प्रधानमन्त्रीले पहिलो क्याबिनेट बैठकमै आपूर्ति सहज गर्नेतर्फ सबै प्रयास गर्ने कुरालाई उच्च प्राथामिकता दिइसकेका छन् । त्यसैले अन्य तहबाट कूटनीतिक प्रयास हुन सकेन भने प्रधानमन्त्रीबाटै कूटनीतिक प्रयासको थालनी गर्नुपर्छ । भारतले लगाएको नाकाबन्दीको अवधि झन्डै एक महिना पुग्न लागिसक्यो । तर, ग्यास र इन्धनको आपूर्ति हुन सकेको छैन । नेपालीहरूको महान चाड दसैँ सुरु भइसकेको छ भने यो लगत्तै तिहार आउँछ । यस्तो अवस्थामा भारतबाट सीमित मात्रामा आएको पेट्रोलियम पदार्थ ‘हात्तीको मुखमा जिरा’ जस्तै भएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निजी पेट्रोल पम्पका अगाडि हजारौँको संख्यामा सवारी साधन इन्धनको खोजीमा लाम लागेका छन् । तर, यसको निकास कहिले भन्ने प्रश्न अझै अनुत्तरित छ ।

इन्धनसँगै खाना पकाउने एलपी ग्यासको अभाव पनि उस्तै रहेको छ । दिन प्रतिदिन उपभोक्ताले पीडामाथि पीडा भोग्दै जाँदा पनि नेपाल आयल निगमले भने समस्या समाधान कसरी गर्ने भन्नेमा अहिलेसम्म प्रष्ट अवधारणा ल्याउन सकेको छैन भने सरकारले पनि यसतर्फ ठोस कदम बढाएको देखिँदैन । दैनिक ३ सय ५० ट्यांकर इन्धन आयात भएको अवस्थामा मात्र बजार सहज हुन सक्ने निगमले बताउँदै आएको छ भने । यस्तो अवस्थामा केही ट्यांकर आयत हँुदैमा बजारमा आपूर्ति सहज हुनै सक्दैन । त्यसैले अब सरकारले पारवहन समस्याको विकल्पमा नयाँ व्यवस्था गर्नेतर्फ सोच्नुपर्ने भएको छ भने भारतको मात्रै मुख नताकी अन्य छिमेकी मुलुक चीन, बंगलादेशलगायतबाट पनि वस्तु तथा सेवा ल्याउनेतर्फ कदम अगाडि बढाउनुपर्ने भएको छ । एउटै मात्र देशसँग निर्भर रहेको कारण अहिले आम नागरिक कस्टकर जीवन बिताउन बाध्य भएका छन् । योभन्दा अघि सरकारले दीर्घकालीन सोच राखेको भए यतिखेर भारतले नाकाबन्दी गर्ने बित्तिकै अन्य देशबाट आपूर्ति सहज हुन्थ्यो । त्यसैले सरकारमा बस्ने र प्रतिपक्षमा बस्ने सबै राजनीतिक पार्टीले दक्षिणलाई खुसी पार्नुभन्दा पनि आफ्ना देशमा बस्ने नागरिकलाई ध्यानमा राखेर काम गर्ने वातावरण सिर्जना गरे मात्रै भारतसँगको परनिर्भरता हट्ने थियो । त्यसैले नेपालले एउटा देशसँग मात्रै कूटनीतिक पहल नगरी सबै छिमेकी मुलुकसँग कूटनीतिक प्रयासलाई चुस्त राख्न सक्नुपर्छ ।

प्रतिक्रिया