मोर्चा जिम्मेवार बन्नुपर्छ

नेपाली हिन्दूहरूले मनाउने मुख्य चाड घरदैलोमा आएको छ । तर, पेट्रोलियम पदार्थलगायत अतिआवश्यकीय वस्तुको अभाव बजारमा चरम देखिएको छ । नयाँ सरकार बनेसँगै भारतले लगाएको अघोषित नाकाबन्दी केही खुकुलो भएको महसुस भए पनि पूर्णरूपमा खुकुलो हुन आन्दोलनरत मधेसी मोर्चाले सीमानाकामा दिएको धर्ना फिर्ता हुनै पर्छ । संविधानसभा बहिष्कार र केहीले राजीनामै दिएर हिँडेका मोर्चा संविधान कार्यान्वयनको पहिलो क्रियाकलाप सरकार गठन प्रक्रियामा सामेल भइसकेको अवस्थामा छ । अब फेरि हामी त यो संविधानलाई मान्दैनौँ भन्ने नैतिक आधार समाप्त भएको अवस्थामा बरु एक कदम पछाडि हट्दै नाका खुला गर्नु बुद्धिमानी देखिन्छ । अहिले उसलाई केही सहज अवस्था पनि छ । अहिले आन्दोलनका कार्यक्रमलाई आन्दोलनको स्वरूप परिवर्तनका बहानामा एक कदम पछाडि हटाउने हो भने मोर्चाले काठमाडौंमा गुमेको साख केही बचाउन सक्ने छ ।

दसैँ, तिहार र खासगरी मधेसमा ठूलो समूहले मनाउने पर्व छठ सँघारमा आएको बेला पेट्रोलियम पदार्थको हाहाकारले काठमाडौंमा काम विशेषले बसेकाहरू घर जान सकेका छैनन् । सरकारले पनि भारतको अघोषित नाकाबन्दीको बहानामा उम्कने अवसर प्राप्त गरेको छ । नाकाबन्दीसँगै चाडबाडको मुखमा दैनिक उपभोग्य वस्तुको पनि अभाव देखिएको छ । भारतले आफ्नो भूभागमा कुनै अवरोध नगर्दा पनि नेपाली क्षेत्रमा धर्ना बसेकाहरूका कारण उपभोग्य वस्तु भित्रिन सकेन भने यसको अपजसको भागिदार आन्दोलनरत मोर्चा नै हुनेछ । लामो समयको प्रतीक्षा, धेरैको बलिदान र मुलुकले धेरै दुःख पाएपछिको परिणाम नेपालको नयाँ संविधान जारी भएको हो । यसको कार्यान्वयन स्वरूप सरकार गठनको प्रक्रिया पनि टुंगिइसकेको अवस्थामा यसपटकको चाडबाड नेपालीले अरु वर्षभन्दा खुलेर उल्लासमय वातावरणमा मनाउने वर्ष हो । तर, नेपालीहरूको यो रहर पेट्रोलियम पदार्थको हाहाकारले तुहाइदिएको अवस्था छ । अर्कोतिर जारी संविधान मान्दैनौँ भनेर आन्दोलन गरिरहेका र त्यसअघि संविधानसभा नै बहिष्कार गरेर हिँडेका मधेसी मोर्चा आबद्ध दल संसद्मा फर्किएर उनीहरूले मान्दैनौँ भनेकै संविधानअन्तर्गत भएको सरकार गठनको प्रक्रियामा सहभागी भएको अवस्था छ । हुन त मुखले उनीहरू अझै हामीले संविधान मानेका हौँ भन्न सकिरहेका छैनन् । तर, अब फेरि पहिलेजस्तो आन्दोलन गर्ने नैतिक आधार गुमाएको अवस्थामा जबर्जस्ती गर्नु नकच्चरोपनबाहेक केही हुने छैन । मोर्चासँग त्यो हदको नैतिकताको आशा त गर्न सकिन्न । तर, आजको दुनियाँमा कोही लाटा छैनन् मधेसी जनताले पनि यो कुरा बुझिसकेका छन् । त्यसैले कतिपय ठाउँमा आफ्नै कार्यकर्ताले पुत्ला जलाएको देख्न पनि सकिन्छ । सरिता गिरीले त पार्टीबाट राजीनामा दिँदै विभिन्न संघसस्थासँग मिलेर अघि बढ्ने बताइसकेकी छन् । मधेसमै मधेसी नेताको पुत्दा जल्नु, घरदैलोमा चाडबाड भित्रिनु, नयाँ सरकार बन्नु र भारतले नाका खुकुलो बनाउनुलाई मोर्चाका नेताहरूले बुझ्ने हो भने अवसर पनि हो ।

मधेसी मोर्चा जिम्मेवार बन्दै समय, परिस्थितिलाई बुझेर नाकामा दिएको धर्नाको सट्टा शान्तिपूर्ण आन्दोलनका अन्य कार्यक्रमलाई अघि बढाउने हो भने सरकारलाई पनि उनीहरूका कुरा सुन्न दबाब बढ्ने निश्चित छ । मधेसमै गुमेको आफ्नो नैतिकता आर्जन गर्न, पहाडिया समुदायको मधेसीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न, सरकारलाई वार्ताको निमित्त थप दबाब बढाउन मधेसी मोर्चाले एक कदम पछि हट्नुको विकल्प छैन । यसका लागि सबैभन्दा पहिला आन्दोलनरत मधेसी मोर्चा जिम्मेवार हुनै पर्छ । अन्यथा समय कसैका लागि पर्खेर बस्दैन भन्ने सबैले बुझेकै हुनु पर्छ ।

प्रतिक्रिया