आजबाट दसैँ सुरु

देशले नयाँ संविधान पाएको छ अनि त्यससँगै नयाँ प्रधानमन्त्री पनि । तर, यी दुई प्राप्तिबीच लगभग तीन साता नेपाली जनताले ठूलै हन्डर र सास्ती बेहोर्नुपरेको छ । यो क्रम अझै जारी नै छ । मुलुकका आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिकलगायत हरेक क्षेत्र नराम्ररी प्रभावित छन् । यही हाहाकार र अब के होला भन्ने अनभिज्ञतामै हिन्दूहरूको महान् चाड विजया दशमी पनि आजैबाट आरम्भ भएको छ । धार्मिक विधिविधानअनुसार १५ दिनसम्म मनाइने यस चाडलाई शक्तिको उपासना गर्ने अवसरका रूपमा पनि लिने गरिन्छ । मानिसलाई जीवनमा नभई नहुने शक्ति, सम्पत्ति र धन यी तिनै वस्तुका अधिष्ठात्रीका रूपमा महाकाली (शक्तिकी देवी), महालक्ष्मी (धनकी देवी) र महासरस्वती (विद्याकी देवी) लाई मानेर पूजा गर्ने हिन्दू संस्कारले महिलाको स्थान उच्च रहेको पनि प्रमाणित गरेको छ । दसैँ शक्तिकी देवी दुर्गा भवानीको पूजाअर्चना गरेर मनाइने पर्व हो । यसलाई अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा हेर्ने गरिन्छ ।

यसले व्यक्ति मनका पशुत्व भाव अन्त्यको कामना गर्छ भने समाजमा विद्यमान असमानता, बेथिति, अत्याचार, शोषण आदिको अन्त्य गरी समानता, सद्भाव, सुख, शान्ति, समृद्धि र प्रगतिका लागि अभिप्ररित गर्छ भन्ने मान्यता रहँदै आएको छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने यस पर्वले नेपालका हिन्दू धर्मावलम्बीलाई मात्र नभएर नेपालको प्रशासनिक संयन्त्र, आर्थिक गतिविधि, शैक्षिक क्यालेन्डरलगायत यावत् क्षेत्रमा गहिरो प्रभाव पार्ने गरेको छ । यो हामी सबैले अनुभव गरेकै विषय हो । अध्ययन, रोजगारी तथा अन्य विविध कामको सिलसिलामा विदेशसम्मको यात्रामा रहेका एवं स्वदेशमै सुविधा खोज्दै विभिनन स्थानमा अस्थायी बसोबास गर्नेहरू पनि दसैँकै अवसर पारेर घरमा जम्मा हुन्छन् । तसर्थ, दसैँलाई भेटघाट र खुसीयालीको पर्वका रूपमा हेरिँदै आएको छ । यसको असर एकातिर यातायात क्षेत्रमा परेको देखिन्छ भने दसैँकै समयमा नयाँ लुगा लगाउने, मीठो खाने अनि रमाइलो गर्ने प्रचलनका कारण व्यापारिक क्षेत्रमा पनि त्यत्तिकै प्रभाव पारेको देखिन्छ ।

यो समयमा विगतका वर्षमा किनमेल र उत्सवका लागि ठूलै चहलपहल हुने गथ्र्यो तर यस वर्ष त्यसको आभाससम्म मात्र पनि हुन सकेको छैन । छिमेकी मुलुकले तीन सातादेखि गरेको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ, ग्यास, खाद्यान्नलगायत यावत् वस्तुको अभावले जनजीवन आक्रान्त बन्दै गएको छ । चाडबाड मनाउने समयमा भएको अभावले सर्वसाधारण कसरी चाड मनाउने भन्ने चिन्ताले व्याकुल छन् । टाढाटाढाबाट आफ्नो घर जान चाहनेहरू यातायातका साधनको अभावका कारण मन खुम्च्याएर बस्न विवश छन् । यस्तो अवस्थामा संविधान आएर पनि के ? नयाँ सरकार आएर पनि के ? भन्ने निराशावादी सोच मानिसहरूमा विकास हुन थालेको छ । यस अवस्थामा गठन भएको नयाँ सरकारले जनताको यो चासो र चिन्तालाई उचित रूपमा सम्बोधन गर्नैपर्छ, त्यसमै नेपाली जनताले सरकारको मूल्यांकन गर्ने छन् भन्दा अत्युक्ति नहोला । यस्तो विषम परिस्थितिमा पनि नेपाली जनताले जुन धैर्य र सहनशीलता प्रस्तुत गर्दै सकारात्मक सोचका साथ जीवन गुजारा गरिरहेका छन् यो प्रशंसायोग्य छ । यस्तै सकारात्मक र सहयोगी सोच नेपालीहरूमा कायम रहिरहनुपर्छ । नयाँ सरकारले नेपालीको सुकेको मनलाई शीतलता प्रदान गर्ने खालका कार्य गर्दै मुलुकभित्र देखिएका यावत् समस्या समाधान गर्नुपर्छ ।

प्रतिक्रिया