निर्दोषले कतिन्जेल मूल्य चुकाउने ?

कुनै जमाना थियो, विश्वका शक्तिशाली मुलुकले सिधै आक्रमण गरेर अर्को देशमाथि कब्जा गर्थे । त्यो जमाना थियो, घोषित उपनिवेशको । त्यसपछि आर्थिक सहयोगको नाममा कमजोर अर्थतन्त्र भएका मुलुकमाथि थोपरियो ‘अघोषित उपनिवेश’ । हाम्रो मुलुक यतिबेला यसैको सिकार बनेको छ । अहिले कति बेला र कसरी हामी भारतनिर्भर भयौँ भन्ने विषय पनि उठेको छ । तर, यतिबेला सारा नेपालीले (मधेसका केहीबाहेक, मधेसी जनतासमेत) भारतसामु नेपाल सधैँ निरीह हुनुपर्ने स्थितिको अन्त्य चाहेका छन् । यो तर्कलाई यतिबेला तथ्यांकीय रूपमा प्रमाणित गरिरहनुपर्दैन ।

विगतदेखि नै भारतले नाकाबन्दी गर्नेबित्तिकै हामी कमजोर हुन्छौँ । जुनसुकै सरकारका कारण यस्तो परिस्थिति सिर्जना भएता पनि अहिले हामी जनस्तरबाटै ‘तेल चाहिँदैन, पराधीनता स्विकारिँदैन’ भन्दै छौँ । तर, यतिबेला हाम्रो राजनीतिक नेतृत्व जनताले भोगिरहेको सास्तीप्रति ‘लगभग’ अनजान छ । यदि नेपाल सरकार जनताको दुःखप्रति अनजान छैन भने पनि ऊ ‘अर्थपूर्ण रूपमा’ यो विषयलाई नजरअन्दाज गर्दै छ । खोइ किन हो कुरा बुझिनसक्नु छ । जनस्तरमा अहिले जबर्जस्त उठेको आवाज भनेकै भारतको पराधीनतासामु नेपाली नेतृत्व झुक्नु हुन्न भन्ने हो । नेपाललाई सधैँ अफ्नो ‘सुरक्षा छाता’ मा राख्न चाहने भारत नेपाली जनताको नजरमा अहिलेजति ‘अलोकप्रिय’ कहिल्यै थिएन । नेपालमा देखिएको अहिलेको भारतविरोधी जनमतविरुद्ध भारतले अर्को कस्तो (सम्भावित) कदम चाल्ला ? हाम्रा स्वनामधन्य बुद्धिजीवीहरूले आँकलन गर्न थालेका छन् । तर, अहिलेलाई यतिचाहिँ पक्कै भन्न सकिन्छ, ‘भोकभोकै मर्न तयार छौँ तर पराधीनता स्विकारिन्न’ भन्ने जनमत जबर्जस्त रुपमा नेपालमा विकास भएको छ । यहाँ विचार गर्नुपर्ने कुरोचाहिँ के हो भने यो जनमत किमार्थ प्रयोगित होइन, स्वतःस्फूर्त शुद्ध राष्ट्रिय भावनाबाट अभिप्रेरित विचार हो ।

हाम्रो नेतृत्वले वर्तमान जनमत अझ भनौँ, जनचाहना बुझेका छन् र पनि उनीहरू भविष्यका लागि आफ्नो र आफ्नो पार्टीको स्थान सुरक्षित गर्न खोजिरहेका छन् । त्यो पनि बिनाअर्थ बेतालमा । हाम्रो राजनीति नेतृत्वको यो कदम उनीहरुका लागि प्रत्युत्पादक त छँदै छ, मुलुककै लागि पनि यस्तो प्रवृत्तिले दूरगामी असर गर्ने छ । र, राजनीतिक नेतृत्वको यस्तो कदमको मूल्य भने नेपाली जनताले चुकाउनुपर्ने छ । विगतमा हाम्रो राजनीतिक नेतृत्वले गरेका गल्तीको मूल्य अहिले हामीले चुकाए जसरी । सबैले बेलैमा सोचून्, निर्दोषले कतिन्जेल मूल्य चुकाउने ?

प्रतिक्रिया