बिकल्प खोज

नयाँ संविधानमा असन्तुष्टि जनाउँदै छिमेकी भारतले गरेको नाकाबन्दीले दुई साता नाघेको छ । यो दुई सातामा पूरै मुलुक अस्तव्यस्त बनेको छ । खासगरी राजधानीमा पेट्रोलियम पदार्थको अभावले चरम रूप लिएको छ । खाना पकाउने ग्यासको शून्य भएको छ भने डिजेको अभावमा सार्वजनिक तथा निजी सवारी ठप्प प्राय भएका छन् । नेपालीको प्रमुख चाडबाड आउँदै गरेको अवस्थामा भएको यो अभावले सर्वसाधारण अक्रान्त भएका छन् । समस्या समाधान गर्न मुख्य राजनीतिक दल सरकार बनाउने जोडघटाउमा लागेका छन् । समस्या सुल्झाउने नाममा मधेसी आन्दोलनको बुई चढेर आएको भारतीय हस्तक्षेपसामु मुख्य दलका नेता झुक्ने पो हुन् कि भन्ने चिन्ता नेपाली नागरिकमा छाएको छ ।

नेपालीमा राष्ट्रप्रेमको भावना धेरै नै जागृत भएको यसपटकको नाकाबन्दीले देखाएको छ । नाकाबन्दीका कारण दैनिक उपभोग्यवस्तुको अभाव भए पनि उनीहरू सरकार र मुख्य राजनीतिक दललाई दोष दिएर विरोध गरिरहेका छैनन् । नेपालीमा यसपटक झुकेर होइन, भूपरिवेष्टित हुनुको नाताले समुन्द्रसम्म पहुँचको हक पाउनुपर्ने खोज्नुपर्ने भावना जागृत भएको छ । जनता बरु केही दिन अझ दुःख सहने तर, पटक–पटकको छिमेकीको नाकाबन्दी र हस्तक्षेप नसहने मुडमा देखिएका छन् । सरकार बनाउने खेलमा दलका नेताहरूले नेपालीको स्वाभिमान छुद्र छिमेकीको पाउमा बन्धक त राख्ने होइनन् ? भन्ने चिन्ता लागेको छ । नाकाबन्दी खुलाउने नाममा मधेसीका नाजायज माग पूरा गरी दलहरूले छिमेकी रिझाउने हुन कि भन्ने चिन्ता पनि छाएको छ ।

बरु यत्तिका दिनसम्म दक्षिणी छिमेकीकै भरमा रहनु र विकल्पको खोजी नगरिनुमा भने सरकारको लाचारी देखिएको छ । विकल्प खोज्न थालेपछि दक्षिणको छिमेकीलाई पनि तातो लाग्ने थियो भन्ने आम बुझाई छ । मंगलबार मात्र भारतीय राष्ट्रिय कांग्रेसले मोदी सरकारलाई गराएको ध्यानाकर्षणमा पनि सोही कुरा देखाइएको छ । नेपाल चीनसँग नजिकिन सक्ने कुराले भारतीय कांग्रेसलाई पिरेलेको स्पष्ट देख्न सकिन्छ । त्यस्तो डर मोदी र उनको पार्टीलाई पनि छ । त्यसो भएकाले पनि नेपालले खासगरी पेट्रोलियम पदार्थको आपूर्तिमा विकल्प खोज्न आवश्यक छ ।

प्रतिक्रिया