भट्टराईको कसरत केका लागि ?

यतिबेला नेपालको राजनीतिमा डा. बाबुराम भट्टराई कम चर्चा पाएका (केही प्रायोजितबाहेक) तर महत्वपूर्ण पात्र हुन् । कहिले ‘चर्केको घरमा बस्दिनँ’ र कहिले १२ वैशाखको भूकम्पपछि ‘रातो स्टिकर टाँसिएको घर हो एमाओवादी’ भन्दै हिँडेका छन् उनी । उनी भर्खरै एमाओवादी परित्याग गरेर तराई–मधेसको आन्दोलनलाई समर्थन गर्दै हिँडेका छन् । तराई–मधेसमा जारी अहिलेको आन्दोलनलाई ‘क्यास’ गर्ने गुरुमन्त्र पाएका भट्टराई अहिले त्यही क्षेत्रमा केन्द्रित छन् । त्यहाँ उनले ‘मैँ देर से आया मगर दुरुस्त आया’ भनेर हिन्दीमा पनि भाषण गरे । उनको आशय थियो, ‘म तराई–मधेसमा चलिरहेको आन्दोलनकै पक्षमा छु ।’ उनले त्यहाँ चारा फाले, ‘डेढ महिनादेखि तराई–मधेसमा चलिरहेको आन्दोलनलाई राज्यले बेवास्ता गर्नु गलत हो, सरकार गम्भीर हुनुपनै पर्छ ।’

त्यसो त डा. भट्टराईलाई विगतदेखि नै ‘भारतपरस्त नेता’ को रुपमा हेरिँदै आएको छ । भट्टराईका पछिल्ला गतिविधिले यस्तो ‘आरोप’ सही नै भन्न सकिने अवस्था सिर्जना भएको छ । हिजो संविधान विधेयक भएकै बखत उनले तराई–मधेसीलाई अन्याय भएको किन देखेनन् होला र अहिले त्यस्तो देखे, सोच्नुपर्ने बेला आएको छ । त्यसो त डा. भट्टराई यति बेला ‘भ्रष्टाचारको मुद्दा’ पनि जोडतोडले उठाउने कोसिसमा छन् । उनी भन्छन्, ‘एमाओवादीका धेरै केन्द्रीय नेता चाँडै भ्रष्टाचार मुद्दामा अख्तियारको फन्दामा पर्ने छन् ।’ उनको यस्तो हौवा र तर्कमा कत्तिको सत्यता छ, त्यो समयले परख गर्ने नै छ । अहिले यति भन्न सकिन्छ, यो बेला भ्रष्टाचारको मुद्दा प्रमुख होइन । यति बेला नेपाली जनता आफ्ना लागि आफैँले बनाएको संविधान कसरी सफल कार्यान्वयन गर्न सकिन्छ भन्ने कसरतमा छन् । तर, ‘अर्थपूर्ण रुपमा’ डा. भट्टराई यति बेला भ्रष्टाचारको मुद्दा उठाउँदै छन् ।

महान् वैज्ञानिक आइन्स्टाइन् भन्छन्, ‘ब्रह्माण्डमा हरेक कुरा सापेक्षित हुन्छन् ।’ उनले भनेकै छन्, ‘सत्य पनि सापेक्षित हुन्छ ।’ महान् दार्शनिक कार्ल माक्र्सले पनि सृष्टि द्वन्द्वत्मक ढंगबाट ‘निषेधको निषेध’ नियममा चल्ने बताएका छन् । अनि, रबिन्सको सिद्धान्तको मर्म छ, माग बढ्दाको आपूर्तिको महŒव बेग्लै हुन्छ । यति कुरा त विद्वान् डा. बाबुराम भट्टराईले पनि पक्कै बुझेका छन् । तर, बुझै पचाएर पनि उनी किन यति बेला भ्रष्टाचारको मुद्दा उछाल्न खोज्दै छन् र यति बेलै उनमा किन मधेसमोह जागेको छ, यो बुझिनसक्नु विषय बनेको छ । एकातिर संविधानसभामा बसेर ‘हुन्छ हुन्छ’ भन्दै विधेयकलाई धारामा रुपान्तरण गरे भने अर्कोतिर त्यही विधेयक धारा बनेपछि डा. भट्टराई रहस्यमय ढंगले एककाएक विरोधमा उत्रिएका छन् । उनको यस्तो द्वैध चरित्र राजनीतिक जीवनको नयाँ पाटो हो या अस्तिर मानसिकताको द्योतक हो ? बुझ्नै कठिन छ ।

प्रतिक्रिया