नाकाबन्दीले सिकाएको पाठ

अहिले नेपाली बजारमा पेट्रोलियम पदार्थको हाहाकार भएको छ । भारतले अघोषित नाकाबन्दी लगाएकाले यस्तो स्थिति आएको हो । यद्यपि, भारत सरकार र नेपालका लागि भारतीय राजदूत भारतले नाकाबन्दी नलगाएको बताइरहेका छन् । नेपाली सीमा क्षेत्रमा भएको आन्दोलन हिंसात्मक भई ४० भन्दा बढीको ज्यान गएकाले असुरक्षाका कारण ढुवानी व्यवसायीले ढुवानी नगरेको भारतको तर्क छ । अर्कोतिर नेपाली आन्दोलनकारीले दशगजा क्षेत्रमा धर्ना दिने, भारततर्फबाट नेपाली प्रहरीमाथि ढुंगामुढा गर्ने, आन्दोलनकारीलाई भारतीयले निःशुल्क खाना र वासको व्यवस्था गर्ने गरेका छन् । दशगजा क्षेत्रलाई निषेधित क्षेत्र मानिन्छ । सो क्षेत्रमा एकअर्काविरुद्ध गतिविधि गर्न नदिने दुवै पक्षको दायित्व हुन्छ । तर, भारतीय राजदूत यस्तो प्रावधानको मतलवै नगरी दुई देशका जनताबीच रोटीबेटीको सम्बन्ध भएकाले यस्ता गतिविधि रोक्न नसक्ने र नमिल्ने बताउँछन् । यत्ति भएपछि धेरै अर्थ लगाइरहनु परेन यो आन्दोलन प्रायोजित हो । अर्को उदाहरण यदी आन्दोलनका कारण असुरक्षाले सामान नआएका हुन् भने कुनै गतिविधि नभएका स्थानमा पनि किन रोकियो त ?

आन्दोलनकारीका माग र प्रमुख ३ दलका प्रतिवद्धताबीच खासै ठूलो खाडल देखिँदैन । यो अहिले होइन, सुरुदेखि नै यस्तो देखिँदै आएको छ । फेरी किन मधेस केन्द्रित दल संविधानसभा भित्रै बसेर संघर्ष गर्न सकेनन् । संविधान घोषणा भएको दिन र त्यसको २४ घन्टा नबित्दै आएको भारतीय विदेश मन्त्रालयको वक्तव्य सीमा क्षेत्रमा भएको आन्दोलनले आपूर्तिमा कठिनाई आउनसक्ने बताउनु र त्यसको २ दिनपछि मधेसी मोर्चाले नाका ठप्प पार्ने निर्णय गर्दै आन्दोलनलाई सीमा क्षेत्रमा केन्द्रित गर्नु पक्कै संयोग मात्र हुन सक्दैन । अब जो सुकै नेपालीले प्रष्ट बुझेका छन् । भारत नेपालको लगाम सधैँ आफ्नो हातमा होस् भन्ने चाहन्छ । जसले इच्छा अनुसार चलाउन सकियोस् । यो संविधानसभाले संविधान बनाएको उसलाई रुचिकर छैन । ऊ मधेसमा पहाड नछुवाइकन सिंगो मधेसलाई धेरैमा २ चिरा पार्न चाहन्छ । भारतसँग सीमा जोडिएको भूभागहरु छुट्टै चिरामा पार्न सके नेपालको लगाम सधैँ उसको हातमा हुन्छ । अहिले जसरी नाकाबन्दीको धम्की दिएर यहाँका शासकवर्गलाई कज्याउन सजिलो हुन्छ । अनि हामी नेपाली भारतले दुःख दिँदा मात्र अर्को छिमेकी तिर निनाउरो अनुहारले हेर्छौं र कामना गर्छौं उसले मद्दत गरोस् । उत्तरी छिमेक चाहेर पनि सहयोग गर्न नसक्ने अवस्थामा हुन्छ, जुन अहिले भइरहेछ । बाटोघाटोको असुविधा छ । दक्षिणजस्तो सजिलो समतल भूमि छैन । अनि भारतले सहज आपूर्ति गरुञ्जेल हामी र हाम्रा शासक उत्तरतिरको व्यापारमा त्यति चासो राख्दैनन् । बाटो रातारात बन्ने कुरा होइन । अरू समय उत्तरको बाटो बनाउन, उत्तरसँग व्यापार बढाउन हामी वास्ता गर्दैनौँ । गरिहाले पनि भारतीय पक्षले यस्तै धम्की दिँदा हामी थरथरी काम्छौँ । त्यतिखेर दक्षिणलाई हामी सार्वभौम मुलुक हौँ भनेर जवाफ दिन सक्दैनौँ । जसका कारण पनि अहिले यस्तो अवस्था भोगिरहेका छौँ ।

त्यसकारण अब एकातिर वार्ता र संवादमार्फत आन्दोलनकारीलाई मूलधारमा ल्याउन आवश्यक छ भने दक्षिणसँगको सम्बन्धलाई सामान्य अवस्थामा ल्याउनु पनि उत्तिकै जरुरी छ । अर्कोतिर यो अघोषित नाकाबन्दीबाट पाठ सिक्दै उत्तरतर्फको सम्भाव्य नाकासम्मको बाटोघाटो निर्माण गरी दक्षिण र उत्तरसँग समान रूपले उपभोग्य सामग्रीको आपूर्ति गर्ने बारे बेलैमा सोच्नु आवश्यक छ । भारतसँगको रोटीबेटी, सामाजिक, सांस्कृतिक, धार्मिक सम्बन्धका कारण विशेष मित्रता भए पनि यही मित्रताको दुरुपयोग भएर मुलुकको राष्ट्रियता, सार्वभौमिकता, अखण्डतामा आँच पुगेको बिसर्नु हुँदैन । दक्षिणबाट आपूर्ति सामान्य भएपछि उत्तरतर्फ हेर्दै नहेर्ने प्रवृति नहोस्, नेपाली जनताले अहिले राष्ट्रियताका पक्षमा देखाएको एकता र खबरदारीजस्तै उत्तरतर्फको बाटोघाटो र आपूर्ति व्यवस्था मिलाउन सरकारलाई सम्झाइरहनु आवश्यक देखिन्छ ।

प्रतिक्रिया