बालिकाको वेदनाले सबैलाई रुवायो

dhankuta_feature (2)धनकुटा । पत्रकार महासंघ धनकुटाको सभाहलमा सोमबार दिउँसो भएको कार्यक्रममा सहभागी सबैका आँखा रसाए । प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर र पत्रकार महासंघ अध्यक्ष खगेन्द्र घिमिरे भावविह्ल भई बोल्न गाह्रो भएपछि मन्तव्य छोट्याएर बिदा लिए । मन्तव्यसहित कार्यक्रम समापन गर्न रोस्टममा पुगेकी कार्यक्रमकी अध्यक्ष महिला तथा बालबालिका कार्यालय प्रमुख गीता न्यौपाने मन्तव्यकै क्रममा भक्कानिएर आँसु झार्दै ‘मलाई गाह्रो भयो, बोल्न सकिनँ’ भन्दै कार्यक्रम समापनको घोषणा नै नगरी फर्किईन् ।

कार्यक्रम थियो, आमाको हत्या गरेर बाबु जेल परेपछि अभिभावकविहीन भई बिचल्लीमा परेका २५ दिनकी नाबालिकासहित एक वर्ष र दश वर्षकी तीन बालिकालाई वालआश्रममा पठाउने । धनकुटा नगरपालिका ८ चाम्जिबुङका रस्तबहादुर राईले १५ दिने सुत्केरी श्रीमती शान्ति राईलाई गत भदौ ३१ गते राति कुटपिट गरी आँखा निकालेर तथा योनीमा नारीसम्मको हातको भाग छिराएर यातना दिई बीभत्स तरिकाले हत्या गरेका थिए । पाँच जनाको परिवारमा आमालाई बाबुले नै हत्या गरेर बाबु पनि प्रहरी हिरासतमा पुगेपछि उनीहरूका नाबालिका तीन छोरी बिचल्लीमा परेका हुन् । श्रीमतीको हत्या गरेर फरार भएका रस्तबहादुरलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाएर थप अनुसन्धानका लागि प्रहरीले हिरासतमा राखेको छ । बीभत्स घटनापछि बिचल्लीमा परेका बालिकको विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन÷प्रसारण भएपछि इटहरी स्थित एसओएस बालग्रामले उनीहरूलाई आश्रय दिनका लागि प्रमुख जिल्ला अधिकारी मानन्धरसँग सम्पर्क गरी पहल गरेको थियो । त्यसपश्चात जिल्ला बालकल्याण समितिले आवश्यक प्रकृया पूरा गरेर सञ्चारकर्मीको रोहवरमा सोमबार बिचल्लीमा परेका बालिकालाई एसओएस बालग्रामको जिम्मा लगाउन सो कार्यक्रम अयोजना गरेको थियो । मध्याह्न १२ बजेका लागि तोकिएको कार्यक्रममा भान्जीहरूलाई लिएर मामा माइजू उपस्थित भएका थिए ।

dhankuta_featureकरिब आधा घण्टासम्म चलेको कार्यक्रमको सुरुआत सामान्य रूपमै अघि बढ्यो । जब बालिकालाई एसओएसका प्रतिनिधिको जिम्मा लगाउने समय आयो, तब ती बालिका रोएको कारुणिक दृश्यले कार्यक्रममा सहभागी सबैलाई स्तब्ध बनायो । ‘म जान्नँ’ भन्दै जेठी छोरी १० वर्षीया रितु चिच्याएर रोई कराई गर्न थालिन् । उनीसँगै १ वर्ष र १५ दिनकी काखे बालिका पनि रुन थालेपछि कार्यक्रममा एकाएक माहोल बेग्लै भयो । कार्यक्रमका अतिथिदेखि सहभागी सबैका अाँखा रसाए । पत्रकार महासंघका उपाध्यक्ष नगेन्द्र राई पनि आँसु लुकाउँदै मुख धोएर आए । करिब आधा घण्टासम्म चलेको औपचारिक कार्यक्रममा बालिकालाई एसोएसका प्रतिनिधिको जिम्मा लगाइएको भए पनि उनीहरू जान नमानेपछि झन्डै दुईघण्टा उनीहरूलाई फकाउँदै बित्यो । अन्नतः उनीहरूलाई एसओएस बालग्राम इटहरी लगिएको छ । यता बालग्राम इटहरीका निर्देशक गोविन्द मास्केले बालिकाहरूलाई आफ्नै घरजस्तो वातावरणमा पालनपोषण र शिक्षा प्रदान गरिने प्रतिबद्धता जनाउँदै उनीहरूको चिन्ता नलिन आफन्तलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया