मधेसका दुई सेन्टिमेन्ट

नयाँ संविधान जारी भएपछि मुलुक संक्रमण व्यवस्थापनमा एक कदम अगाडि बढेको छ । तर, अहिले नयाँ संविधानप्रति सम्पूर्ण नेपालीले अपनत्व ग्रहण गरिसकेको अवस्था भने होइन । नयाँ संविधानका धेरै ठाउँमा प्राविधिक कमजोरीहरू पक्कै छन् । केही व्यावहारिक रूपमा कार्यान्वयन गर्नै नसकिने त्रुटिहरू पनि छन् । यति हुँदाहुँदै पनि संविधानसभाबाट संविधान जारी हुनु आफैँमा ऐतिहासिक पक्ष हो । नयाँ संविधानको यही ऐतिहासिक पक्षलाई आत्मसात गरेर यसको अन्तर्वस्तुमा भएका त्रुटिलाई सामूहिक प्रयत्नद्वारा संशोधनमार्फत सच्याउँदै जानु आहिले बुद्धिमानी कदम हुनेछ । मुलुकलाई यो दिशामा अगाडि बढाउने जिम्मेवारी राजनीतिक नेतृत्वको हो । अहिलेको सन्दर्भमा प्रमुख तीन दल– नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीले यसको नेतृत्व लिनुपर्छ । उनीहरूले यो दिशामा चालेका कदमहरू सुस्त अनि निरर्थकजस्तो देखिएको छ । त्यसैले उनीहरूले तीव्र रूपमा सार्थक कदम चाल्नै पर्छ ।

३ असोजमा जारी भएको नयाँ संविधानलाई यसको जन्मको रूपमा लिँदै यसलाई समृद्ध बनाउनेतिर सबै नेपाली एकजुट हुनुपर्छ । विश्वका कुनै पनि नीति तथा कानुनहरू सही छन् वा गलत भन्ने कुरा तीनको कार्यान्वयनपछि मात्र परख हुन्छन् । तात्कालिक रूपमा सही मानिएका नीति तथा कानुन पनि सापेक्षित हुन्छन् । समयक्रममा त्यो परिवर्तन हुन्छ र कहिलेकाहीँ प्रतिस्थापन नै पनि । नयाँ संविधानलाई पनि यसरी नै बुझ्नुपर्छ । व्यावहारिक रूपमा कार्यान्वयन हुन नसक्ने यसका धारा तथा उपधाराहरू समय क्रममा या त परिवर्तन हुन्छन् या प्रतिस्थापन गरिन्छन् । संविधानको कार्यान्वयन गर्दै जाँदा हुने अभ्यासले नै यसको निर्धारण गर्छ । यति हुँदाहुँदै पनि संविधानको अन्तर्वस्तुमा सैद्धान्तिक मतभेद छ भने त्यसलाई चाहिँ तत्कालै हल गरिनु अपरिहार्य छ । यसले संविधानको स्थायित्व र सफल कार्यान्वयनमा प्रत्यक्ष असर गर्छ ।

नयाँ संविधान जारी गरिनुभन्दा करिब एक महिना अघिदेखि नै तराई–मधेसमा आन्दोलन हुँदै आएको छ । यो क्रम आजसम्म जारी छ । र, यहीबेला मुलुक नाकाबन्दीमा फसेको छ । छिमेकी मुलुक भारतले ‘नाकाबन्दी लगाइएको होइन’ भनी स्पष्टीकरण दिँदै आए पनि उसले नेपाललाई नाकाबन्दी गरिसकेको छ । भारत तराई मधेसमा जारी आन्दोलनमार्फत नेपालमा आफ्नो प्रभुत्व बढाउन खोजिरहेको छ । अहिले तराई–मधेसको आन्दोलनमा दुईवटा सेन्टिमेन्ट देखिएको छ । एउटा सेन्टिमेन्ट, ‘भारतको आड पाएकाले आन्दोलन झनै उग्र बनाउनुपर्छ’ भन्ने छ । र, दोस्रो, ‘हाम्रो आन्तरिक समस्या हामी आफैँले सल्टाउनुपर्छ’ भन्ने । अहिले दोस्रो सेन्टिमेन्टको कदर गर्दै तराई–मधेसलाई मूलधारसँग जोड्ने कोसिस ग¥यौँ भने हामी पक्कै सफल हुने छौँ । हामीले हाम्रो एकतालाई मजबुत गर्न सक्यौँ भने विश्वका कुनै पनि ताकतले हामीलाई झुकाउन सक्तैन । कुनै पनि मुलुकले हामीलाई घोषित या अघोषित रूपमा नाकाबन्दी गर्ने हिम्मत गर्न सक्तैन । तीन दल र आन्दोलनरत पक्षले पनि नेपाली–नेपालीबीचको एकता खल्बल्याउने कुनै पनि कदमलाई पूर्णरूपमा निषेध गर्नैपर्छ । यसो गर्न सकिएन भने ‘भाइ फुटे गवाँर लुटे’ भन्ने उखान चरितार्थ हुनेछ ।

प्रतिक्रिया