इन्द्रजात्रामा नचाइने मजियाः लाखे

lakhe dance 2उपत्यकाको नेवार बस्तीका विभिन्न स्थानमा नचाइने लाखे नाचको चर्चा गर्नुअघि लाखे भनेको कस्तो हुन्छ भन्ने बुझ्नुपर्छ । लाखे भनेको डरलाग्दो अनुहार भएको रातो राक्षसको मुखौटो लागाइरोखेका, रातो लामो कपाल, च्यातिएको ठूलो मुखबाट निस्किरहेको दुईवटा दाह्रा भएको, तासको जामा र लुगा लगाइराखेको, हातको औँलामा लामा लामा नङ्ग्रा भएको, कमरमा ठूल्ठूला घंगला र रातो पटुका बाँधिरोखको हुन्छ । उत्पकामा जति पनि देवीदेवता छन् त्यति नै भूत, प्रेत, ख्याक, दैत्य र लाखे पनि छन् भन्ने मान्यता रही आएको छ ।

नागपञ्चमी आयो कि उपत्यकाका विभिन्न नेवार बस्तीमा सन्ध्याकालमा लाखे नाच नचाइन्छ । नागपञ्चमीदेखि कृष्णाष्टमीसम्म विभिन्न टोलमा लाखे नाच नचाइन्छ । तर, विशेष गरेर भतिगा लाखेलाई यसै समयमा नचाइने मुख्य लाखेको रुपमा लिइन्छ । अन्य साधारण खालका लाखेको नाच पनि टोलटोलमा नचाइने गरिन्छ । विशेष लाखे नाच नाचगपञ्चमीदेखि कृष्णाष्टमीसम्म र इन्द्रजात्राको अवधि आठ दिनसम्म लाखे नाच नचाइने चलन छ । इन्द्रजात्राको अवधिमा नचाइने लाखेलाई मजियाः लाखे भनिन्छ ।

उपत्यकामा यसरी लाखे नाच नचाउने चलन कहिलेदेखि सुरुआत भयो भन्ने कुरामा राजा हरिसिंहदेवले सिम्रौनगढबाट तलेजु भवानीलाई उपत्यकामा ल्याउँदा देवीसँगै लाखेलाई ल्याइएको हो भनिन्छ । कतिपयले भने नुवाकोटबाट आएका ठकुरी राजाले लाखेलाई उपत्यकामा भित्र्याएका हुन् भनिन्छ । त्यस्तै, भाषा वंशावलीअनुसार लाखे नाचको चलन काठमाडौंमा राजा गुणकामदेवले सुरु गराएका हुन् भन्ने भनाइ छ ।

लाखे नाच विशेष गरेर धाः र भुस्याः बाजा बजाएर नचाइन्छ । खिं, पछिमा, नाय्खिं, धिमे बजाएर पनि लाखे नाच नचाइन्छ भने मादल र बाँसुरीको धुनमा पनि लाखे नाच नचाइन्छ । नेवारी लोकगीतको धुनमा बाँसुरी बजाएर लाखे नचाउँदा दर्शकहरुले रमाइलो मान्छन् । लाखे नाचसँगै झ्यालिँचालाई पनि नचाइन्छ ।

कागज र प्लास्टिकको मुखौटो लगाएका झ्यालिंचा जोकरजस्तै भएर भेषवूशा पनि त्यस्तै लगाएर लाखेको नक्कल गर्दै गिज्याउने गर्छ भने लाखेले झ्यालिंचालाई लखेट्ने गर्छ । झ्यालिंचाचाहिँ दर्शकहरुको समूहभित्र छिर्दैै लाखेलाई हायल कायल पार्दै दर्शकहरुलाई थप मनोरञ्जन दिइरहेको हुन्छ । पहिलापहिला झ्यालिंया थिएन रे । एकपटक एक जन झ्यालिंचा नामक उपद्र्याहा मानिसले लाखेलाई जिस्काउन थालेछ । अनि लाखेले रिसाएर झ्यालिंचालाई पिटेर लात्ती हानी पठाएछ । पछि त्यसैको नक्कल गरेर लाखेसँगै झ्यालिचाको नाच नचाउने थालिएको हो भनिन्छ ।

काठमाडौंको मजिपाट टोलबाट हरेक वर्ष इन्द्रजात्राको समयमा निकालिने मजियाः लाखेलाई शान्त भैरवका रुपमा पनि लिइन्छ । इन्द्रजात्राको बेलामा कुमारीको रथयात्रा गर्ने बेलामा देवीलाई बोटो देखाउने भन्दै रथको अघि अघि मजियाः लाखे नाच्दैनाच्दै हिँड्ने गर्छ ।

lakhe_dancerमजिया लाखे नचाउने सम्बन्धमा एउटा रमाइलो किंवदन्ती छ । एक समयमा मजियाः टोलका एकजना ज्यापुकी छोरीको एक जना लाखेसँग प्रेम भएछ । त्यो लाखेले मानिसको रुप लिई ज्यापुनी केटी एक्लै खेतमा काम गरिरहँदा भेट्न आउने गर्दो रहेछ । अनि लाखेले खेतीको काममा पनि सघाउँदो रहेछ । खेतीको काम चाँडै सिध्याएको देखेर केटीका आमाबाबु आश्चर्यमा पर्दारहेछन् । तर खास कुरा के हो भन्ने उनीहरुलाई थाहा थिएन । पछि त लाखे केटीको घर मजिपाटमा आउने गर्न थालेछ । कहिले कहिले त रातभरि नै बस्न थालेछ । पछि हुँदाहुँदा त्यो केटी र लाखेको प्रेम सम्बन्धको कुरा टोलमा चर्चा हुन थालेछ । तर, यसै समयमा टोलका बच्चा पनि हराउन थालेछन् । टोलबासीहरुले त्यो लाखेले गर्दा नै टोलका बच्चा हराएको हो भन्ने शंका गरेर एक दिन चियो बेसर टोलबासीहरुले लाखेलाई समातेछन् । टोलबासीहरुले लाखेलाई पिट्नसम्म पिटेर केरकार गरेपछि त्यो लाखे आफ्नो गल्ती स्विकार्दै केटीसँग सम्बन्ध भएको र कुनै पनि हातलमा आफ्नो प्रेमिकालाई छोड्न नसक्ने बताउँदै आयन्दा टोलका बच्चाहरुको रक्षा गर्ने, टोलवासीलाई दुःख नदिने र टोलमा भूतप्रेतबाट सुरक्षा गर्ने वचनबद्ध भई प्रतीज्ञा ग¥यो रे । अनि सबै टोलबासी मिलेर त्यही टोलमा एउटा घर बनाई दिएर लखेलाई त्यही राखेछन् । पछि त्यो लाखे त्यही सिद्ध भएका हुन् भनिन्छ । अहिलेसम्म पनि मजियाः लाखे ननिमा लाखेको घर छ । लाखेको पूजा गर्ने चलन छ । मजियाः लाखे हल्चोकको सवः द्यः (भैरव)को एक रुप हो भनिन्छ । रातीराती लाखेभित्र बाहिर गरिरहने र घंगलाको आवाज सुन्ने नचाएर भूतप्रेत भगाउने चलन रही आएको छ ।

अन्य लाखे नचाउँदा कुनै किसिमको तालिम र पूजाविधि गर्नु नपर्ने तर परम्परागत रुपमा छिया रञ्जितहरुले विशेष रुपमा विधिपूर्वक पूजा गरेर लाखे निकालिने चलन छ ।

नेवारी संस्कृति, चाडबाड र जात्रा पर्वको एउटा अभिन्न अंगको रुपमा रहेको यो लाखे नाचको आकर्षणले गर्दा विदेशी पर्यटकहरुले पनि रमाइलो मानी हेर्छन् । लाखे नाच नचाएर विभिन्न समयमा विभिन्न स्थानमा पर्यटकलाई आकर्षणको केन्द्र बनाएर नेपालको पर्यटन विकासको यो लाखे नाचले पनि धेरै नै टेवा दिन सक्छ ।

प्रतिक्रिया