फासीवादी अभ्यास

इलाका प्रहरी कार्यालय, सिमराका इन्स्पेक्टर पुरुषोत्तम खड्काले असोज ६ गते राती २ बजे बसमा ढुंगा हानिरहेका ८ जना किशोरलाई समाते । अरू ५ जनाचाहिँ भागे । ‘एउटा ढुंगा हानेको २० रुपैयाँको हिसाबले पैसा दिन्छन्’ उनीहरूले भने । किशोरहरूलाई ४० दिनदेखि स्कुल जान रोकेर रोडमा टायर बाल्न, बसमा ढुंगा हान्न लगाइएको छ । अधिकांश ९ देखि १२ वर्ष भित्रका किशोरहरू छन् । भदौ ७ गते टनकपुरमा आन्दोलनका लागि ल्याइएका जनताहरूसँग पछि भलाकुसारी वातचित गर्दा उनीहरू सबैले आफूलाई जबर्जस्ती आन्दोलनमा जान बाध्य पारिएको गुनासो राखेका थिए । ‘हरेक घरबाट १ जना जानैपर्ने र नगएमा १ हजार रूपैयाँ असुले गरिने भन्ने उर्दी भएकोले १ हजार तिर्न नसक्नेहरू हामी आन्दोलनमा जान बाध्य भएका हौँ’ भनेर सुनाएका थिए । कुनै पनि आन्दोलन वा क्रान्ति साविकभन्दा अझै सभ्य, अझै मानवीय, अझै न्यायपूर्ण, अझै विवेकशील, अझै उन्नत र वैज्ञानिक व्यवस्थाको लागि गरिएको हुन्छ । त्यस्तो सम्भव छ भनेर आफैँ उदाहरण बनेर देखाउनुपर्छ । साविकको व्यवस्थाभन्दा उन्नत व्यवस्था सम्भव छ भनेर त्यसका लागि संघर्ष गर्नेहरूले आन्दोलनको प्रारम्भबाटै हरेक गतिविधि, क्रियाकलाप, आचरण र व्यवहार सभ्य संसारको लागि सुहाउँदो मात्र होइन वर्तमान सभ्यताभन्दा उच्च र उन्नत सभ्यताको झलक प्रष्ट देखाउनुपर्छ । उनीहरू सुसंस्कृत र संस्कारित देखिनुपर्छ ।

नेपालमा ०४६ सालमा भएको आन्दोलन र ०६२÷६३ सालको आन्दोलनमा आन्दोलनकारीहरूले बर्बर हिंसाको प्रयोग गरेका थिएनन् । तर, अहिले तराईमा आन्दोलकारीहरूले आन्दोलनका नाममा अत्यन्तै क्रूर अत्याचार गरिरहेछन्, त्यसले मध्ययुगिन बर्बरतालाई माथ गरेको छ । जघन्य अपराधीहरूले गर्न त के सोच्नसमेत् नसक्नेसम्मका भयंकर हिंसा, हत्या गरिरहेका छन् र यसलाई उनीहरू आन्दोलन भनिरहेछन् । आन्दोलनको नाममा आङै सिरिङ्ग पार्ने हत्या, हिंसा गरिरहेछन् र आतंक मच्चाइरहेछन् त्यसले गर्दा आन्दोलन आफैँ लज्जित भएको छ । चरम क्रूरतापूर्ण व्यवहार हेर्दा यो आन्दोलन नभएर फासीवादको अभ्यास देखिन्छ । यो फासीवादको नेपाली संस्करण हो । आफैँलाई मात्र ठीक ठान्ने, आफैँले भनेको हुनुपर्ने, असहमतिलाई निषेध मात्र होइन, दमनै गर्ने र जबर्जस्ती गर्ने सोच, चरित्र, व्यवहार र कर्म नै फासीवादको मूलभूत प्रवृत्ति हो । यो प्रवृत्ति हिटलर र मुसोलिनीको तानाशाही व्यवहारमा मात्र सीमित छैन । झनझन जरा हाल्दै र फैलिँदै गएको छ, केबल यसको अनुहार र शैली मात्र फेरिएको छ । हिटलर र मुसोलिनीको फासीवाद त बरु घोषित थियो । जो घोषणा गरेर सामुन्ने आउँछ र घोषणा अनुसारकै कर्म गर्छ भने त्योसँगको व्यवहार कठिन होला तर जटिलचाहिँ हुँदैन । उसले के गर्दै छ भन्ने पत्तो भएपछि आफूले के गर्नुपर्ला भनेर सोच्न सहज हुन्छ ।

क्रूरता, निर्दयता र कठोरतामा आनन्द लिने (स्याडिस्ट) प्रवृत्ति अरूलाई पूर्ण नियन्त्रणमा राख्ने अनुराग हो भनेर एरिक फोमले चिन्ता गरे पनि र एउटा मान्छेको चाहना अनुसार नै अरू सबैले चल्नुपर्छ भन्ने सोच जत्तिको भयावह अरू केही हुँदैन भनेर दार्शनिक इमानुएल कान्टले कराए पनि आफूलाई विकसित भनेर दाबी गर्ने आजको मान्छे झनझन आत्मकेन्द्रित र क्रूर हुँदै गएको छ भन्ने यो ज्वलन्त प्रमाण हो । मानवसभ्यताको प्राचीन कालखण्डमा राज्यव्यवस्था, सरकार थिएन । जब शक्तिसालीले निर्बललाई थिचोमिचो गर्न थाले । जबर्जस्ती गर्न थाले र दबाउन थाले तब जबर्जस्तीबाट उन्मुक्ति पाउनका लागि समाजले सुरक्षा र न्यायका लागि उपायको खोजी गर्न थाल्यो । त्यही उपायको खोजी गर्दैजाँदा राज्यव्यवस्थाको परिकल्पना भएको हो । सुरक्षा र न्यायका लागि स्थापना गरिएकोले शान्तिसुरक्षा र न्याय नै कुनै पनि सरकारको उच्च प्राथमिक र महत्वपूर्ण जिम्मेवारी हुन जान्छ । अन्य जिम्मेवारीहरू तत्पश्चात् मात्र आउने हुन् । शान्तिसुरक्षा अमनचैन कायम राख्नुपर्ने भएकोले सरकारसँग सेना, प्रहरी हुनैपर्छ भन्ने आममान्यता बनेको हो । लाखौँ वर्षदेखिको मानवीय इतिहासमा एउटा स्वतन्त्र मान्छे आजको यो कालखण्डमा जति एक्लो, निरीह र बबुरो कहिल्यै थिएन । आज नेपालमा जो जति बचेका छन्, तिनीहरू मारिन, अपहरित हुन र धम्क्याउन आवश्यक नठानिएकाले मात्र बचेका हुन् । ३०÷४० वर्ष अघिसम्म समाज थियो, समाजको सशक्त उपस्थिति थियो र सक्रिय तथा प्रभावकारी भूमिका थियो । आज सहरमा समाज छैन । गाउँघरमा समाज कतै भेटिए पनि अत्यन्तै निम्छरो र प्रभावहीन छ । एउटा सामान्य नेपालीका लागि एकातिर समाज छैन, अर्कोतिर नैतिकबल र आत्मबल नभएको सरकार छ । सरकार कतै छ भने पनि भ्रष्टाचार गर्न र अपराधीलाई संरक्षण गर्नका लागि मात्रै छ । हिजोका मूल्यहरू निख्रिएका छन्, नयाँ मूल्यले प्रवेश पाएको छैन र आस्थामा धमिरा लाग्दै गएको छ । यो कोलाहलमा एउटा एक्लो नेपाली टेक्ने, समाउने र आड लिने ठाउँ नपाएर छट्पटिरहेको छ । आन्दोलनमा समेत् अपराधी, डन र गुन्डाहरू हाबी हुनथालेकोले अब नेपाली जनता स्वतःस्फूर्त तवरले आफैँ संगठित हुन जरुरी भइसकेको छ ।

प्रतिक्रिया