कमजोर राज्य, मजबुत अपराधी

राजनीतिक व्यवस्थापन गर्नुपर्ने र थिति बसाल्नुपर्ने बेलामा जब नेताहरू स्वार्थको खेलमा लाग्छन् तब देशमा अराजकताको स्थिति सिर्जना हुन्छ र यसको फाइदा जहिले पनि क्रूर एकाधिकारवादी तत्वले लिन्छन् । उनीहरू सधैँ यस्तै स्थितिको कामना र प्रतिक्षा गरिरहेका हुन्छन् । सन् १९३२ ताका जर्मनीमा एकातिर समकालीन विश्वकै उत्कृष्ट वाइमर संविधान निर्माण भइसकेको थियो । तर, व्यवहारमा भने वर्तमान नेपालको जस्तै राजनीतिक पार्टी र नेताहरू क्षुद्र स्वार्थका लागि मारामार गरिरहेका थिए । एकातिर भर्साइल सन्धिले राष्ट्र अपमानित भएको मनोविज्ञान र अर्काेतिर नेताहरूको चरित्र र व्यवहारले गर्दा जनता आजित र निराश भइसकेका थिए । समग्र स्थितिको आँकलन गरिरहेको हिटलरले मौका छोपेरै सत्ता हत्याएको थियो । नेपालको इतिहासमा बहादुर शाहपछिका राजाहरू सामान्य मान्छे भन्न लायकसमेत थिएनन् । त्यसैको फाइदा जंगबहादुर कुँवरले लिए । २०५९ असोज १८ गते ज्ञानेन्द्रले सत्ताको लगाम त्यत्तिकै हस्तगत गरेका थिएनन्, राजनीतिक नेताहरूको व्यवहार र जनताको वितृष्णा बुझेरै हस्तक्षेप गरेका थिए । स्यामुयल हटिङटनले ‘दि थर्ड वेभ’ मा सन् १९७४ देखि १९९० सम्म विश्वमा आएको लोकतन्त्रको लहरमात्रै चर्चा गरेका छैनन् कि रिभर्स गियरको पनि विवरण दिएका छन् । लोकतन्त्र स्थापना भएको थोरै समय पनि नबित्दै सन् १९८९ मा सुडान र सन् १९८४ मा नाइजेरिया तानाशाहको पञ्जामा पुगिसकेको र आफूलाई लोकतान्त्रिक प्रणालीमा चलेको भनेर दाबी गर्ने अर्जेन्टिना, उरुग्वे, पेरु, पोर्चुगल र पाकिस्तानमा राजनीतिक नेताका व्यवहार र सरकारको कार्यशैलीप्रति जनआक्रोश तीव्र रूपमा बढ्दै गएको वास्तविकतालाई पनि छर्लंग पारेका छन् ।

व्यवस्था परिवर्तनको संक्रमणकालीन अवस्थामा राष्ट्रले स्टेटम्यानसीपको खाँचो महसुस गर्दोरहेछ । जुन देशले स्टेटम्यानसीप नेतृत्व पायो त्यो देशमा राजनीतिक व्यवस्थापन हुन सकेको छ, अन्यथा त्यत्तिकै जिम्लिएर र टाक्सिएर सिद्धिएको छ । २०४६ सालमा दक्षिण अफ्रिका र नेपालमा करिब–करिब सँगसँगै परिवर्तन भएको हो । नेल्सन मन्डेलाजस्ता स्टेटम्यानसीप नेतृत्व पाएकाले दक्षिण अफ्रिकाले राजनीतिक व्यवस्थापन गर्न सक्यो तर नेपालमा राजनेताको त कुरै छाडौँ सामान्य राजनीतिककर्मीको चरित्रसमेत देखाउन नसकेकाले राजनीति झन्–झन् भाँडिँदै, सड्दै र कुहिँदै गयो । जसको सेमिक्लाइमेक्स ०५९ असोज १८ गते र क्लाइमेक्स ०६१ माघ १९ गते देखियो । व्यक्तिको जीवनयात्रामा होस् वा राष्ट्रको, प्रस्थानबिन्दु नै महत्वपूर्ण हुँदोरहेछ । सन् १७७६ मा स्वतन्त्र हुँदा अमेरिका पुरानो इतिहास भएको राष्ट्र थिएन । एक प्रकारले नवसिर्जित राष्ट्र अमेरिकाले राजनीतिक व्यवस्थापनमात्रै गरेन, राष्ट्रलाई प्रस्ट दिशाबोध दियो र राज्यव्यवस्थालाई जनजीवनमै भिजायो । ८ सय १० जना केन्द्रीय नेता बसेर जर्ज वासिंटनहरूले सुरुमा जुन शासकीय प्रणाली र ढाँचा स्थापित गरेका थिए त्यही नै अकन्टक चलिरहेछ । मुस्तफा कमाल अतार्तुक सत्तामा आउनुअघि टर्की कट्टर जातिवादी, साम्प्रदायिक र पुरातनपन्थी राष्ट्र थियो । उनले पुरातनपन्थी सोचलाई आधुनिक दृष्टिमा बदल्न धेरै मिहिनेत गरे । भारत र पाकिस्तान सँगसँगै स्वतन्त्र भएका राष्ट्र हुन् । भारतमा लोकतन्त्रले जरा हाल्दै र झन्–झन् मजवुत हुँदै गएको छ भने पाकिस्तानमा सेना र कट्टरपन्थीको दाह्रापञ्जाभित्र लोकतन्त्र कठ्यांग्रिएर बसेको छ । भारतमा यत्रा अप्ठेरा र बाधाअवरोधको बीचमा लोकतन्त्र हुर्कँदै जानुको मुख्य कारण सुरुकालका नेताहरूको योगदान नै थियो ।

नेपालमा क्रान्ति र आन्दोलनले नायकसँगै खलनायकको विकास गरेको छ । २००७ सालको क्रान्तिले विपी कोइरालालाई नायकको रूपमा र मातृका कोइरालालाई खलनायकको रूपमा विकास गरेको देखियो । ०४६ को जनआन्दोलनले गणेशमान सिंहलाई नायकको रूपमा स्थापित ग¥यो भने गिरिजाप्रसाद कोइराला खलनायकको रूपमा देखिए । गिरिजाप्रसाद कोइरालाले अपनाएको गुटबन्दी, पक्षपात, अन्तर्घात, भ्रष्टाचार र सर्वसत्तावाद नै ०४६ को उपलब्धि नास्ने कारक तत्व बन्यो । ०६२÷६३ को आन्दोलन कुनै एउटा पार्टीविशेष वा संगठनको संयोजन र अगुवाइमा नभएर स्वस्फूर्त जनआन्दोलन भएकाले कुनै व्यक्तिविशेषलाई नायकमा स्थापित गरेन । तर, सबै एक से एक खलनायक भएर देखापरे । नयाँ व्यवस्था, संस्कृति र मूल्यको स्थापना कहीँ कहिल्यै पनि औपचारिक निर्णय गरेर, माइन्युटिङ गरेर र आदेश–निर्देश गरेर भएको छैन । अगुवाहरूले आफैँ नमुना बनेर देखाएपछि अरूले अनुसरण गरेर भएको छ । न्याय, विवेक र उन्नत संस्कृतिको नमुना बन्नुपर्ने र राष्ट्रिय चरित्र निर्माणमा संयोजन गर्नुपर्ने राजनीतिक पार्टीहरू विकृति र विसंगतिको मुहान भएका छन् । यसले जनमानसमा वितृष्णा जगाएको छ र यसको फाइदा गलत तत्वले लिइरहेका छन् । अगुवा नेताहरू स्खलित भएकै कारणले राज्य कमजोरमात्र होइन, थला परेर कोमामा पुगेको अवस्थामा छ । राज्य बलियो नभएको र राज्यको उपस्थिति नदेखिएको स्थितिको लाभ लिएर अहिले देशभर राजनीतिक आवरणमा अपराधीहरूको हालिमुहाली, बिगबिगी चलिरहेको छ । राष्ट्र आक्रान्त छ र जनता आतंकित छन् । राज्य सवल भएर खडा नहुने हो भने राजनीतिक आवरणभित्रका यी अपराधीले राष्ट्र धुलोपीठो पार्नेछन्, सन्देह छैन ।

प्रतिक्रिया