तराईमा भ्रम र भ्रान्ति

सर्वमान्य सिद्धान्त के हो भने जसले जिम्मेवारीबोधसहित कर्तव्यपालन गरिरहेको हुन्छ त्यसैलाई अधिकार प्राप्त हुँदै जान्छ । कर्तव्यपालन नगर्ने अनि अधिकारमात्र खोज्ने छट्टु, धूर्तहरू हुन्छन् । वर्तमान नेपालमा धूर्तहरूको बिगबिगी छ । उनीहरूलाई अधिकारचाहिँ भएभरको सबै चाहिन्छ, तर जिम्मेवारीबाट भने सधैँ भागिरहेका हुन्छन् । कर्तव्यपालनबाट सधँै पछि हटिरहेका हुन्छन् । कर्तव्य र जिम्मेवारीबाट पन्छनका लागि उनीहरू अनेकौँ कुतर्क गढ्छन् अनि भ्रम र भ्रान्तिले भरिदिन्छन् । दुई महिनाअघि संविधानको मस्यौदामाथि जनताको राय– सुझाव संकलन गर्न सभासद्हरू गाउँबस्तीसम्म पुगेका थिए । कर्णाली अञ्चलको एउटा जिल्लाको गाउँबस्तीमा बसेर फर्केका तराईमूलका सभासद्ले भने, ‘तराईका नेताले हामीलाई पहाडीयाविरुद्ध घृणा गर्न लगाए । पहाडीयाहरूले मात्र खाए, उनीहरूले मात्र पाए भनेर हाम्रो दिमागमा पहाडीयाविरुद्ध जहर भरिदिए । तर, यथार्थ नितान्त फरक रहेछ । पहाडका गाउँबस्तीमा त्यहँँका बाहुन, क्षेत्री, ठकुरीहरूको दयनीय अवस्था देखेँ । तिनीहरूको विदीर्ण, हरिकंगाल अवस्था देखेर म विह्वल भएँ । मेरो हृदय छिया–छिया भयो ।’ उनले यो हृदयविदारक अवस्थाको वर्णन गरिरहँदा सँगै कर्णाली गएका तराईमूलका अरू सभासद्ले, ‘त्यो नभन’ भनेर इसारा गरिरहेका थिए । त्यो इसारालाई समेत प्रतिवाद गर्दै उनले भने, ‘अब मलाई नरोक्नुहोस् । तथ्यबाट निकालिएका सत्य साश्वत हुन्छ । मेरो दिमागभर भ्रम र भ्रान्ति भरिदिएका रहेछन् । भ्रमको पर्दा च्यातियो । आफैँले देखेको सत्य दुनियाको अगाडि राख्न अब मलाई कसैले रोक्न सक्दैन ।’

ती सभासद्को भ्रमको पर्दा च्यातिएजस्तै हामीले पनि बुझ्नुपर्ने तथ्य के हो भने यी धूर्त नेताहरूले जनतालाई सत्य, तथ्य, यथार्थबाट टाढा राख्नका लागि भ्रमको दुनिया तयार गर्छन् । आफ्ना अपराध र गलत कर्मको दोष थोपर्नका लागि एउटा दुस्मन खडा गर्छन् । तराईकै नेताहरूको विषयमा भन्नुपर्दा उनीहरूले पहाडीयालाई शत्रु भनेर व्याख्या–विश्लेषण गरेका छन् । तराईमा जे–जति कमी छन् ती सबैको दोष यिनै पहाडीया हुन् भनेर तराईका जनताको दिमागभरि पहाडीयाविरुद्ध जहर भरिदिएका छन् । जबकि, यथार्थ के हो भने २०६४ सालमा कार्यान्वयन गर्न खोजिएको भूमिसुधार योजनालाई उनीहरूले नै रोके । २०६३ सालमा मकैभट्मास बाँडेसरी जथाभावी नागरिकता बाँड्न उनीहरूले नै लगाए । दाइजो, तीलकप्रथाविरुद्ध अभियान अघि बढाउन रोक्ने उनीहरू नै थिए । राष्ट्रिय परिचयपत्र वितरण योजना नै तुहाइदिए । भारतको अत्यन्तै वृहत् र विशिष्ट परियोजना ‘नदीजडान परियोजना’ अन्तर्गत नेपालको सीमामा सटाएर सडकको नाममा बनाएको बाँधले गर्दा लक्ष्मणपुर, महलीसागर, रसियावालखुर्दलोटन, लुना, बैरगनिया, कैलाशपरी, कोइलावास, कलकलवा, कुनौली, लालबकैया, खाँडो, बागमती, डोंडाफरेना, सिराहा, कमला बाँधले तराईकै जनताको उठिबास गरेको छ । यस विषयमा उनीहरूले एक शब्द पनि बोलेका छैनन् । नवलपरासीको सुस्तामा भारतले जबर्जस्ती अतिक्रमण गर्दै बीस हजार हेक्टर नेपाली भूमि कब्जा गरिसकेको छ ।

त्यसबारे तराईका नेताले कहिल्यै आवाज उठाएनन् । भारतले कालापानी र लिपुलेकलाई जबर्जस्ती कब्जा गरेको छ र लिम्पियाधुरासम्मै हडप्न खोजेको छ । यस विषयमा तराईका कुनै नेतालाई असहज महसुस भएको छैन । सीमासुरक्षा बलले नेपालीलाई दुव्र्यवहार गरेको, सताएको, यातना दिएको विषयमा उनीहरूले कहिल्यै आपत्ति जनाएनन् । दस वर्षअघि बनिसक्नुपर्ने तराईको हुलाकी सडक भारतीय निर्माण व्यवसायी (ठेकेदार) हरूकै कारणले आजसम्म अलपत्र परेको छ । भारतीय नेतासँग भेट्दा उनीहरू यो विषयलाई कोट्याउँदैनन् । जातीय कट्टरता र छुवाछूत पहाडमा भन्दा सयौँ गुणा चर्को तराईमा छ । बोक्सीप्रथा पनि त्यहाँ झन् बढी छ । तर, उनीहरूले यस्ता रूढी र अन्धविश्वासविरुद्ध सामाजिक अभियान चलाउन कहिल्यै चासो राखेनन् । आफ्नो जिम्मेवारीबोध नगर्ने, कर्तव्यपालन नगर्ने, तर आफ्ना अपराध र गलत कर्मबाट बच्न अर्कै एउटा शत्रु खडा गरेर सम्पूर्ण दोष त्यसको टाउकामा हालिदिने यो धूत्र्याइँ सधैँ टिक्दैन । जब तराईका जनता सत्य, तथ्य, यथार्थसँग साक्षात्कार हुन थाल्छन् तब त्यही क्षणबाट यो भ्रम चिरिनेछ र उनीहरूको छलकपट सकिनेछ ।

प्रतिक्रिया