यो राजनीति कि अपराध ?

नेपालमा शब्दहरूले अर्थ गुमाउँदै गएको स्थिति छ । नेपालका राजनीतिक नेताहरूले राजनीतिक आवरणमा यति विभत्स, जघन्य र भयंकर अपराध गरिरहेका छन् कि ‘क्रिमिनोलोजी (अपराधशास्त्र)’ डंग्रङै पछारिएर थला परेको छ । राजनीतिक आवरणमा क्रूर आपराधिक कर्म हुँदा–हुँदा स्थिति यस्तो भएको छ कि कुन अपराध हो र कुन राजनीति हो भन्ने छुट्याउनै नसकिने स्थिति बनेको छ । १८ गते बर्दिया र मैनापोखरमा थरुहटले राजनीतिक भन्दै बन्दुक बोकेर जुलुस निकाल्छन् र देवबहादुर पाण्डेलार्ई गोली हानेर हत्या गरिदिन्छन् । बाँकेको कोहलपुरमा थरुहटका कार्यकर्ता झोलाभरी ढुंगा लिएर जुलुस निकाल्छन् र गनापुर–२, प्रिपहवामा २३ वर्षका करणसिंह ठकुरीलार्ई ढुंगाले हानी मारिदिन्छन् । थारुहटले टीकापुरमा मच्चाएको विभत्स हत्याको ताण्डव कहालिलाग्दो छ । जिउँदै जलाएर मारे, लखेटी–लखेटी मारे, भालाले घोचेर मारे र प्रहरीको राइफल खोसेर दुई वर्षको बच्चालाई समेत टाउकोमै ताकेर गोली हानी हत्या गरे । दिनदिनै यस्ता क्रूर कर्म निर्धक्कसँग खुलेआम र शृंखलाबद्ध भइरहेका छन् । सबैभन्दा घीनलाग्दो के भएको छ भने उनीहरू यसलाई राजनीति भनिरहेका छन् । अब यहाँनिर ज्वलन्त प्रश्न छ, मार्नु, काट्नु, जिउँदै जलाउनु र हत्या गर्नु नै राजनीति हो भने अपराधचाहिँ के हो ?

तिनीहरूले राजनीतिक आवरणमा यति भयंकर क्रूर अपराध गरिरहेका छन् कि राजनीति नै लज्जित भएको छ । नेपालमा आजैको मितिबाट राजनीतिबाट अपराधलाई नछुट्याउने हो भने साँच्चिकै राजनीति गर्नेका लागि स्पेस बाँकी रहने छैन । नेपालमा अघिल्लो पुस्तासम्मले राजनीतिलाई अपराधबाट अलग्याएर एउटा दुरीमा राख्ने प्रयत्न गरेका थिए । त्यसैले राजनीति सम्मानित थियो । २०२८ सालमा तत्कालीन नेकपा मालेले एकपल्ट झापामा हिंसा गरेको थियो । उसले हिंसा गर्नु गलत थियो भनेर तत्काल आत्मालोचना ग¥यो । २०४३ सालमा नेपाली कांग्रेसले सत्याग्रह आन्दोलन चलायो । सत्याग्रहसँगै जेल भर्ने अभियान पनि थियो । आन्दोलन उत्कर्षमा पुग्नैलाग्दा रामराजाप्रसाद सिंहले सर्वसाधारण नागरिक जम्मा हुने ठाउँहरूमा बम हान्न थाले । निर्दोष सर्वसाधारण नागरिक अनाहकमा मारिन थाले । रामराजाले यो अनर्थ गरे भनेर नेपाली कांग्रेसले आफ्नो आन्दोलन नै प्याकअप ग¥यो । २०४६ सालमा पञ्चायती व्यवस्थाविरुद्ध भएको आन्दोलन र ०६२÷६३ सालमा राजतन्त्रविरुद्ध भएको १९ दिने आन्दोलनमा पनि हिंसाको प्रयोग भएन । नेकपा माओवादी विद्रोहका क्रियाकलाप पनि २०५८ सालको हिउँदसम्म हिंसात्मक थिएन । छिमेकी मुलुक भारतमा सन् १९२२ मा उत्तरप्रदेशको चौरीचौरामा आन्दोलनकारीको तर्फबाट सामान्य हिंसात्मक कार्य हुन पुगेको थियो । त्यो घटनालाई गम्भीरपूर्वक लिएर भारतीय राष्ट्रिय कंग्रेसले तत्काल बैठक राख्यो र आन्दोलन स्थगित गर्ने निर्णय ग¥यो । पश्चात्तापस्वरूप गान्धी पाँच दिन उपवास बसे । ‘जनतालाई आन्दोलनमा आउ त भनियो, तर अहिंसाको सचेतना गराउन सकिएनछ’ भन्ने निष्कर्ष उनीहरूको थियो ।

नेपालमा हिंसाको आगोलाई ह्वार्ह्वार्ती बालेर दन्काउन तीनवटा तत्वले विशेष योगदान पु¥याएका छन् । सर्वप्रथम त २०५८ हिउँदपछि नेकपा माओवादी नै हो जसले सर्वत्र हिंसामात्रै ग¥यो र हिंसाबाहेक केही गरेन । उसले जनजीवनमा हिंस्रक संस्कृति स्थापित ग¥यो र हिंसामा अभ्यस्त गरायो । दोस्रो गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद सिटौला हुन् । उनीहरूले २०६३ साल वैशाखदेखि १६ महिना हिंसा, हत्या र आतंक मच्चाउनेलाई सम्मान गर्ने र हिंसा नगर्ने सज्जनलाई तिरस्कार गर्ने एक सूत्रीय अभियान चलाए । गुण्डा र अपराधीलाई राजनीतिक आवरणले ढाकिदिन्थे र उच्च सम्मान दिन्थे । तेस्रो हो, माओवादीले रोपाइँ गरेको जातीय विद्वेषको विषवृक्ष । जातीय विद्वेषको विष घोलेर उनीहरूले जात–सम्प्रदायमै एकले अर्कोलाई घृणा गर्न लगाए । एमाओवादीका केन्द्रीय नेता लेखराज भट्टले इमेज एफएममा सरोजसँग वार्ता गर्दै, ‘हाम्रै नेताहरू सुदूरपश्चिममा आउनुहुन्छ । जनता भेला गरेर, यहाँ असली मान्छे थारूमात्र हुन् । बाँकी पहाडीया जम्मै शोषक, ठालु र सामन्त हुन् भनेर घोकाउनुहुन्छ’ भनिरहेका थिए । उनले, ‘जातीय राजनीतिका प्रवर्तक मेरै नेता बाबुराम भट्टराई हुन् । उनले वर्गसंघर्षलाई किनारा लगाए र जातीय विद्वेषको राजनीतिमा हुले’ समेत भने । जे होस्, रोग डाइग्नोसिस भइसकेको छ । सर्जनहरूले दह्रो आत्मविश्वासका साथ हात नकमाई अपरेशन–उपचार गरिदिए पुग्छ ।

प्रतिक्रिया