विभाजित गरेर भिडाउने

राजनीतिक आन्दोलन र क्रान्तिको सन्दर्भमा सर्वमान्य आधारभूत सिद्धान्त के हो भने, आन्दोलनकारी शक्ति नै विशेष जिम्मेवार हुनुपर्छ । आन्दोलनकारीले यथास्थितिभन्दा उन्नत व्यवस्था र प्रणाली सम्भव छ भनेको हुनाले उन्नत संस्कृति र उच्च मानवीयताको आचरण र व्यवहार आफैँबाट सुरु गरेर देखाउनुपर्दछ । अगुवाहरू आचारसंहिताको नमुना (रोलमोडेल) बन्नुपर्दछ जसलाई अरू सबैले अनुकरण गरून् । हामीले जानेबुझेको विश्वव्यापी मान्यता यही हो । विश्वमा एउटा यस्तो मुलुक पनि छ, जहाँ आन्दोलनकारीहरू विश्वव्यापी मान्यताको ठीक उल्टो चलिरहेका हुन्छन् । र, नेतृत्वले उल्टो बाटो र दिशातिर लगिरहेको त्यो देश दुर्भाग्यबस हाम्रो आफ्नै देश नेपाल हो भन्नुपर्दा हामी खङ्ंग्रङ भएका छौँ । टीकापुरकै कुरा गरौँ, त्यहाँ भदौ ७ गते साँझ स्थानीय प्रशासनसहित सर्वदलीय, सर्वपक्षीय बैठक बस्छन् । एकदमै शान्तिपूर्ण र एकदमै अनुशासित जुलुस प्रदर्शन गर्ने भनेर सर्वसम्मत निर्णय गर्छन् । माइन्युटमा सहीछाप गरेर निस्कन्छन् र ‘भोलि घर–घरबाट भाला, बन्चरो, खुँडा, तरबार र खन्ती बोकेर आउनु । जो आउँदैन त्यसलाई एक हजार रुपैयँँ जरिवाना हुनेछ’ भनेर उर्दी जारी गर्छन् । जुलुसमा अगाडि परेका मान्छेलाई लखेटी–लखेटी मार्छन् । जिउँदै जलाएर मार्छन् । खेलिरहेको दुई वर्षको बालकलाई समेत छाड्दैनन् । टाउकामै ताकेर गोली दाग्छन् । मध्ययुगीन बर्बरता र नरपिचासलाई बिर्साउनेगरी अत्यन्तै क्रुरतापूर्ण र पिभत्स हत्याको शृंखला सम्पन्न गर्छन् ।

ईमेज एफएममा बोल्दै लेखराज भट्टले भने, ‘यो भयंकर निकृष्टताको पूर्वतयारी अलि अगाडिबाटै सुरु भएको थियो । केही वर्ष अघिदेखि नै मेरो पार्टीका नेता बाबुराम भट्टराईले वर्गसंघर्षलाई च्याट्टै तिलाञ्जली दिएर राजनीतिलाई जात, सम्प्रदायमा हुलिदिनुभयो । बाबुरामजी सुदूरपश्चिममा आएर, ‘यहाँ थारुहरू मात्र असली मान्छे हुन् । बाँकि सबै शोषक, सामन्ती, ठालू हुन्’ भन्नुहुन्थ्यो । र सबैलाई त्यसैगरी प्रशीक्षण दिनुहुन्थ्यो । ७ गते विभत्स हत्याको ताण्डव मच्चाउनेहरूलाई उहाँले भत्र्सना गर्नुभएन । अहिले पनि तिनीहरूलाई नै प्रोत्साहित गरिरहनुभएको छ ।’ लेखराजले भनेको बाबुरामको यो हर्कत त कसैबाट छिपेको छैन, तर त्योभन्दा अझै चर्को दृश्य छ । हाम्रा उच्च बौद्धिक भनिएका व्यक्ति, स्तम्भलेखक र प्राज्ञ भनिएका व्यक्तिहरू नै टीकापुरको हत्याकाण्डलाई महिमामण्डन गरिरहेको दृश्य झन् घीनलाग्दो छ । ‘सबै रोगको औषधि हिमालय तेल’ भनेझैँ के त अब जेमा पनि हिंसाकै प्रयोग गर्ने हो ? सरकार पनि त्यस्तै छ, जसले बढी हिंसाको प्रयोग गर्न सक्छ त्यसैको कुरा सुन्छ । निमुखा भुइँमान्छेहरू, जसलाई न आफ्नो अधिकारकै विषयमा ज्ञान छ न संगठित हुन सक्छन् न त हिंसाकै प्रयोग गर्छन् । जब सरकारले नै हाक्काहाक्की हुलहुज्जत र ढुंगामुढालाई स्वीकार र असंगठित आवाजलाई अस्वीकार गर्छ तब पिल्सिएर बसेका सीमान्तकृत वर्गको मझेरीमा घाम लाग्दैन भनेर बुझे हुन्छ ।

‘विभाजित गर र राज गर’ भन्ने पुरानो ब्रिटिस पोलिसीलाई अपनाएर हाम्रा नेताले हामीलाई विभाजित गरेर खण्डित गरिदिएका छन् । २०४७ सालपछि नेपाली नागरिकको सङ्लो परिचय रहेन । कसैलाई कांग्र्रेस भनियो, कसैलाई एमाले भनियो र कसैलाई राप्रपा भनेर चिनाइयो । हाम्रोजति राम्रो भन्ने मूलमन्त्र घोकाइयो । एउटा पार्टीको लेवल लागेकालाई अर्को पार्टीले छोइछिटोको व्यवहार गरे । गणतान्त्रिक कालमा नेपालका कम्युनिस्ट पार्टीलाई जातीय र साम्प्रदायिक राजनीति गर्ने रहर पलायो । रहर पूरा गर्न हामीलाई जात र सम्प्रदायमा विभाजित गरेर भिडाइरहेका छन् । नेपाली समाजलाई जात, थर, गोत्र र सम्प्रदायमा विभाजित गरेपछि सजिलो भयो । नेपाली समाजले समष्टीमा सोच्न छाड्यो । अंश–अंशमा हेर्ने र बुझ्ने दृष्टिकोण निर्माण भयो । आंशिक दृष्टिकोणअनुसार अमुक थर–गोत्र भएको व्यक्तिमाथि भएको अत्याचार अर्को जात, थर र गोत्रका लागि सामान्य घटना हुने भयो । अझ खासमा घटना नै हुने भएन । अमुक पार्टीको समर्थकमाथि भएको अत्याचार अर्को पार्टीको नजरमा नपर्ने भयो । हरेक जातिले आफ्नै जातिका व्यक्ति परेमात्र बोल्ने र हरेक पार्टीले आफ्नै पार्टीका कार्यकर्तालाई परेको मात्र देख्ने भए । जिम्मेवारी लिनु नपर्ने र जवाफदेही हुनु नपर्ने भएकाले निर्धक्कसँग जथाभावि हत्याहिंसा गर्दै, आतंक मच्चाए भयो । सरकारले ढुंगामुढालाई नै मान्यता दिने भएकाले कतैबाट रोकटोक हुने भएन । बुद्धिजीवीहरूले उल्टो महिमामण्डन गर्ने भएकाले आलोचनाको डर पनि रहेन । यसरी कस्तो समाज र सभ्यता निर्माण गरिरहेछौँ भन्ने अजंगको प्रश्नचाहिँ खडा हुने भयो, त्यत्ति हो ।

प्रतिक्रिया