राष्ट्रलाई खतरा

३ दिनअघि बिहान साढे ६ बजे इमेज एफएम ९७.९ मा सरोजसँग वार्ता गर्दै लेखराज भट्टले भने, ‘मेरै पार्टीका नेताले वर्ग संघर्षलाई पन्छाएर पार्टीलाई जातपातको राजनीतिमा हुलिदिनुभयो । जातीय नजरले हेर्न छाडिसकेको नयाँ पुस्तालाई समेत जबर्जस्ती जातपाततिर तान्नुभयो । बिर्सिंदै गएका जातलाई पुनः फर्काएर दिमागभरि जात भरिदिनुभयो । नामै किटेर भन्नुपर्दा मेरो पार्टीको नेता डा. बाबुराम भट्टराईजी नै जातीय राजनीतिको मुख्य प्रवर्तक हुनुहुन्छ । उहाँले सुदूरपश्चिममा असली मान्छे भनेका थारूमात्र हुन् । बाँकी सबै पहाडे शोषक, ठालू, सामन्त हुन् भनेर निरन्तर व्याख्या गरिराख्नुभएको छ । मिलिजुली बसेको समाजलाई विभाजित गरेर भिडाइराख्नुभएको छ । अहिले पनि त्यहाँको सामाजिक सद्भाव बिथोलिराख्नुभएको छ । एक–अर्कोप्रति घृणा, द्वेषको विष घोलिरहनुभएको छ ।’ लेखराज भट्टले अत्यन्तै चिन्तित र गम्भीर भएर यो खुलासा गरे । तर, दुःखद् विडम्बना के भयो भने यत्रो संवेदनशील र गम्भीर विषयलाई हामी नेपालीले किञ्चित पनि ठानेनौं । राजनीतिक पार्टीका नेताहरू र सरकार सञ्चालकहरू अधिकांशलाई यो राष्ट्रको विषयमा कुनै चिन्ता छैन, यहाँसम्म त ठीकै छ । तर, चेतनशील जनता संवेदित होलान् र यो विषयलाई गम्भीरपूर्वक लेलान् भनेर सोचेका थियौँ । त्योसमेत नहुँदाचाहिँ के यो राष्ट्र साँच्चै अनाथ अनि बेवारिसे नै भएको हो त भन्ने प्रश्न खडा भएको छ ।

बाबुराम भट्टराईले रोपेको जातीय विद्वेषको विषवृक्षलाई नै तराईका साम्प्रदायिक नेताहरूले मलजल गरिराखेका छन् । उपेन्द्र यादव, राजेन्द्र महतो तथा कांग्रेस पार्टीका नेता तथा सभासद् अमरेशकुमार सिंह करिब तीन हप्ताअघि टीकापुरमा जनसभालाई सम्बोधन गर्दै, ‘घर–घरबाट भाला, खुँडा, बन्चरो, खन्ती, तरबार लिएर निस्क र पहाडेजति सबलाई लखेट’ भनेर बारम्बार आह्वान गरिरहेका थिए । उनीहरूको आह्वान मुताविक नै नेपबहादुर चौधरी, रेशम चौधरी, लक्ष्मण थारुहरू योजना बनाएर कार्यान्वयनमा जुटिहाले । क्रुरता र निर्ममतापूर्वक हत्या गर्नसक्ने खुँखार अपराधी प्रवृत्तिका कमान्डोहरूलाई हेल्मेट लगाएर अघि बढाए । पूरा योजना र तयारीका साथ सुनियोजित तवरले कसैलाई जिउँदै जलाएर मारे, कतिपयलाई लखेटी–लखेटी मारे । प्रहरीकै बन्दुक खोसेर दुई वर्षको बच्चालाई समेत गोली ठोकेर हत्या गरिदिए । यसरी बाबुराम भट्टराईले रोपेको जातीय–साम्प्रदायिक विषवृक्षमा मलजल गर्ने अमरेश, उपेन्द्र, राजेन्द्र महतोको आह्वानलाई उनीहरूले सोचेअनुसार र चाहेअनुसार कार्यान्वयन गरे ।

केही वर्ष अघिदेखि बाबुराम भट्टराईहरूले जातीय–सामप्रदायिक विद्वेषको विषवृक्षको रोपाइँ गरिरहँदा, तराईका नेताहरूले साम्प्रदायिक तथा पूर्वी पहाडका जातीवादीले जातीय घृणा ओकलिरहँदा र पहाडेलाई लखेट, सिध्याऊ भनेर टीकापुरमा आह्वान गरिरहँदा चेतनशील नेपालीले किन यसलाई गम्भीरपूर्वक लिएनन् भन्ने प्रश्नचाहिँ अजंगको बनेर उभिएको छ । यसबाट के बुझिन्छ भने, ‘चेतनशील नेपालीले यो राष्ट्रलाई सिध्याउने नै भए, हामीले जोगाएर जोगिँदैन’ भनेर पूरै लत्तो छाडेको मनस्थिति हुनुपर्छ । अथवा, चेतनशील नेपालीले, ‘हामी विचरा जनताले के नै गर्न सक्छौँ र ? हाम्रो कुरा कसले सुन्छ र ?’ भनेर आफूलाई अन्डरइस्टिमेट गरेको हुनुपर्छ ।

लेखराज भट्टले खुलासा गरेजस्तो डा. बाबुराम भट्टराईले रोपेको जातीय विद्वेषको रोपाइँभन्दा पनि तराईका क्षेत्रीयतावादी नेताले घोलेको साम्प्रदायिक घृणाको विषभन्दा पनि जनतामा इख नहुनु, आत्मसम्मान नजाग्नु र राष्ट्रिय भावना निख्रिनुचाहिँ यो राष्ट्रका लागि भयंकर खतराको स्थिति हो ।

प्रतिक्रिया