सर्वत्र डन

नौ दिनदेखि पश्चिमी तराई र पूर्वी पहाडमा जातजातको राज्य बनाउने आन्दोलन र पूर्वी तराईमा साम्प्रदायिक राज्यका लागि आन्दोलन चर्काइरहेछन् । भदौ ३ गते बिहीबारका दिन भैरहवामा बन्दकर्ताहरू जबर्जस्ती बन्द गराउँदै हिँडे । हातमा रड, लाठी, चिर्पट दाउरा लिएर होहल्ला गर्दै, तर्साउँदै, धम्काउँदै, आतंक मच्चाउँदै भैरहवा बजारमा निस्के । बुद्धचोकमा पुगेर,‘यो घरको मान्छे बन्द गराउन हिँडेको छैन’ भन्दै केही व्यक्तिका निजी घरका सिसा झरामझुरुम् फोरे । छेउकुनामा राखिएका बस र ठेलागाडालाई तोडफोड गरे । घरभित्र राखिएका मोटरसाइकलहरू घिसार्दै बाहिर ल्याई तोडफोड तथा आगो लगाउँथे । सिद्धार्थनगर सिटी हस्पिटलका डाक्टरहरू बन्द गराउँदै हिँडेनन् भनेर अस्पतालअगाडि चर्को नाराबाजी गरे । चारैतिरबाट अस्पतालमाथि ढुंगा प्रहार गरे । अस्पताल भर्ना भएका बिरामी, बिरामीका कुरुवा र कर्मचारीसमेत् आँत्तिदै, रुँदै, कराउँदै निस्के । भागमभाग र कोकोहोलो भयो । यसैगरी होटल, व्यापारिक भवन केही बाँकी राखेनन् ।

विद्रोह सन्देशको मुख्य सार के हो भने,‘यथास्थितिभन्दा उचित, उन्नत हुनसक्छ र त्यो हामी गर्छौं’ भन्ने हो । यस हिसाबले संस्थापनभन्दा आचरण, व्यवहार, कर्म, कार्यशैली, संस्कृति, मूल्यलगायत हर क्षेत्रमा विद्रोही शक्ति उत्कृष्ट देखिनुपर्छ । यसका लागि विद्रोहको उद्घोष गर्ने अगुवाहरू नै रोलमोडेल बन्नुपर्छ । तर, नेपालको सन्दर्भमा ठीक उल्टो के देखियो भने हत्याहिंसा गर्नु, तोडफोड गर्नु, आगो लगाउनु, तर्साउनु, धम्काउनु, आतंकित पार्नु, अपहरण गर्नु, जबर्जस्ती असुल्नु पो गौरवशाली कर्म भयो । समाज, समुदाय, राष्ट्रमा सबैथरीका मानिस बसेका छन् । एउटा सिस्टमको अनुसरण गरेर, नियमको पालना गरेर अनुशासनमा रहेर सबैजना एकठाउँमा मिलिजुली बस्न सक्छन् भन्ने विश्वव्यापी मान्यता मात्र होइन सास्वत नियम नै यही हो । ‘मेरै बाउको बिर्ता’ भनेभैmँ गरी, ‘यत्ति सेरोफेरो भूगोलमा मेरै जातको वर्चस्व हुनुपर्छ । हाम्रै जात सम्प्रदायको नाममा हुनुपर्छ’ भनेर अरूको अस्तित्व नै स्वीकार नगर्ने, एकलौटी गर्ने मनसायका हुंकारलाई कसरी मानवीय, न्यायोचित, उन्नत र वैज्ञानिक मान्न सकिन्छ ? नेपालका सबै राजनीतिक पार्टी र नेताहरूले रूपमा अल्झँदाअल्झँदै सार भुलिसकेका छन् । ०४७÷४८ सालमा कांग्रेस र एमालेका नेताहरू शब्दलाई सिध्याउन सम्पूर्ण शक्ती र ऊर्जा लगाइरहेका हुन्थे । सधैँ शब्दसँग सिंगौरी खेलिरहेका हुन्थे । ‘पञ्चायत’ शब्द देख्नैहुँदैनथ्यो, दाह्रा किटेर आक्रमण गर्थे । त्यसबेला हामीले यी शब्दहरू मेट्न समय बर्बाद गर्नुसट्टा प्रजातन्त्रलाई संस्थागत गर्न र प्रजातान्त्रिक संस्कृतिलाई जीवनपद्धतिमा उतार्नतिर लाग्नुपर्ने बेला होइन र ? भनेर घच्घच्याएका थियौँ । तपसीलका खुद्रा विषयमा अल्झिरहनु सट्टा प्रजातान्त्रिक संस्कृति निर्माण गर्न र त्यसलाई राष्ट्रिय संस्कारको रूपमा विकास गर्नुपर्ने होइन र ? भनेका थियौँ । ३ वर्षअघि नेकपा–माओवादी नजिकको विद्यार्थी संगठन स्कुल साइनबोर्डका अक्षर सुधार्ने एकसूत्रीय अभियानमा थियो । विद्यालयका नाम र साइनबोर्डका अक्षर होइन, शिक्षाको गुणस्तर सुधार्नतिर लागे हुन्थ्यो भनेका थियौँ । प्राथमिकतामा रहनुपर्ने मुख्य विषयलाई छाडेर सुसेधन्दामै दिन बिताएको कारणले बहुदल अनाथ, बेवारिसे भयो र अभिभावक भनिएकाहरूकै काखपोल्टामा त्यसले प्राण त्याग्यो । गलत बाटो समातेको र उल्टो दिशातिर लम्केकै कारणले लोकतन्त्रको हाल बेहाल भइसकेको छ ।

तत्कालको राष्ट्रिय कार्यभार के हो ? राष्ट्रिय आकांक्षा के हो ? तिनलाई प्राथमिकता क्रममा राखेर छनोट गर्न नसक्दा अहिले पनि सबै गाजेमाजे भएको छ । राज्यले सीमान्तिकृत वर्गलाई ध्यान देओस् भन्ने चाहेका थिए । राज्य सीमान्तिकृत वर्गतिर गएन जातपातको बाटो लाग्यो । सज्जनको संरक्षण गरोस् भनेका थिए अपराधीको मुद्दा फिर्ता लिनतिर लाग्यो । विपन्न, दरिद्रमाथि अर्जुनदृष्टि टिकाओस् भनेका थिए ठूलाबडा भूतपूर्वलाई भत्तासुविधा दिनका लागि अध्यादेश ल्याउँदाल्याउँदै आयु क्षीण ग¥यो । आरक्षणको सुविधा जात, सम्प्रदायको नाममा सम्भ्रान्तहरूको काखपोल्टामा पारिदियो । ‘सबै रोगको औषधि हिमालय तेल’ भनेभैmँ के त अब जेमा पनि हिंसाकै प्रयोग गर्ने हो ? सरकारले त त्यही गरिरहेछ, जसले बढी हिंसाको प्रयोग गर्न सक्छ त्यसैको कुरा सुन्छ । निमुखा भूइँमान्छेहरू जसलाई न त आप्mनो हकअधिकारकै विषयमा ज्ञान छ, न त संगठित हुन सक्छन्, न त हिंसाकै प्रयोग गर्छन् । जब सरकारले नै हाक्काहाक्की हुलहुज्जत र ढुंगामुढालाई स्वीकार र असंगठित आवाजलाई अस्वीकार गर्छ, तब पिल्सिएर बसेका सीमान्तकृत वर्गको मझेरीमा घाम लाग्दैन भनेर बुझे हुन्छ । चरी मारिँदा एमालेका नेताहरू र घैंटे मारिँदा कांग्रेसका नेताहरूको रुवाबासी, बिलौना सुनिरहँदा के निष्कर्षमा पुगिन्छ भने नेपालको पार्टी राजनीति गुन्डा, डनहरूको भरमा चलेको छ ।

प्रतिक्रिया