जोन केनेथ न्याउसका चेला

जात–जातको संघीय राज्य हुनुपर्छ र सर्वप्रथम थारूको राज्य त अहिल्यै हुनुपर्छ भनेर पश्चिम नेपालका थारूहरूले भयंकर आन्दोलन छेडेका छन् । नवलपरासीका सभासद् वैजनाथ चौधरीले ‘जात–जात र सम्प्रदायको राज्य बनाउने हठ गर्नु उचित होइन’ के भनेका थिए, उनीहरूले ढुंगा हान्न थालिहाले । कोमल चौधरीहरूले त साउन ३० गते तिलकपुर, मगरमुढास्थित वैजनाथ चौधरीको घरै जलाइदिन लागेका थिए । तिनै जात–जातको राज्य माग गर्नेले ३० गते मध्यरातको साढे दुई बजे कैलाली, चौमलाको कालिका सामुदायिक वननजिकै ना४ख ८४८८ नम्बरको ट्रकलाई जलाइदिए । जातीय, साम्प्रदायिक राजनीतिको विषवृक्ष नेपालमा कम्युनिस्ट पार्टीहरूले रोपेका थिए । ‘फुटाउ र राज गर’ नीतिअनुसार समाजलाई जात–सम्प्रदायमा विभाजित गरेर भिडाउने र आफू भाले बन्ने ग्रान्ड डिजाइनकै कार्यनीति थियो । उनीहरूले बिजारोपण गरेको विषवृक्षले अहिले झांगिएर यस्तो परिणाम दिन थालेको छ ।
जातपात र सम्प्रदायको राजनीतिमा मूल्य–मान्यता, सिद्धान्त र विवेक–विचार हुँदैन । नैतिकता पनि नहुने भएकाले लाजघीन पनि हुँदैन । छाडाको पराकाष्ठामा हुने भएकाले मर्यादाको सीमा पनि रहँदैन । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले चार दलका शीर्ष नेताहरूसँग बसेर ६ प्रदेशको खाकामा हस्ताक्षर गरे र हस्ताक्षरको मसी सुक्न नपाउँदै अर्को कोठाभित्र छिरेर ‘जातीय राज्यको माग गर्नु र आन्दोलन चर्काउनु’ भन्दै आफ्ना केन्द्रीय सदस्य र सभासद्हरूलाई निर्देशन दिइरहेका थिए । भावना भड्काइदिए पुग्ने भएकाले जातीय राजनीतिको भीडलाई छट्टु र धूर्तहरूले मज्जाले प्रयोग गर्न सक्ने भए । नेपाल टुक्र्याउने र राष्ट्र सिध्याउने अभियानको दौडाहामा रहेका कांग्रेसी नेता, सभासद् अमरेशकुमार सिंहले नेपालगञ्जमै मुकाम गरी, पूर्वमन्त्री इस्तियाक राईलगायतका मुसलमानलाई थारुसँग मोर्चाबन्दी गर्न उचालिरहेका छन् । त्यसमा तराईयनहरूलाई समेत मिसाई वृहत् मोर्चा बनाएर पहाडेविरुद्ध आन्दोलन चर्काउने उनको महान् लक्ष्य रहेको छ ।
जातीय, साम्प्रदायिक राजनीतिको रोपाइँ नेपालमा कम्युनिस्टहरूले गरेको देखिए पनि यी कम्युनिस्ट ‘टुल्स’ मात्र बनेका हुन् । यसको सूत्राधार, परिकल्पनाकार र योजनाकार अमेरिकाको सिआइए हो । जात–जातमा विभाजित गरेर भिडाउने, अनि आफ्नो स्वार्थ पूरा गर्ने ग्राण्डडिजाइन धेरै अघिदेखिको र योजनाबद्ध रहेछ भन्ने तथ्य ज्ञानमणि नेपालले तीन वर्षअघि प्रकाशित गरेको ‘गणतन्त्रदेखि लोकतान्त्रिक गणतन्त्रसम्म’ पुस्तकको पेज एक सय ६३ मा पुगेपछि खुल्छ । सिआइएको भूतपूर्व वरिष्ठ अधिकृत जोन केनेथ न्याउसले लेखेको आत्मसंस्मरणात्मक कृति ‘शितयुद्धका टुहुरा–अमेरिकी र तिब्बतीहरूको संघर्ष’ पुस्तकबाट ज्ञानमणि नेपालले लामै उद्धरण राखेका छन् । जसको सानो अंश यस्तो छ ‘हिमालय पर्वत शृंखलाको फेदीमा बसी जातीय स्वायत्तताको सूत्र प्रतिपादन गरेको हुँ । म दाबाका साथ भन्छु कि नेपाललगायत विश्वमै जातीय मुक्तिको नारा उठाउने पहिलो व्यक्ति म हुँ । त्यसलाई व्यवहारमा प्रयोग गर्ने मेरो संस्था सिआइएलाई म सधैँ धन्यवाद दिइरहने छु ।’ सँगसँगै जोनले ‘कम्युनिस्टहरू सिआइएको यही सूत्र बोकेर हिँडिरहेछन्, यसले मलाई अत्यधिक खुसी दिइरहेछ’ भनेर पनि लेखेका छन् ।
जातीय भावना भड्काउन सजिलो हुने भएकाले पश्चिमाहरू यतै पस्छन् । श्रीलंकामा तमिलहरूलाई सुरुमा भारतले उकास्यो र पछि नर्वेले हावा भ¥यो । जब उकास्ने र हावा भर्नेहरू पछि हटे र हटाइए तब तमिलहरूको टेक्ने समाउने ठाउँ कहीँ बाँकी रहेन । तीन वर्षअघि राजदूतहरूको जमघटमा श्रीलंकाली राजदूत थोपासाला हेवागेले भने, ‘एकातिर नर्वेजीयनहरू सरकार र तमिलका बीचमा मध्यस्थता गरिरहेका देखिन्थे भने अर्काेतिर नर्वेबाटै अत्याधुनिक हतियार तमिलहरूलाई सप्लाई भइरहेको थियो । यो थाहा भएपछि यी आइएनजिओ र विदेशीका गतिविधिप्रति हामी धेरै सतर्क भयौँ ।’ विदेशीहरूले यसैगरी उकासेर रुवान्डामा सन १९९४ मा गराएको जातीय नरसंहारमा एक सय दिनमा आठ लाख मानिस मारिए । ‘रोमन क्याथोलिक क्रिस्चियनहरूले रुवान्डामा जातीय घृणा फैलाएर नरसंहार गराएको’ भनी बेल्जियमको अदालतले जुन ८, २००१ मा फैसला गरेपछि मात्र दुनियाले तथ्य छर्लंग बुझे । डिएफआइडी, आइडिया इन्टर्नेसनल, डेनिस चर्च, नर्वे, युरोपियन युनियन, डानिडाहरू जहाँ–जहाँ पसेका छन् त्यहाँ जात–जातमा विभाजित गरेर भिडाइदिने गरेका छन् । ९० को दशकमा रुवान्डामा प्रवेश गरे र त्यहाँ तुत्सी र हुतु जातिलाई विभाजित गरेर भिडाइदिए । जातीय द्वन्द यतिसम्म चर्कियो कि अर्को जातिको छोरीलाई बिहे गर्नेहरूले जातीय निष्ठा जनाउनका लागि पहिला आफ्नै श्रीमतीको हत्या गरे । ‘फस्र्ट गिभ ब्याड नेम, देन किल देम’ भन्ने अंग्रेजी उखानबमोजिम हुतु र तुत्सी एकले अर्कोलाई मान्छे भन्दैनथे, साङ्ला भन्थे । जसरी अहिले कसैलाई अपमानित र तिरस्कार गर्नुप¥यो भने ‘बाहुन’, ‘जनै’, ‘बाहुनवादी’, ‘जनैवादी’ भन्ने गर्छन् । मानौँ बाहुन भन्ने जाति अपराधी जाति हो, यो जातिलाई समाजले घृणा र तिरस्कार गर्छ भन्ने अर्थमा व्यवहार गर्छन् ।
सकारात्मक स्थिति के छ भने जनताले धेरै बुझिसकेका छन् । त्यसैले, यी क्षुद्र नेताहरूले जातीय घृणा फैलाएर विग्रह ल्याउन खोजे पनि सफल हुने छैनन् ।

प्रतिक्रिया