राष्ट्रप्रतिको धम्की

नेपाली कांग्रेसका सभासद् अमरेशकुमार सिंह, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो अहिले यो नेपाल भन्ने राष्ट्रलार्ई टुक्रा–टुक्रा पारी विखण्डन गर्ने र नेपाल भन्ने राष्ट्रको अस्तित्वलाई नै नामेट पारिदिने एक सूत्रीय अभियान बोकेर देशव्यापी दौडाहामा छन् । उनीहरू साउन २७ गते बुधबारका दिन आफ्ना कार्यकर्तालाई तरबार र खुकुरीको भारी बोकाएर कैलालीको टीकापुर पुगेका थिए । उनीहरूले त्यहाँको जनसभालाई सम्बोधन गर्दै, ‘ठ्याक्कै हामीले भनेअनुसार गर्दैनन् भने यो राष्ट्रलाई टुक्र्याइदिने हो । राष्ट्र टुक्र्याउने अभियानमा तपाईंहरूले साथ दिनुहोस् । हामी तपाईंहरूलाई साथ दिन्छौँ’ भनेर आह्वान पो गर्न थाले । तर, राष्ट्रका लागि खुसीको खबर के छ भने, त्यहँँका जनताका लागि त्यो सहिनसक्नु भयो । सम्पूर्ण जनता जागे, ज¥याकजुरुक उठे र तिनीहरूलाई तत्कालै लखेटे । चार दलका शीर्ष नेताहरूले १६ बुँदे सम्झौता गरेको क्षणदेखि नै हाम्रा अमरेशकुमार सिंह दाह्रा किटेर, ‘अब यो राष्ट्र टुक्र्याएर देखाइदिन्छु’ भन्दै बर्बराउँदै हिँडिरहेका थिए । संविधानको मस्यौदा जारी भई जनमत संकलन गर्न लाग्दा अमरेश जनकपुर पुगेका थिए । त्यहाँ पनि राष्ट्रविरोधी अभिव्यक्ति दिन थालेपछि जनकपुरका जनताले, ‘तपाईं पहिला नेका पार्टीबाट राजीनामा दिएर आउनुहोस्’ भनेर लखेटेका थिए । अमरेशले राष्ट्र टुक्र्याउने अभियान चलाएको विषयमा नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीहरूको बैठकमा पनि चर्कै आवाज उठ्यो । सभापति सुशील कोइरालाले ‘कारबाहीका लागि अनुशासन समितिलाई भन्छु’ भने । तर, कारबाहीका लागि उनले अनुशासन समितिलाई निर्देशन दिएनन् । अझ प्रस्ट शब्दमा भनौँ, कारबाही गर्ने आँट, हिम्मत उनले जुटाउन सकेनन् । आँट र हिम्मत जुटाउन नसकेको मात्र होइन, उनीसँग आत्मबल नै थिएन ।
नेपाल राष्ट्रविरुद्ध विष बमन गर्ने तथा देश र जनतालाई धम्क्याउने अभियान भर्खर सुरु भएको होइन । देश र जनताविरुद्ध महन्थ ठाकुरको धम्की आजकाल अलि कम भएको छ । नत्र केही वर्ष अघिसम्म ‘मैले भनेअनुसार हुँदैन भने राष्ट्र टुक्र्याइदिन्छु’ भनेर सबैभन्दा चर्को धम्की उनीबाटै सुन्नुपथ्र्यो । राजेन्द्र महतोले बोल्ने धम्कीको भाषा थोरै फरक छ । उनी भन्छन्, ‘यी पहाडेलाई हामी तराईले अहिल्यै नाकाबन्दी लगाइदिन्छौँ र तराईमा बस्ने पहाडेले हामी तराइयनको अधीनस्थ बस्ने मानसिकता बनाइनुपर्छ ।’
सीके राउत त अझै नून चर्को छन् । उनी, ‘पहाडिया आमा, दिदी, बहिनीहरू सबै रन्डी, वेश्या हुन्’ भनेर तथानाम बोल्छन् । अचम्म के छ भने, उनीहरू कालापानी, सुस्तालगायतका क्षेत्रमा खुलेआम अतिक्रमण भइराखेको विषयमा भने एक शब्द उच्चारण नगर्नेमात्र होइन, सधैँ ढाकछोप गर्छन् ।
उपरोक्त नेताहरू त लाजघीन पचाएर, नांगै र भुतुंगै भएर, निकृस्ट तवरमा र अत्यन्तै फोहोरी लवजमा उत्रिए । तर, लाजको धरो बाँकी रहेका भनिएका नेताहरू पनि राष्ट्रप्रति बफादार देखिएनन् । टनकपुर होस्, महाकाली होस्, कोशी, गण्डकी र अप्पर कर्णाली नै किन नहोस् नेपालको प्राकृतिक स्रोतसाधनको विषयमा विदेशीहरूसँग सन्धि सम्झौता गर्दा राष्ट्रिय हित हेरेको देखिएन । राजा महेन्द्रलाई राष्ट्रवादी नेता भन्छन् । तर, कालापानीमा भारतीय फौज राख्न दिएर लिपुलेक र लिम्पियाधुरासम्मको नेपालको भू–भाग कब्जा गर्न अनुमति दिने तिनै राजा महेन्द्र थिए भनेर अहिले पुष्टि भइरहेछ ।
जसरी कैलाली, टीकापुरका जनता जागे र राष्ट्रका गद्दारहरूलाई लखेटे त्यसैगरी मेचीदेखि महाकालीसम्मका जनता जागेर यी गद्दारहरूलाई कारबाही नगर्ने र यिनै शासक र नेताहरूको भरमा छाड्ने हो भने यो अकिञ्चन राष्ट्र रहने छैन ।

प्रतिक्रिया