बन्दका कारण जनजीवन प्रभावित

Jalaudai-Sambidhanभद्रपुर, ५ साउन । संयुक्त मधेसी लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा आज गरिएको बन्दमा झापामा कुनै पनि लामो तथा छोटो दूरीका सवारीसाधन चलेका छैनन् ।

संविधानको मस्यौदामा सोमबारको सार्वजनिक सुनुवाइ कार्यक्रममा मोर्चाले गरेको शान्तिपूर्ण विरोधमा तराईका धेरै जिल्लामा प्रहरीले बल प्रयोग गरेको कारण मोर्चाले बन्दको आह्वान गरेको हो ।

मोर्चामा संघीय समाजवादी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराई मधेस सद्भावन पार्टी संलग्न छन् ।

मोर्चाले पूर्व झापादेखि पश्चिम कञ्चनपुर जिल्लासम्म बन्द गरेको जनाएको छ ।

उता, विराटनगरमा मोर्चाको आह्वानमा आज बिहानैदेखि अप्रत्यासित रुपमा गरिएको मधेस बन्दको कारण जनजीवन प्रभावित बनेको छ ।

बन्दका कारण विराटनगरबाट सञ्चालन हुने सार्वजनिक यातायातका साधन नचल्नाले सयौँ संख्यामा यात्रु अलपत्रमा परेका छन् ।

बिहानैदेखि बसपार्कमा आएका यात्रु अचानक सवारीसाधन ठप्प भएपछि अलपत्रमा परेका हुन् ।

त्यसै गरी सिरहामा मोर्चाले घोषणा गरेको मधेस बन्दका कारण जनजीवन प्रभावित बनेको छ ।

बिहानैदेखि सिरहास्थित राजमार्ग र अन्य सहायक सडकखण्डमा मोटरसाइकलबाहेकका सवारीसाधन चल्न सकेका छैनन् ।

जिल्लाका बजार, शैक्षिक संस्था, उद्योग कलकारखानालगायत बन्द छ ।

एम्बुलेन्स, प्रेस, कूटनीतिक नियोग, र अन्य अत्याश्यक सवारीसाधन भने चल्न दिएको संघीय समाजवादी फोरम नेपालका युवा नेता विजय यादवले जानकारी दिए ।

बन्दका कारण लहानमा सयौँ ठूला सवारीसाधन जाममा फसेका छन् । यात्रु अलपत्र परेका छन् ।

प्रतिक्रिया