‘प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत’

Ramsharan-Mahatकाठमाडौं, ३० असार । अर्थमन्त्री डा रामशरण महतले देशको अर्थतन्त्रका आवश्यकता सम्बोधन गर्नेगरी आर्थिक पुनःरुत्थान र पुनःनिर्माणमा केन्द्रित रहेर आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएको बताएका छन् ।

अर्थमन्त्री महतले क्षेत्रगत कार्यक्रमभन्दा पनि क्षेत्रीय विकास एवम् आर्थिक सन्तुलनलाई केन्द्रमा राखेर बजेट विनियोजन गरिएको बताए ।

अर्थमन्त्रालयले आज काठमाडौंमा आयोजना गरेको आर्थिक वर्ष २०७२/०७३ को बजेटपछिको छलफलमा उनले मङ्गलबार व्यवस्थापिका–संसद्मा प्रस्तुत बजेटको कार्यान्वयनपछि मुलुकको अर्थतन्त्र विस्तार भई द्रुुत आर्थिक वृद्धिलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

बजेटले क्षेत्रीय आर्थिक सन्तुलनलाई सम्बोधन गरेको उल्लेख गर्दै अर्थमन्त्रीले मधेस–तराई केन्द्रित गरेर बजेटमा कार्यक्रम राखिएको बताए । उनले जनताको आधारभूत आवश्यकता खानेपानी, स्वास्थ्य र शिक्षा र पहाड तथा तराईका सिँचाइका आयोजना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिएको स्पष्ट पारे ।

कृषि विकासलाई प्राथमिकता दिइएको, जलविद्युत्का क्षेत्रमा थुप्रै कार्यक्रम अगाडि बढाइने र सामाजिक सुरक्षालाई पनि ध्यान दिइएको अर्थमन्त्री डा महतको भनाइ थियो ।

बजेटले आर्थिक वृद्धिलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले कार्यान्वयनको पाटोलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

अर्थमन्त्री डा महतले भने, ‘प्रशासनिक तथा प्राविधिक क्षमताले भ्याएसम्म महत्वपूर्ण योजनाका लागि स्रोतको कमी हुँदैन, तर कार्यान्वयनलाई भने गति दिनुपर्छ ।’

योजना समयमै सम्पन्न गर्ने कार्यमा कर्मचारी सरुवाले प्रभाव पार्ने भएकाले त्यसलाई सुधार गर्नुपर्ने बताउँदै उनले राष्ट्रिय गौरवका आयोजनामा प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत तोकिने र ८० प्रतिशत काम सम्पन्न गर्नेलाई पुनःनियुक्ति दिने व्यवस्था गरिएको बताए ।

आव सुरु भएकै दिनदेखि बजेट कार्यान्वयनको अख्तियारी दिइएको र बजेट विनियोजनपछि कार्यक्रम स्वीकृत गर्न राष्ट्रिय योजना आयोग जान नपर्ने व्यवस्था गरिएकाले आगामी आवमा पुँजीगत खर्चमा वृद्धि हुने डा.महतको भनाइ थियो ।

प्रतिक्रिया