रुझेरै ज्ञापन

काठमाडौं, २२ असार । सार्वजनिक लाभको पदबाट २०५९ सालदेखि विमुख भए पनि सानदार पजेरोमा चढेर यात्रा गर्ने कांग्रेस नेता खुमबहादुर खड्का सोमबार माइतीघर मण्डलादेखि मुसलधारे पानी परिरहँदा जुलुस लिएर अघि बढे ।

माइतीघरदेखि नयाँ बानेश्वरस्थित संविधानसभा भवनसम्म पैदलयात्रा गरी सभाध्यक्ष सुवास नेम्बाङलाई भेट्न संविधानसभामा प्रवेश गरे । पूर्वसभामुख तारानाथ रानाभाट र कांग्रेसकै पूर्वप्रमुख सचेतक लक्ष्मण घिमिरेलाई दायाँ–बाँया राखेर सभामुख भेट्न पुगेका उनले अधिवक्ता कुमार रेग्मीलाई संविधानमा गएका तर हटाउनै पर्ने विषयबारे जानकारी गराउन निर्देशन दिए ।
रेग्मीले प्रस्ट भाषामा भने ‘संविधानमा धर्म निरपेक्षता हटेन भने देशमा अर्को द्वन्द्व हुन्छ, त्यसकारण मस्यौदाबाटै त्यसलाई हटाउनु पर्‍यो ।’ उनले संविधानको धारा ४ (१) बा धर्म निरपेक्षता शब्द हटाउन माग गरे र मौलिक हकमा राखिएको धर्म परित्याग गर्ने अधिकार हुनेछ भन्ने प्रावधान पनि हटाउन माग गरे ।
‘संविधान भनेको आम नागरिकको आस्था र विश्वासको धरोहर हो,’ ज्ञापनपत्र पढ्दै रेग्मीले भने, ‘जनताको आस्था र विश्वासविपरीत जाँदा विश्वका धेरै राष्ट्र बर्बादीमा फसेका उदाहरण छन् ।’ ज्ञापनपत्रले संविधानसभामा नेपाली जनताको विश्वास र आस्थाका विषयमा जनताले निरन्तर उठाएको सवालको अवहेलना भइरहेको पनि अरोप लगाइएको छ ।
ज्ञापपत्र बुझेपछि बोल्दै सभाध्यक्ष नेम्बाङले ज्ञापनपत्रको भावनालई संवाद समितिसम्म पु¥याउने आश्वासन दिएका छन् । उनले संविधानको प्रारम्भिक मस्यौदा जनताको प्रतिक्रियाकै लागि सार्वजनिक गरिएको भन्दै ध्यानाकर्षणका लागि धन्यवाद दिए । उनले संविधानका विषयमा आफ्ना सुझाव जनतामा जाँदा सभासद्मार्फत पठाउन पनि सुझाए ।
‘प्रारम्भिक मस्यौदा केही दिनभित्र जनताको प्रतिक्रियाका लागि जाँदै छ,’ नेम्बाङले भने, ‘त्यहाँबाट आउने सुझावहरू संविधान निर्माणका लागि महत्वपूर्ण हुन्छन् ।’ उनले यसो भनेर जनतामा जाने सभासद्मार्फत नै सुझाव ल्याउन अप्रत्यक्ष रूपमा आग्रह गरे ।
बिदा हुँनै लाग्दा सभाध्यक्ष नेम्बाङले हिन्दूराष्ट्र अभियान्ताहरूलाई भने, ‘आज पानी पर्‍यो लक्षण ठीक हो कि कसो ?’ अभियान प्रमुख खुमबहादुर खड्काले तत्काल जवाफ फर्काउँदै भने, ‘हाम्रो अभियानले महादेव खुसी हुनुभएको छ ।’

प्रतिक्रिया