शब्दयात्राद्वारा चार स्रष्टा सम्मानित

काभ्रे, ११ असार । शब्दयात्रा प्रकाशनले राष्ट्रिय गजल सम्मानबाट वरिष्ठ गजलकार बुँद रानालाई, नन्दिकेश्वर अधिकारी शोध सम्मानबाट वरिष्ठ बालसाहित्यकार गोपाल पराजुलीलाई, शब्दयात्रा सिर्जना सम्मानबाट ‘विश्वेश्वर महाकाव्य’ का लागि अनन्त कोइरालालाई र प्रशासनिक महिला प्रतिभा सम्मानबाट उपराष्ट्रपतिको कार्यालयका उपसचिव शैलजा रेग्मी भट्टराईलाई सम्मानित गरेको छ ।

नेपाली गजललाई नेपाली जीवनसँग गाँसेर परिस्कारसमेत गरी जीवनलाई गजलको विषयवस्तु बनाएर प्रस्तुत गर्नुभएकोमा बुँद रानालाई सम्मान गरिएको हो भने नन्दिकेश्वर अधिकारीका साहित्यिक सन्ततिहरूका विषयमा लेखन तथा प्रकाशन कार्य गर्नुभएकोमा गोपाल पराजुलीलाई सम्मान गरिएको आयोजकले बताए । त्यसैगरी बिपी कोइरालाको जीवनी र योगदानमा आधारित ‘विश्वेश्वर’ महाकाव्यका लागि अनन्त कोइरालालाई र प्रशासनिक क्षेत्रमा रहेर पनि साहित्यिक सिर्जना गर्नुभएकोमा शैलजा रेग्मी भट्टराईलाई सम्मानित गरिएको हो ।
रुक्मिणी सिग्देल, हरि मञ्जुश्री, शब्दयात्रा प्रकाशन र उर्मिला श्रेष्ठ भोजपुरेद्वारा आर्थिक व्यवस्थापन गरिएको सो सम्मानबाट गतवर्ष ज्ञानुवाकर पौडेल, राजेन्द्र विरही, सुनील सापकोटा तथा उषा दीक्षित सम्मानित भएका थिए । सो सम्मान कार्यक्रममा साहित्यकार पोष चापागाईंद्वारा लिखित ‘समुद्रमा संगीत’ (नियात्रासंग्रह) र रामगोपाल वरुणद्वारा लिखित ‘विगततिर नियाल्दा’ (आत्मसंस्मरण) पनि सार्वजनिक गरिएको छ ।
सार्वजनिक गरिएको कृति ‘समुद्रमा संगीत’ का विषयमा साहित्यकार इल्या भट्टराईले र ‘विगततिर नियाल्दा’ का विषयमा वरिष्ठ पत्रकार डिल्लीराम निर्भीकले समीक्षा गरेको थिए ।
प्रकृतिप्रतिको चेतना र संवेदना प्रकट भएको ‘समुद्रमा संगीत’ मा नियात्राकार पोष चापागाईंले पूर्व–दक्षिणका तीन देशमा भएका यात्राका जीवन्त दृश्य खिचेर जीवनका भोगाइ र त्यसबाट निस्किएको जीवन–दर्शनको सार प्रस्तुत गर्नुभएको छ ।
त्यस्तै ‘विगततिर नियाल्दा’ मा इन्जिनियर बनेर तीस वर्षसम्म सडक विभागमा कार्यरत रही अवकाश लिनुभएका रामगोपाल वरुणले आत्मसंस्मरणको शैलीमा उहाँले देखेका धुलिखेल, नेपालको कर्मचारीतन्त्र, तत्कालीन सोभियत संघ, युरोपीय मुलुकहरू र अमेरिकाको अक्षरचित्र जीवन्त रूपमा उतारेका छन् । ‘समुद्रमा संगीत’ पोष चापागाईंको छैटौँ नियात्रासंग्रह हो भने ‘विगततिर नियाल्दा’ रामगोपाल वरुणको पहिलो साहित्यिक कृति हो । प्राडा जयराज आचार्यले उक्त सम्मान हस्तान्तरण गर्दै पुस्तक सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया