एमाले नेतृत्वलाई खेलकर्मीको प्रश्न

manoj-ghimireमहाभूकम्पको मनोवैज्ञानिक असर अझै सकिएको छैन । धेरैलाई त्रास छ । यसको प्रभाव अझ लामो समयसम्म रहिरहने नै छ । यसबीचमा खेलकुदका गतिविधि ठप्प छन् । तर पनि वर्तमान सदस्य सचिव युवराज लामाको पदावधि सकिनै लागेका कारण नयाँ सदस्य सचिवको भने चर्चा सुरु भएको छ ।
नेपाली समाजमा एउटा चरित्र छ– बिहान उठ्नेबित्तिकै बालावुटार, बालकोट, डल्लु बढानीलकण्ठ र कोटेश्वर पेरिसडाँडा जस्ता दरबारको दर्शनमा जाने र यसैको आधारमा मुलुकका हरेक क्षेत्रमा आफ्नो बोलवाला रहनुपर्छ भन्ने मान्यता राख्ने । त्यो चरित्रको एउटा ठूलो जमात छ । त्यसै जमातमा न कुनै विषयको विशेषज्ञता छ न त काम गरेर खाने जाँगर छ । दरबार धाएको भरमा शासक हुन पाउनुपर्छ भन्ने यिनीहरूको जीवनको आदर्श हो । ती दरबार धाएर दरबारकै आशीर्वादमा कुनै क्षेत्रको शासक बन्ने र त्यहाँको लाभमा मोजमस्तीको दुनियाँमा प्रवेश गर्नेहरू समय–समयमा विभिन्न लाभमा भौतारिनु स्वाभाविकै हो । सम्बन्धित विषयको ज्ञान नभए पनि शासक बन्ने चाहना राख्ने ती चरित्रका व्यक्तिहरूको ध्यान अहिले खेलकुद क्षेत्रमा मोडिएको छ ।
जेठ महिनाको अन्त्यमा लामाको पदावधि सकिएपछि युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व एमालेले सम्हालेका कारण एमालेकै कार्यकारी प्रमुख हुने लगभग निश्चित छ । पुरुषोत्तम पौडेल मन्त्री हुनेबित्तिकै सदस्य सचिव बन्न आतुर नामहरू यसपटक पनि सदस्य सचिवको पहल गर्ने छन् । यो पनि निश्चित हो– यस बीचमा भ्रष्टाचारमा डुबेर आरोपित भएका, कानुनी फन्दामा परेका र मेनेजर भएर विदेश जाँदा खेलाडी भागेका कसैलाई पनि किञ्चित लाज र सरम लाग्ने छैन ।
२०६४ मा बुटवलमा भएको एमालेको नवौँ महाधिवेशनमा तत्कालीन निजगढ गाउँ पञ्चायतका ‘जनपक्षीय’ प्रधानपञ्च पुरुषोत्तम पराजित भएका थिए । त्यसै समयमा एमाले अध्यक्षमा निर्वाचित झलनाथ खनालका प्रिय पात्र पुरुषोत्तमका लागि जाने कतै ठाउँ थिएन । खनालको निगाहमा खेलकुद महासंघ गठन भएको थियो र यसको नेतृत्व पौडेलले गरेका थिए । स्थापनाको सुरुवातदेखि नै यो संगठन पार्टीका खेलकर्मीलाई संगठित गर्नेतर्फ अग्रसर भएन । पौडेल नेतृत्व भनेको दरबार धाउने बानी परेका चाकडीवाजहरूले खेलकर्मीलाई हतोत्साही गराउने र तह लगाउने अस्त्रको रूपमा परिचित भयो । युवासंघको अधिवेशनदेखि अखिलको अधिवेशनमा पराजित हुनेसम्मका लागि यो संगठन डम्पिङसाइट बन्यो ।
खेलकर्मीको दिमागमा गोबर भरिएको छ भन्ने सोच राख्ने त्यो समूह ‘नीति बनाउन त राजनीतिक मान्छे चाहियो’ भन्ने कुतर्कमा व्यस्त रह्यो । ती हरेक खाले व्यक्तिले बनाउने नीति कस्तो हुन्छ भन्ने कुरा यसबीचमा बारम्बार देखिएको छ । उनले नै आयोजना गरेको पत्रकार सम्मेलनलाई आधार मान्दा संगठनका महासचिव लामा टेन्डी शेर्पालाई कति सुन बोकेर हिँड्न वैध हुन्छ भन्ने थाहा रहेनछ । संगठनका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष केशव विष्टलाई मेनेजर बनेर विदेश भ्रमण गर्ने रहर रहेछ । तर, उनलाई पनि खेलाडीको जिम्मेवारी मेनेजरको हो भन्ने थाहा रहेनछ । एसियाडमा उनले प्रतिनिधित्व गरेको सेपाकटाक्राकै खेलाडी भागे । उपाध्यक्ष विनोद मैनाली त क्रिकेट संघको भ्रस्टाचार प्रकरणमा बर्खास्त नै भइहाले । उपाध्यक्ष मोहम्मद समिउल्लाहलाई एन्फाको अडिट रिपोर्ट फिफालाई नै चित्त नबुझेर प्रतिबन्धित भएको थाहा रहेनछ । उनी सुगा रटाइ रट्दैछन्, ‘गणेश थापा नै फुटबलमा चाहियो’ भनेर । यी देखिएका प्रश्न हुन् । नेपाली खेलकुदमा चासो राख्नेका सामु उत्तर खोजिने थुप्रै प्रश्न छन् ।
गणेश थापाले एन्फामा पत्रकार सम्मेलनको आयोजना गरेर आफू निस्क्रिय भएको घोषणा गरे । त्योभन्दा अघि उनी एमाले मुख्यालयमा कसलाई भेट्न गए ? कुन प्रयोजनले गए ? यो प्रश्नको जवाफ आम खेलकर्मीले सोध्ने नै छन् । लेखा समितिले चिठी अघि बढाइसकेपछि पनि मन्त्रालयले एन्फाको प्रक्रियालाई अघि बढाउन किन आनाकानी ग¥यो ? नर्वेको चेस ओलम्पियाडमा मन्त्री पौडेल जान किन आवश्यक पर्‍यो ? मन्त्राणीलाई कति देशमा भ्रमण गराइयो ? खेलकुदमा यस्तै नीति सिकाउन खेलकर्मीलाई बेवास्ता गरिएको हो ?
नर्वे ओलम्पियाडमा टोली नेता भएर जाँदा एउटा खास खेलाडीलाई नखेलाउन भनेर संस्थापन पक्षले सर्कुलर गर्दा मन्त्री पौडेल कहाँ थिए ? उनको निकट पात्र भएकै कारण नर्वे पुग्नेको भूमिका के थियो ? बजेट बनाउँदा बारालाई कति छुट्याइयो र अन्यलाई कति ? यस्ता सैयाँै प्रश्न उब्जिएका छन्, खेलकुद महासंघका अध्यक्ष भएका कारण मन्त्री भएका पुरुषोत्तम पौडेलका बारे । खेलकुद महासंघले एक वर्षभन्दा अघि तय गरेका र छलफल गरेका नामहरू भ्रष्टाचारी र कानुन नमान्ने भनेर धेरै हदसम्म चिनिएकै छन् । त्यसो त खेलकुद महासंघको आधिकारिक उम्मेदवार भएर भलिबल संघका अध्यक्ष भएका दानबहादुर तामाङको भूमिका कस्तो रह्यो ? लामा टेन्डी शेर्पा परिषद् उपाध्यक्ष भएपछि उनको भूमिका कस्तो रह्यो ? एमाले मुख्यालयले यी कुनै पनि विषयको जानकारी नराखी आगामी परिषद् बोर्डमा खेलकुद महासंघको सिफारिसलाई मात्र अधार मान्नु भनेको परिषद्लाई नै भ्रष्टाचारीको क्रीडास्थल बनाउनु हो कि होइन ?
लोकतान्त्रिक कुरा गर्ने यो समूहको महासम्मेलन कसरी भएको थियो भन्नेबारे धेरैलाई थाहा नहुन सक्छ । उम्मेदवार नराखी मत गणना गरेर आम खेलकर्मीलाई पत्तासाफ गराउँदै चाटुकारको जमात बनाउन खोजेको हो कि होइन ? खेलकुद महासंघको महासम्मेलनको अन्तिम समयमा सैयौँ प्रतिनिधि कसरी थपिए ? यसरी बनाएका र जिम्मेवारी पाउनेको खेलकुदमा भूमिका के रह्यो ?
नेपाली खेलकुदमा थुपै्र व्यक्तिले खेलकुद मन्त्रालय सम्हाले, कसैलाई पनि खेलकुदका बारे जानकारी थिएन । तर, पुरुषोत्तम पौडेलको यथार्थ भने अर्कै रह्यो । बुटवल महाधिवेशनपछि खेलकुदको पहिलो कक्षामा भर्ना भएझैँ भएका उनी पाँच वर्षपछि जीवन नै खेलकुदमा बिताएका मास्टरका सामु पण्डित्याइँ छाँट्न थाले । करातेका मास्टरलाई कराते, तेक्वान्दोका मास्टरलाई तेक्वान्दो र मौका मिले फुटबलका मास्टरलाई फुटबल सिकाउन यिनी अग्रसर भए ।
अदालतमा कैयाँ मुद्दाको सामना, धेरैमा हार । ठूला कुरा गर्ने र खेलकुदका बारमो कुनै जानकारी नराख्ने, अनुदार मन्त्रीसँग अहिले त्यस्तै खाले चाटुकारको झुन्ड छ । त्यो झुन्डमा पौडेल थरधारी होलान् अथवा बाराका धेरै होलान् । विभिन्न समयका भ्रष्टाचारमा मुछिएकाहरू छन् । खेलकुदको अन्तर्राष्ट्रिय रेफ्री भए पनि आफ्नो हैसियत बिर्सिएर यसै खाले चाटुकारितामै रमाउने पनि कोही हुन सक्छन् । त्यो चाटुकारको जमातबाट खेलकुदलाई मुक्त पार्ने कि नपार्ने भन्ने प्रश्न एमाले मुख्यालयसामु तेर्सिएको छ । पछिल्लो १५ महिना मन्त्री पौडेल र एउटा झुन्डले खेलकुदलाई कसरी तहस नहस बनायो ? समीक्षा गर्न जरुरी छ कि छैन ? सायद यो पार्टीलाई अलिकति पनि खेलकुदको माया छ भने भ्रष्टाचारी र अनुदार व्यक्तिको यो समूहलाई मात्र काखी च्याप्ने छैन ।

प्रतिक्रिया