नवनिर्माण कि पुनर्निर्माण ?

salikram-timalsinaवि.सं. २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि पुनर्निर्माण कि नवनिर्माण भन्ने बहस चलिरहेछ । विदेशी दाताराष्ट्रहरू, संस्थाहरू र व्यक्तिहरूले हामीहरू नयाँ र आधुनिक भवनहरू बनाइदिन्छौँ भनिरहेछन् । नेपाली बौद्धिकवृत्तले सरकारी नोकरशाहहरूलाई अब नयाँ बस्तीहरू बसाइनुपर्छ भन्ने सुझावहरू दिइरहेछ । मलाई लाग्छ यी सबै विषय, अठोट र सुझावहरू बेअर्थका छन् । किनकि नयाँ भवनहरू र नयाँ बस्तीहरू आजीविकाको खास किसिमको ढाँचासँग गाँसिएका हुन्छन् । मान्छेहरू त्यो ढाँचाको परिधि बाहिर रहेर बाँच्न सक्दैनन् । उदाहरणका लागि लेकाली बस्तीका आममान्छेहरू जो लेकाली खर्कहरूमा भेडा र चौँरी पालेर जीविका चलाइरहेका हुन्छन् उनीहरू पहाडको फेदमा रहेको बेँसीमा नवस्थापित बस्तीहरूमा बसोबास गरेर टिक्न सक्दैनन् । जसले लेकाली आवहवामा प्राप्त हुने अन्न, तरकारी, फलफूल मासुबाट पोषण प्राप्त गरिरहेका वा गुजारा चलाइरहेका हुन्छन् । तिनीहरूलाई नवनिर्मित बस्तीहरूले कि त ती चीजहरू उपलब्ध गराउन सक्नुपर्छ कि त तिनीहरूको विकल्प दिन सक्नुपर्छ । यदि उनीहरूले यी दुवै अवस्थाबाट वञ्चित हुनुपर्छ भने नयाँ बस्तीहरूमा विकट ग्रामका गरिब पीडितहरू स्थानान्तरित हुने छैनन् । बेलायतको नजिकै रहेर पनि ग्रिनल्यान्डका एस्किमोहरू किन सम्पूर्ण रूपमा युरोपतिर पलायन नभएका होला् त ? भूकम्पपीडितहरूलाई बाटो, सडक, पानी, बिजुली आदि उपलभ्य स्थानहरूमा स्थानान्तरित गर्ने कार्य बिरालोले बच्चा सारेजस्तो प्रक्रिया होइन । जीविकाजन्य प्रक्रिया हो । ठूलो संख्यामा हुने मावनसमाज स्थानान्तरणहरू युगप्रभावी देखिन्छन् । दासयुगमा ठूलो संख्यामा दासहरूको स्थानान्तरण हुन्थ्यो र नयाँ बस्तीहरू निर्मित हुन्थे । जबजब औद्योगिकीकरण फल्दैफुल्दै गयो तबतब आजीविकाका विकल्प र स्रोतहरू फराकिला हुँदै गए, बढ्दै गए । तबतब नयाँनयाँ बस्तीहरू विश्वमा देखापर्दै गए र मान्छेहरूको स्थानान्तरण त्यही गतिमा सम्पन्न भयो । पुरानो सामान्ती ढाँचामा उर्बर खेतबारीको खोजीमा मानिसहरू स्थानान्तरित हुन्थे भने पुँजीवादको आगमनपश्चात् औद्योगिकीकरणको अधीनस्थ हुँदै नयाँ बस्तीहरू विकसित भएका छन् । मुगलिङ र दाउन्नेका बस्तीहरूको विकास के कुनै कल्पना आश्रित विकास हो र ? हेटौँडा, बुटबल र धरानहरूको विकास पनि यही प्रक्रियाअन्तर्गत भएको हो र थियो । यी सबै स्थानान्तरणका घटनामा आजीविकाको प्रश्न केन्द्रीय प्रश्नका रूपमा रहिआएको देख्न सकिन्छ ।
हामी देख्न सक्छौँ कि कुनै अधिशासकीय आदेशहरूले मान्छेहरूलाई स्थानान्तरित गर्न सक्दैनन् । मान्छेको वासस्थान, खेतबारी, वनजंगल र पानीका स्रोतहरूसँग आजीविकागत सम्बन्ध हुन्छ । स्रोतहरू एकातिर र बस्ती अर्कोतिर हुन सक्दैनन् । बस्तीहरू वा घरहरू भनेका स्रोत र पेटलाई एकीकृत गर्ने स्थान हुन् । पेटलाई अलग्याएर नयाँ बस्ती विकासको कुरा राम्रो र आदर्श कुरा हो तर त्यो चन्द्रमामा बस्ती बसाल्ने कुरा जस्तै युटोपियाइ कुरा हो ।
औद्योगीकृत समाजमा वासस्थान एकातिर स्रोतहरू अर्कोतिर हुन सक्छन् । हामीले आदर्श निर्माणहरूद्वारा मान्छेहरूलाई सपनाको हेलिकप्टर चढाएर उनीहरू उभिएको भुइँबाट अलग्याइदियौँ भने उनीहरूको स्रोतहरूसँगको आदानप्रदान टुट्छ । यसले अर्को खालको गरिबी ल्याउँछ । ग्रामीण समाजमा मान्छेहरू घरमा कम र खेतबारी, वनजंगल आदिमा बढी बस्ने गर्दछन् । यसरी हेर्दा ग्रामीण स्थलहरूमा घर गौण सम्पत्ति हो । स्रोतहरूचाहिँ प्रधान सम्पत्तिहरू हुन् । यसर्थमा आजीविकाको यसखाले ढाँचामा मानिसहरू स्रोतमा आश्रित हुन्छन् तर सहरको घर प्रधान र गौण दुवै खाले सम्पत्ति हो । त्यो स्रोत पनि र आश्रयस्थल पनि हो । त्यसकारण सहरहरूमा नयाँ बस्तीहरूको निर्माण गर्ने कुरा आकर्षक र सही कुरा हो । त्यसैले ग्रामीण बस्तीहरूमा अब हुने भनेको पुनर्निर्माण नै हो नवनिर्माण होइन तर सहरमा चाहिँ नवनिर्माण हुनसक्छ ।
तब प्रश्न उठ्छ कस्तो किसिमको पुनर्निर्माण सफल होला । कुरा प्रष्ट छ ः त्यो स्थानीय श्रम, सीप र कच्चापदार्थमा आधारित हुनेछ । त्यसमा आधुनिक चेतनाको मिश्रण आवश्यक छ । त्यस्तो पुनर्निर्माणमा स्रोत स्थानीय किमिसका र दृष्टिकोण आधुनिक भएमा त्यो सही हुन सक्छ । यस्तो पुनर्निर्माण जसले मानिसहरूलाई परमुखापेक्षी र परावलम्बी नबनाओस् । यो विनाशकारी भूकम्पपछि हुने पुनर्निर्माणमा स्थानीय स्रोतहरूको प्रयोग हुने दुई/तीनथरिका मोडेल अपनाउन सकिन्छ । जसले आजीविकाको परम्परागत ढाँचामा सुधार ल्याओस् । पुरानोसँग पूर्णरूपमा सम्बन्धविच्छेद नगरोस् र स्थानीय तागतलाई प्रयोग गरोस् ।
यो त्रासदीलाई अवसर ठान्नेहरू पनि केही छन् । यत्रो दिनसम्म पनि भग्नावशेषहरूबाट लासहरू झिक्न सकिएको छैन अनि यो कसरी अवसर हो ? स्वजनहरूसँगको बिछोडको पीडाले मानिसका आँसु सकिएका छन् र ? घाइतेहरू नारकीय तरिकाले बाँचिरहेका छन् यस्तो अवस्थालाई कसरी अवसर भन्नु ? यो त सरासर कुअवसर हो । धनसम्पत्तिको त्यत्रो क्षति र अन्ननष्ट भएको यो कुअवसर हो, यति हुँदाहुँदै पनि यसले मान्छेको परम्परागत ढाँचा र सोचाइमा केही सुधार ल्याउनेछ । जमिनझैँ केही माथि उठ्नेछन् र केही धर्तीको गर्भगर्भमा भासिनेछन् ।
पुनर्निर्माणको चर्चाले बाँचेकाहरूमा केही आस जगाएको होला तर त्यसको गति सुस्त हुने कुरा पक्का छ । भान्से थोरै र थाल थाप्ने धेरै भएको यहाँ भाँडाको भात थोरै र थालहरू धेरै भएपछि वितरणको कार्य ढिलै हुन्छ तर मान्छेहरू व्यग्र र तीव्र आसमा छन् ।
यो विनाशकारी भूकम्प एउटा कारणले भने अवसर हो । यसले पैसा कमाएर घर जोड्ने र तला थप्ने प्रवृत्तिलाई निरुत्साहित गर्नेछ । अनि त्यो पैसा उत्पादक कार्यमा, सिर्जनात्मक कार्यमा वा औद्योगिक क्षेत्रतर्फ प्रवाहित हुन सक्दछ । जसले समाजलाई समृद्धिको बाटोतर्फ अघि बढ्न सहयोग गर्दछ ।
हुन त ९० सालको भूकम्पले मान्छेमा नवचेतना ल्यायो र राणाशासन ढल्यो भन्नेहरू पनि छन् तर मलाई त्यस्तो लाग्दैन । मक्किएको यो समाज व्यवस्थामा कुनै परिवर्तन अहिल्यै आइहाल्ने देखिँदैन । यसले राष्ट्रको प्राथमिकताका सूचीमा केही परिवर्तन ल्याइदिनेछ । राजधानीजस्तो व्यापारको केन्द्रमा आएको मन्दी, बिमा र बैंकहरूमा परेको दबाब, घरजग्गाको कारोबारको ढाँचामा परिवर्तन, बसाइसराइ आदिजस्ता क्षेत्रहरूमा परेको प्रभावले देशको मूल ढाँचामा केही भए पनि परिवर्तनहरू अवश्यै ल्याउनेछ । मान्छेले प्रकृतिविरुद्धको संघर्षकै क्रममा आफूलाई अघि बढाएको हो । यस्ता हरेक संघर्षको अन्त्यपछि मान्छेमा ठूलो परिष्कृति देखापरेको पाइन्छ । मान्छेले पाइलैपिच्छे सिकिरहेको हुन्छ । नेपालले पनि सिकिरहेको छ । आशा गर्न सकिन्छ । मान्छेको जिउने शैली र सोचमा निःसन्देह परिवर्तन आउनेछ र त्यो सकारात्मक हुनेछ ।
काठमाडौं उपत्यकाका प्राचीन बस्तीहरू जहाँ नेवार समुदायको घनत्वयुक्त बसोबास थियो, त्यहाँ भूकम्पले घोर आक्रमण गरेको छ र ती बस्तीहरू लगभग विघटनको स्थितिमा पुगेका छन् । देशमा बढेको आधुनिकीकरणसँगै खुलेका रोडहरूले जुन मात्रामा रोड वरपरका पहाड र तराईका एकै जात र थर भएका कटुम्बीय बस्तीहरूलाई विघटित गरी सडकछेउका मिश्रित बस्तीहरूमा रूपान्तरण गरेको थियो र मिश्रित संस्कृतिको निर्माण गरेको थियो । त्योभन्दा ठूलो मात्रामा पुरानो र गुजुमुज्ज परेका बस्तीका बासिन्दाहरू विकेन्द्रित हुने र मिश्रित समुदायहरूको निर्माण हुने सम्भावनालाई यसले बढाइदिएको छ । यसको अर्थ हो पुरानो संस्कृतिमा परिवर्तन र जातीय अन्तरमिश्रणको सम्भावनामा वृद्धि । अहिले नयाँ घरहरू बनाउने र नयाँ बस्तीहरू बसाइने जुन कुरा गरिँदै छ त्यहाँ पनि यदि त्यो साकार भयो भने पुरानो एकीकृत संस्कृतिको विघटन र मिश्रित संस्कृति निर्माणको घटना घटित हुनेछ । यी सबै भनाइहरूको अर्थ भूकम्पपछि मध्यनेपालको जनजीवन तीव्र परिवर्तनको बाटोतर्फ उन्मुख छ ।

प्रतिक्रिया