गत साउन १९ गते भक्तपुरमा एक महिलाले आफ्नो छोरालाई नागरिकताको प्रमाणपत्र दिन नसक्दा झुन्डिएर आत्महत्या गरिन् । श्रीमान भागेर जापान गएपछि उनले १८ वर्षीय छोरालाई आफ्नो नाममा नागरिकताको प्रमाणपत्र दिन नसकेका कारण आत्महत्या नै गर्नुपरेको थियो । त्यस्तै सोलुखुम्बुमा जन्मिएका दुई दिदीबहिनी शर्मिला र लक्ष्मी लामाले पनि नागरिकताको प्रमाण पत्र पाएका छैनन् । शर्मिला आमाको पेटमा भएकै बेला उनका बाबु मंगलबहादुर लामा काठमाडौं आएका थिए । काठमाडौं आएपछि परिवारसँग उनको सम्पर्क भएन । उमेर पुगेपछि शर्मिला र लक्ष्मी दुवैले नागरिकता बनाउन खोजे । लामोसमय सदरमुकाम धाउँदा पनि उनीहरूले आमाको नाममा नागरिकताको प्रमाणपत्र पाउन सकेनन्् । नेपालको अन्तरिम संविधानको धारा ८ को उपधारा २ मा आमा वा वाबु नेपाली नागरिक भए तिनका सन्तानले वंशजको आधारमा नागरिकता पाउँछ भनिएको छ तर व्यवहारमा बाबु नभए आमाको नामबाट मात्र नागरिकता दिइँदैन । नागरिकता दिनका लागि बाबुको नागरिकता वा बाबु नै उपस्थित हुनुपर्दछ । श्रीमान बेपत्ता भएका, सम्बन्ध बिच्छेद भएका, दोस्रो विवाह गरेको तर पहिलो श्रीमानबाट बच्चा भएको अवस्थामा आमाको नामबाट नागरिकता पाउन नसकेका थुप्रै मुद्दा अदालतसम्म पनि पुगेका छन् ।
नयाँ बन्ने संविधानमा आमा र बाबु राख्ने भनी मस्यौदा तयार भएको भनिएको छ । आमा र बाबु दुवै जना अनिवार्य गरिएपछि नागरिकताविहीन नौ लाख बालबलिकाले नागरिकता पाउन सक्ने छैनन् । व्यवस्थापिका संसदमा विवाद नभएको विषय मानिएको यो विषयमा केही समय अगाडि ठूलै बहस चलेको थियो । ‘महिलाको विषय त हो नी’ भनेर खासै चासोका रूपमा नलिएको भए पनि सर्वत्र बहसपछि प्रमुख दलका शीर्ष नेता, सरकारका मन्त्री एवं प्रधानमन्त्रीले समेत आगामी संविधानमा आमा वा बाबु राखिने प्रतिवद्धता जनाइसकेका छन् तर यो विषयमा अभैm पनि छलफल चलाइएको छैन । अन्तरिम संविधानमा व्यवस्था भएको भन्दा फरक ढंगले अघिल्लो संविधानसभाको सम्बन्धित समितिले सो व्यवस्था कसरी प्रस्तुत ग¥यो भन्ने विषयमा महिला अधिकारकर्मी मात्रै हैनन्, महिला नेतृहरूबीचमै मत विभाजन भइरहेको छ । नागरिकताको प्रमाणपत्र लिनका लागि अब बन्ने नयाँ संविधानमा आमा र बाबु भन्ने व्यवस्था हुने हो भने आमा र बाबु नागरिकताका लागि अनिवार्य हुनुपर्नेछ । नागरिकता हरेक व्यक्तिको पहिचान हो । नागरिकताको प्रमाण पत्र बेगर राज्यको नागरिक बन्न सक्दैन भने उसले राष्ट्रियताको पक्षमा वा राष्ट्र विकासको पक्षमा के योगदान गर्न सक्छ ।
आमाको नाममा नागरिकता भन्ने बित्तिकै महिलाको विषय भनेर पन्छ्याइन्छ । तर, नागरिकता महिलाको मात्रै विषय होइन । आमाको नाममा नागरिकता नपाउनेमा पुरुष नै बढी छन् । छोरीलाई त विवाह गरेपछि श्रीमानको नाममा नागरिकता लिन सजिलोे छ । छोराहरू उमेर पुगेपछि नागरिकताविहीन भएर बस्न बाध्य छन् । नेपालको अन्तरिम संविधान २०६३, नेपाल नागरिकता ऐन र नियमावली २०६३, नागरिकता जारी गर्ने निर्देशिका २०६३ र २०७० महिलाप्रति विभेदपूर्ण छ । कानुनमा भएको सकारात्मक व्यवस्था पनि कार्यान्यवन हुन नसक्दा आफ्नो र छोराछोरीको पहिचान दिने सवालमा महिलाले दोहोरो समस्या भोग्नु परिरहेको छ । विवाह गरेपछि अंश माग्ने अधिकार पाउने भनेर श्रीमानले श्रीमतीलाई नागरिकता बनाइदिँदैनन् भने विवाह दर्ता पनि गरिदिँदैनन् । श्रीमानले छोडे, मृत्यु भयो वा अर्को विवाह गरे भने ती महिलाले आफ्नो नाममा सन्तानलाई नागरिकता दिन सक्दैनन् ।
महिला, कानुन र विकास मञ्चको २०६९ को अध्ययन अनुसार १६ वर्ष उमेर माथिका नेपालको जनसंख्यामध्ये २३.६५ प्रतिशत व्यक्तिसँग नागरिकताको प्रमाणपत्र नभएको देखाएको छ । २०६८ असार मसान्तसम्ममा आमाको नामबाट एक सय २८ जनाले मात्र नागरिकता प्राप्त गरेका छन् । त्यही पनि लामो प्रयास र मुद्दा जितेपछि मात्रै सम्भव भएको देखिएको छ । बाबु २०५० सालदेखि बेपत्ता रहेका काठमाडौं चाल्नाखेलका भोला र शान्ति नगरकोटीले आमाको नाममा नागरिकता नदिएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरे । २०७० चैत १० गते दायर गरेको मुद्दाको पैmसला गर्दै सर्वोच्चले तत्काल आमाको नाममा नागरिकता दिन जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई परमादेश जारी गरेको थियो ।
न्यायाधीश सुशीला कार्की र प्रकाश वस्तीको संयुक्त इजलासले नेपालको अन्तरिम संविधानमा आमा र बाबुलाई समान अधिकार दिएको भन्दै यस्तो पैmसला गरेपछि ती दाजुबहिनीले आमाको नाममा नागरिकताको प्रमाणपत्र पाए । उनीहरूजस्तै सर्वोच्चसम्म पुग्न नसक्ने लाखौंले आमाको नाममा नागरिकता पाउन सकेका छैनन् । यसरी आमाको नाममा नागरिकता प्राप्त भएका घटनालाई पनि प्रशासनले नजिरको रूपमा लिँदैन र व्यक्तिगत घटना भनेर टारिदिन्छ । त्यसो त आमाको नाममा नागरिकता पाउने सम्बन्धमा सर्वोच्च अदालतले बलात्कारबाट बच्चा जन्माएकी दोलाखाकी सविता दमाईंको हकमा आमाको नाममा नागरिकता पाउने पैसला गरेको धेरै वर्ष भइसकेको छ तर कार्यान्वयन भएको पाइँदैन ।
नेपालको जनगणना २०४८ अनुसार २०५२ सालमा १६ वर्ष उमेर पुगेको संख्या एक करोड १३ लाख थियो भने उक्त मितिसम्म नागरिकता बाँडिएका व्यक्तिमध्ये नौ लाख व्यक्तिको मृत्यु भएको १६ वर्ष उमेर पुगेको ३४ लाख व्यक्तिसँग नागरिकता नभएको अध्ययनले देखाएको छ । नयाँ संविधानमा प्रस्तावित व्यवस्था अनुसार ‘कुनै व्यक्तिको नेपालमा स्थायी बसोबास भएको र जन्म हुँदा वा नागरिकता प्राप्त गर्दाका बखत निजको आमा र बाबु नेपाली नागरिक रहेछ भने वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ’ भनी उल्लेख गरिएको छ । नेपालमा जन्मेको तर बाबुआमा ठेगान नलागेको व्यक्तिले बाबु वा आमा पत्ता नलागेसम्म वंशजको आधारमा नागरिकता पाउन सक्छ । बाबुको पहिचान नभएको नेपाली आमाबाट जन्मेको बालकले पनि वंशजको आधारमा नागरिकता पाउन सक्छ ।
पहिलो संविधानसभामा भएको छलफलको आधारमा वंशजको आधारमा नेपाली नागरिकता पाउन ‘आमा र बाबु’ दुबै नेपाली नागरिक हुनुपर्ने प्रस्तावलाई नयाँ संविधानसभाको गठनपछि बनेको संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समितिले सहमति भएको मान्दै संविधान मस्यौदा समितिमा पठाएको थियो । तर, संविधान मस्यौदा समितिको प्रस्तावना र परिभाषा उपसमितिले अन्तरिम संविधानको व्यवस्थाको उल्टो भएकाले नागरिकताको विषयलाई संवैधानिक र राजनीतिक संवाद तथा सहमति समितिमा छलफलका लागि पठाउन सुझाव दिएको छ । नेपालको अन्तरिम संविधान २०६३ मा ‘वंशजको आधारमा नेपाली नागरिक ठहर्नेछ’ भन्ने व्यवस्था छ । यसले व्यक्तिको जन्मसँगै नेपाली नागरिक बन्ने अधिकार सुनिश्चित गरेको भए पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन ।
गृह मन्त्रालयको तथ्यांक अनुसार २००९ सालदेखि २०७० सम्म दुई करोड १४ हजार नौ सय पचास जनाले नेपाली नागरिकता पाएका छन् । तर, महिला कानुन र विकास मञ्चले गरेको अध्ययनले २०६८ असार मसान्तसम्म १६ वर्ष उमेर पुगेका र १६ वर्षभन्दा माथिल्लो उमेरका ४३ लाखले नागरिकता पाएका छैनन् । यस्तै धनपति आयोगले पनि २०४८ सालको जनसंख्यालाई आधार मानेर उमेर पुगेका करिब ३४ लाख मानिस नागरिकताविहीन रहेको देखाएको छ । वंशजको आधारमा नागरिकताको प्रमाणपत्र पाउन आमा र बाबु राख्ने व्यवस्था भयो भने सम्बन्ध–विच्छेद भएका, श्रीमानको मृत्यु भएका, बलात्कारबाट जन्मेका र एकल महिलाले आफ्ना सन्तानलाई नागरिकता दिन सक्दैनन् । हाल नागरिकता नपाएका नौ लाख बालबालिकालाई सहज रूपमा नागरिकता प्रदान गर्न आगामी संविधानमा आमा वा बाबुको नाममा नागरिकताको प्रमाण पत्र वितरण गर्ने व्यवस्था गरिनुपर्छ ।
प्रतिक्रिया