नेपाल राष्ट्रले अत्यन्त ठूलो र अकल्पनीय विपत् भोगिरहेको छ । २०७२ साल वैशाख १२ गते गएको भूकम्पले गर्दा सात हजारभन्दा बढी जनताले ज्यान गुमाएका छन् भने १५ हजारभन्दा बढी घाइते भएका छन् । जनधनको क्षतिको पूर्ण विवरण अहिले नै प्राप्त हुन सक्ने अवस्था छैन । लाखौँ घर भत्किएको अनुमान गरिएको छ । पीडित जनता मानसिक तनावसँगै खुला ठाउँमा घाम र पानीसँग संघर्ष गर्दै राहतको आशमा बाँचिरहेका छन् । दूरदराजका सुन्दर गाउँहरू चिहानघारीमा परिणत भएका छन् । साँच्चै कहालीलाग्दो अवस्था छ ।
राज्यले धान्नै नसक्ने प्राकृतिक प्रकोपको सामना गर्नुपरिररहेको छ । यस दुःखको घडीमा सबैले एक अर्काप्रति सौहद्र्रतापूर्ण व्यवहार गर्दै सहयोगको हात अघि बढाउनु कर्तव्य हुन आउँछ । जनसंख्याको ठूलो हिस्सा पीडामा छटपटाइरहेको अवस्थामा सरकारको मुख मात्र ताक्ने, नेतालाई सरापेर बस्ने, धर्ना र घेराउतिर लाग्दै सस्तो सहानुभूति बटुल्न खोज्नेजस्ता कार्य कसैले गर्छ भने सायद त्यो पाच्य हुने छैन । अहिले दूरदराजमा रहेका पीडितसम्म कसरी राहत पुग्न सक्छ र उनीहरूलाई त्रिपाल, पानी, खाद्यान्न, औषधिलगायतका वस्तु छिटोभन्दा छिटो कसरी पु¥याउन सकिन्छ भन्नेतर्फ चिन्तन गरौँ । र, सम्बन्धित निकायसँगै आफूहरू पनि सामेल भएर राहत कार्यमा जुटौँ । अहिले हाम्रा लागि सबैभन्दा ठूलो काम यही हो ।
नेपाली सेना, जनपथ र सशस्त्र प्रहरी, कर्मचारी, संघसंस्था, देशमा रहेको युवा जनशक्ति सबै उद्धार र राहत कार्यमा जुटेको छ । रातदिन नभनी अहोरात्र खटेका सेना, प्रहरीलगयातका जवानलाई हामीले उत्साहित बनाउन कन्जुस्याइँ गर्नु हुँदैन । उनीहरूले आफ्नो घर परिवार बिर्सिएर कर्तव्य पालना गरेको यो कार्य साँच्चै अनुकरणीय छ । वास्तवमा नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरी, कर्मचारी कुनै दल विशेषका होइनन् बरु राष्ट्र र जनताका हुन् भन्ने कुरा अहिले प्रमाणित भएको छ । आफ्नो को हो र पराइ को हो भन्ने कुरा विपत् आएकै बेला थाहा हुने हो । र, मानिसमा कति मानवीय समवेदना छ भन्ने पनि यस्तै अवस्थामा थाहा हु्न्छ । यो समय एकले अर्कालाई दोष लगाउने र सरकारले केही गरेन भनेर बस्ने समय होइन । आफ्नो गच्छेअनुसार जे सकिन्छ त्यही सहयोग गर्ने समय हो । मर्ने त मरेर गए यता घाइते, बेघरबार भएका र कुनै पनि राहत नपाएकाहरूलाई सबै मिलेर बचाउनुपर्छ । दूरदराजमा रहेका पीडितसम्म पुग्ने अठोट गर्दै हामी सबै अघि बढौँ । यही नै सबैको कर्तव्य हो ।
हामीलाई परेको विपत्तिमा राहतको हात बढाउँदै हाम्रा मित्रराष्ट्रहरू पनि सहयोग गर्न आइपुगेका छन् । त्यसमध्ये केहीको उद्देश्य अर्कै केही हुनसक्छ तर अधिकांश उद्धार र राहतकै लागि आएका हुन् । उनीहरूले गरेका उद्धार र राहतका कार्यबाट पीडितहरूले लाभ लिइरहेको पाइएको छ । सबैलाई आरोप लगाउनु हुँदैन । सरकारले अनुगमन गर्नुपर्छ । अन्यत्र बरालिएकाहरूलाई पनि उद्धार र राहततर्फ लगाउन सक्नुपर्छ । पीडितहरूलाई अहिले प्राथमिक सहयोगले पनि ठूलो राहतको अनुभव हुन्छ । तसर्थ, नेपाल आएका मित्रराष्ट्रका अनुभवि हातहरूलाई निराश बनाउने काम कहीँ कतैबाट गरिनु हुुँदैन । अहिलेको अवस्थामा नेपाल सरकराले कसैलाई पनि दुत्कार्नु राम्रो होइन । अब हामीले विपत् व्यवस्थापनमा सबैको सहयोगलाई स्वीकार गर्नैपर्छ । हामी संकटमा छौँ । यसो भन्दैमा कसैको हस्तक्षेप वा दासत्व स्वीकार्य हुँदैन । तसर्थ, नेपाललाई सहयोग गर्न चाहने सबैले अन्य स्वार्थ नराखी सहयोग गर्नुपर्छ ।
विपत्का बेलामा विभिन्न अफवाह फैलनु स्वाभाविकै हो । आत्तिएको र बिच्किएको मानव मनले सत्य–असत्य पर्गेल्न भ्याउँदैन । यस्तो अवस्थामा मिडियाको भूमिका महत्वपूर्ण हुन्छ । पत्रकारहरूले सुझबुझपूर्ण र गम्भीर विश्लेषणसहित आफ्नो धर्म निभाउनुपर्छ । कोही धरहराको टुप्पोबाट हामफालेर बाँचे भन्दैछन्, कोही सात दिनपछि जीवितै बाहिर निस्किनासाथ उद्धार कार्यमा लागेँ भन्दैछन्, कोही एक्लैले सयजनालाई जीवितै उद्धार गरेँ भन्दैछन् र कोही सीडीओ, सेना, प्रहरी प्रशासन सबै आएर उद्धार र राहतमा खटेका छन् तर सरकारको उपस्थिति कहीँकतै देखिएन भन्दैछन् । कतिपय पत्रकार यस्तैलाई समाचार बनाउँदैछन् । यस्तोमा प्रचारले राम्रो सन्देश दिँदैन भने हाम्रो पत्रकारिताको अवस्था पनि उदांगो पार्छ । मिडियाले उद्धार कार्य छिटो गर्न र समयमै राहत पु¥याउन सहयोग गर्न सक्छ । अवस्थाबारे जानकारी दिने, पीडित, घाइते, घरबारविहीन, मृतकका आफन्तको तत्काल आवश्यकता के हो ? यसबारे पत्रकारहरूले जानकारीमूलक सन्देश प्रवाह गरेर दिएको समाचारले उद्धार र राहतमा जुटेकाहरूलाई सहयोग पुग्छ । यसतर्फ ध्यान दिन जरुरी छ ।
यदि यो विपत्लाई हामीले व्यवस्थापन गर्न सक्यौँ भने नेपाल पुनर्निर्माणमा जुट्न सक्छ । उद्धार र राहतको पहिलो चरणको काम पूरा भएपछि दोस्रो चरणको काम निर्माणको हु्न्छ, त्यसबेला धेरै राम्रा काम गर्न सक्ने अवस्था रहन्छ ।
नेपाललाई सहयोग गर्न इच्छुक थुप्रै राष्ट्र र संघसंस्था छन् । सही सदुपयोगको विश्वास भए नेपालको पुनर्निर्माणमा सहयोगी हातहरू प्रसस्त जुट्नेछन् । अहिलेलाई भने उद्धार र राहत नै पहिलो काम हो । हामी सबै यसैतर्फ केन्द्रित हुनुपर्छ । विपत्पछि खतरनाक रूपमा फैलनसक्ने महामारी रोक्नका लागि शुद्ध पानी, फोहोर मैला व्यवस्थापन र सफाइमा ध्यान दिनुपर्छ । काठमाडौं छाड्नेहरू हैजा फैलने डरले हिँडेका हुन् । रोगव्याधी फैलन नदिन घरबाट निस्किएका फोहोरदेखि भूकम्पले लडाएका भग्नावशेषमा पुरिएका मृत पशुपक्षी, मानव शरीरसमेतको छिटोभन्दा छिटो व्यवस्थापन गर्न आवश्यक छ । सरसफाइमा ध्यान दिएमा महामारीको रूपमा फैलन सक्ने रोगबाट सजिलै पार पाउन सकिने देखिन्छ । अहिलेको अवस्थामा एकले अर्काको दुःख बुझेर साथ दिनुबाहेक अर्को विकल्प छैन । हर तरहले सहयोगका लागि तयार रहनु र सहयोग गर्नु सबैको कर्तव्य हो ।
प्रतिक्रिया