गुटगत राजनीतिको कहर

सत्तारूढ नेपाली कांग्रेसको केन्द्रीय समिति सदस्य रहेका अर्जुन नर्सिङ केसीले बुधबार पत्रकाहरूसित कुरा गर्दै पार्टीको ‘केन्द्रीय नेतृत्वमा हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने प्रवृत्ति देखिएको’ नमीठो तर कठोर सत्य सार्वजनिक गरेका छन् । केसी मात्र नभएर अर्का केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले ‘केन्द्रीय नेतृत्वले आफूअनुकूल संरचना बाड्ने, आफूअनुकूलको व्यक्ति नभए योग्य हुदाहुदै पनि जिम्मेवारी नदिने वा जिम्मेवारीबाट पन्छाउने काम गरेको’ खुलासा गरेका छन् । यी र यस्तै कारणले नेकाको आगामी १३औ महाधिवेशनका लागि मागिएको सक्रिय सदस्यताको विवरण पूर्वनिर्धारित समयभन्दा एक महिना ढिलो हु“दा समेत १४ जिल्ला अझै अटेर गरेर बसिरहेको तथ्य बाहिर आएको छ । नेका केसको १३ फागुनमा बसेको बैठकले फागुन मसान्तभित्र सक्रिय सदस्यताको विवरण नबुझाउने जिल्लालाई महाधिवेशनमा सहभागी हुन नदिने निर्णय गरेको भए पनि त्यो निर्णय नेका पार्टीभित्र मौलाएको चरम अनुशासनहीनता र माथिदेखि तलैसम्म झ्यागिएको गुट राजनीतिले गर्दा अझैसम्म पूर्ण कार्यान्वयनमा आउन सकेको छैन । यो समयमा मात्र होइन, यसअघि पनि नेका पार्टीको राजनीति यसैगरी गुटबन्दीले अत्यन्तै प्रभावित हुदै आएको हो ।
पार्टी स्थापनापछिका वर्षहरूमै बिपी कोइराला र मातृकाप्रसाद कोइरालाबीचको विवाद जगजाहेरै छ । पछि, सत्तास्वादको लाभ, राजा एवं अन्यको प्रयासलगायतका कारणले धेरै वरिष्ठसमेतले नेका पार्टी परित्याग गरी पञ्चायत पसे भने बिपी जीवित रहदासम्म उनको व्यक्तित्वले स्थिति सम्हालेको थियो । तर, उनको शेषपछि नेकाभित्र सिंह–भट्टराई–कोइरालाका रूपमा नेतात्रयको सुरुआत गरिएपश्चात् गुट राजनीतिले नया मलजल पायो । तत्कालीन समयमा दलहरू प्रतिबन्धको अवस्थामा रहेकाले त्यो गुटगतता बाहिर आउन सकेको थिएन । २०४६ चैतमा बहुदलको पुनर्बहालीपछि भने दलगत गुट राजनीति ह्वात्तै बाहिर आउन थाल्यो । २०४८ को पहिलो आमनिर्वाचनमा काठमाडौंमा त्यो बेलाका अत्यन्तै लोकप्रिय एवं विनोदी नेता कृष्णप्रसाद भट्टराईको एमालेका प्रायः कमै मात्र नाम सुनिएका मदन भण्डारीसित भएको पराजय अप्रत्याशित भए पनि त्यसको एक प्रमुख कारण गुट राजनीति रहेको पछि खुलासा भएको थियो । यही गुट राजनीतिकै कारण उदेक मानेर गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्ता वरिष्ठ नेताहरूले आफ्नो जीवनका अन्तिम वर्षहरूमा त्यही पार्टीको साधारण सदस्यता समेत परित्याग गरेका थिए, जुन पार्टीका उनीहरू पनि संस्थापक थिए र जुन पार्टीका लागि आफ्नो सर्वस्व अर्पेका थिए । योभन्दा ठूलो विडम्बना अरू के हुन सक्छ र ? अहिले पनि नेकाभित्र अनेक गुट सक्रिय रहेको वास्तविकता कतैबाट छिपेको छैन ।
त्यसो त गुटको कुरा गर्दा नेपालका वामपन्थी दलहरूलाई कसले पो भेट्न सक्ला र ? नाममा उपसर्ग वा परसर्ग फरक राखेर आफूलाई पृथक् देखाउ“दै आइरहेका डेढ दर्जनभन्दा बढी बाम दलभित्र पनि नेताविशेषका पिछलग्गु र सोहीअनुसारका गुट यत्रतत्र सक्रिय छन् । त्यसैगरी राप्रपा र मधेसी दलहरूभित्र पनि गुट–उपगुट उत्तिकै चलायमान छन् । यस्तो अवस्थामा पार्टीहरू कहिले र कसरी गुटगत राजनीतिबाट माथि उठेर देशका लागि सोच्न सक्ने हुन्छन् ? सर्वथा विचारणीय प्रश्न यही हो ।

प्रतिक्रिया