नयाँ बिहानी, नयाँ अठोट

Sourya-Dailyनयाँ वर्ष २०७२ को पहिलो बिहानीसँगै हामी ‘सौर्य’ लिएर पाठकसमक्ष आइपुगेका छौँ । पाठक, ग्राहक, विज्ञापनदातालगायत हाम्रा शुभचिन्तकको निरन्तरको शुभेच्छा, सद्भावका साथै प्रेरणाले हामी पत्रिका पुन: प्रकाशन गर्न सफल भएका हौँ ।

पत्रिकाको अनलाइन संस्करण एक महिना अघिदेखि नै सञ्चालनमा छ । यस अवसरमा सृजना इन्टरनेसनल मिडिया परिवार खुसी बाँड्न चाहन्छ ।

नेपाली पत्रकारिताको आरोह–अवरोह तपाईं–हामीलाई सर्वविदितै छ । यही सेरोफेरोमा नयाँ उत्साह, उमंग, जोश र प्रतिबद्धताका साथ फेरि हाम्रो यात्रा जोडिएको छ । यस संस्थाप्रति तपाईंहरूको विश्वासमा हामी एक इन्च पनि कमी हुन दिनेछैनौँ । यस अवसरमा हामी व्यावसायिक पत्रकारिताको धर्म निर्वाह गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउँछौँ ।

खासगरी, संविधानसभाबाट नयाँ संविधान निर्माण हुन नसक्दा मुलुकका हरेक क्षेत्र प्रभावित छन्, जसले गर्दा राजनीतिक संक्रमणकालसमेत लम्बिन पुगेको छ । यस्तो अवस्थामा पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण हुनेमा दुईमत हुँदैन । यस्तो बेला राज्यको हितमा आवश्यक भूमिका निर्वाह गर्न यो संस्था लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।
अन्त्यमा, नयाँ वर्ष २०७२ सालको उपलक्ष्यमा सम्पूर्ण नेपालीजनमा सुख, शान्ति तथा समृद्धिको कामना व्यक्त गर्दछौँ ।

प्रतिक्रिया