सेमेस्टर प्रणालीमा विद्यार्थी सहमत

काठमाडौं । सेमेस्टर प्रणालीको चर्को विरोध गरिरहेका विद्यार्थी संगठनहरूले पनि अब त्यसलाई स्वीकार्ने भएका छन् । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूसँग विद्यार्थी संगठनका नेताहरूले विभिन्न चरणमा गरेको छलफलपश्चात उनीहरू सहमतीको नजिक पुगेका हुन्् । सेमेस्टर प्रणाली यसै शैक्षिक सत्रबाट सुरु गर्न विद्यार्थी संगठनहरू पनि करिब–करिब सहमत भएको त्रिविले जनाएको छ ।
त्रिविले सेमेस्टर प्रणाली लागू गर्ने भन्दै फारम वितरण सुरु गरेपछि विद्यार्थी संगठनहरू विरोधमा उत्रेका थिए । विद्यार्थीको चर्को विरोधपछि त्रिवि पदाधिकारीहरूले विद्यार्थी संगठनहरूसँग छलफल सुरु गरेका थिए । विद्यार्थी संगठनहरूले असहमति जनाएका बुँदाहरूलाई त्रिविले सम्बोधन गर्ने भएपछि सेमेस्टर प्रणाली लागू हुने भएको हो ।
अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्लले त्रिविले आफूहरूको माग सम्बोधन गर्ने भनेपछि सहमतिको नजिक पुगेको जानकारी दिए । उनले विभिन्न चरणमा त्रिवि पदाधिकारीहरूसँगको छलफलपश्चात सेमेस्टर लागू गर्ने विषयमा सहमति नजिक पुगेको स्वीकारे । ‘केही दिनमा सेमेस्टर लागु हुन्छ । अव प्राविधिक कुरा मात्र बाँकी रहेका छन्,’ उनले भने ।
उनका अनुसार शुल्क र कोटामा सहमति हुना साथ फागुनको पहिलो हप्ताबाट कक्षा सञ्चालन हुनेछ । विद्यार्थी संगठनहरूले मुख्यरूपमा वार्षिक प्रणालीअनुसार शुल्क निर्धारण हुनुपर्ने र कोटाको संख्यालाई बढाउनुपर्ने माग राखेका छन् ।
त्रिविले सेमेस्टर प्रणालीका लागि क्यालेण्डर नै निकालिसकेको छ । त्रिविले मानविकी संकायको लागि पहिलो समेष्टरमा १४ हजार ६ सय, दोस्रोलाई नौ हजार चार सय ६०, तेस्रोलाई १० हजार एक सय र चौथोका लागि १६ हजार चार सय ५० रुपियाँ शुल्क तोकेको छ ।
यसैगरी व्यवस्थापन संकायका लागि पहिलोमा १५ हजार ६ सय, दोस्रामा नौ हजार चार सय ५०, तेस्रोमा १० हजार एक सय र चौथोलाई १८ हजार चार सय ५० रुपियाँ शुल्क निर्धारण गरिएको छ ।
शिक्षा संकायमा पहिलोमा १३ हजार ६ सय, दोस्रोमा ९ हजार चार सय ५०, तेस्रोमा १० हजार एक सय र चौथौमा २० हजार चार सय ५० रुपियाँ शुल्क तोकिएको छ ।
नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले पनि आफूहरूको मागप्रति त्रिवि सकारात्मक हुँदै गएकोले सेमेस्टर प्रणाली लागू हुने जानकारी दिए । ‘हामीले राखेका मागप्रति त्रिवि सकारात्मक हुँदै गएको छ,’ उनले भने, ‘त्यो पूरा हुना साथ लागू गर्नेमा हामी सहमत छौं ।’
त्रिवि पदाधिकारीहरू पनि जसरी भए पनि विद्यार्थी संगठनलाई मनाएर सेमेस्टर प्रणाली लागू गर्ने पक्षमा छन् । त्रिविका रजिष्ट्रार चन्द्रमणि पौडेलले पनि अब सेमेस्टर प्रणाली लागू हुने जानकारी दिए । उनले विद्यार्थी संगठन सकारात्मक देखिएकाले अब सेमेस्टर प्रणाली सुरु हुने बताए ।
त्रिविले स्नातकोत्तर तहमा लागू गर्ने तयारी गरेको सेमेस्टर प्रणालीमा ६० पूर्णांक लिखित र ४० पूर्णांक प्रयोगात्मक भार छुट्याएको छ । प्राप्तांक ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडमा छुट्याइने छ ।

प्रतिक्रिया