नेपाली सन्दर्भमा समकालीन कला साधना

Artनेपालमा समकालीन कला साधनाको परिदृश्यले विविध कला–गतिविधिहरूको फराकिलो आयाम प्रस्तुत गर्दछ । धेरै जसो परम्परागत र गैर–परम्परागत कला सिर्जनाहरूले देशमा चलेको दशक लामो सशस्त्र द्वन्द्वबाट सिर्जित उराठिला भावहरूलाई नै आत्मसात् गरेका छन् । यद्यपि, अनगन्ती कलाकृतिहरूमा उल्लेखित द्वन्द्वकालसँग सम्बन्धित मुद्दाहरू नै प्रतिबिम्बित भएका छन्, तर म प्रस्तुत कार्यपत्रमा केही छानिएका कलाकारले सशस्त्र द्वन्द्वकाल र सशस्त्र द्वन्द्वकालपछिको अवधिमा केन्द्रित भएर सिर्जना गरेका गैर–परम्परागत कलाकृतिहरूबारे चर्चा गर्नेछु । प्रस्तुत कार्यपत्रमा मैले उल्लेखित कलाकारहरूले साधना गरेका र देशको राष्ट्रिय संकटलाई मूल मुद्दा बनाएर सिर्जना गरेका स्थापत्य कला (इन्स्टालेसन्स), प्रदर्शनी कला (पर्फरमेन्सेज) र कला–सक्रियतावादी प्रस्तावना (आर्टिभिस्ट एजेन्डा)हरूको विश्लेषण गर्नेछु । प्रस्तुत कार्यपत्रमा कला–सक्रियतावादी, अर्थात्, ‘आर्टिभिस्ट’ भन्ने शब्दले फगत सौन्दर्यजन्य विषयवस्तुहरूमा सीमित नरहेर बरू राष्ट्रिय अखण्डतासम्बन्धी मुद्दाहरूमा बढी केन्द्रित भएर सिर्जना गरिने गैर–परम्परागत कला संरचनालाई मान्नु पर्दछ । यसरी गैर–परम्परागत साधनाको रूपमा सिर्जना भएका कतिपय कलाकृतिहरू प्रतिक्रियावादी एवं दमनकारी नीति–नियमविरूद्ध उद्घोष गरेका देखिन्छन् भने यिनैमध्येका कतिपय कलाकृतिहरू त एक पाइला अझअगाडि बढेका र समस्याको रचनात्मक एवं शान्तिपूर्ण समाधाननिम्ति सुझावहरू समेत दिँदै गरेका देखिन्छन् । समग्रमा, कलालाई जोडदार अभिव्यक्तिको माध्यमको रूपमा प्रयोग गरेर अनि सक्रियतावादी प्रस्तावनाहरूको रूपमा अगाडि आएका अवधारणागत विषय–वस्तु प्रस्तुत गरेर यी कलाकृतिहरूले आजपर्यन्त धेरै हदसम्म अराजनीतिक प्रकृति अगाल्दै आएको कला सिर्जनाका परम्परागत सीमानाहरू नै परिवर्तन गरिदिएका छन् ।
नेपालमा भएको एक दशक लामो हिंस्रक सशस्त्र द्वन्द्वकाल भीषण रक्तपात, हत्या, अपहरण र आन्तरिक बसाइसराइका घटनाहरूले भरिभराउ छ । अहिले हामी एउटा युगको त्यो समयबाट गुज्रिरहेका छौँ जुन समयमा परम्परागत राजनीतिक एवं वैचारिक आस्था र विश्वासहरू धमाधम भत्किँदै गइरहेका छन् भने गैर–पारम्परिक विचारहरू निरन्तर उदीयमान छन् र परम्परागत मूल्य–मान्यताहरूविरूद्ध नै उभिएका छन् । यी सबै कुरा हुँदाहुँदै पनि, द्वन्द्वकालीन अवधिले एउटा खास किसिमको श्वेरकाल्पनिक सपना –युटोपियन ड्रीम– पनि हुर्काउँदै ल्यायो, वर्षौँदेखि अधिकारविहीन अवस्थामा राखिँदै आएका नागरिकसमेत सबैका लागि असीमित एवं समान अवसरसहितको ‘नयाँ नेपाल’ को सपना । ‘न्यायपूर्ण राष्ट्र’को साझा सपना आम जनमानसलाई शताब्दियौँ पुराना असंगत एवं अत्याचारी व्यवस्थाहरूविरूद्ध सामूहिक रूपले उठ्न उत्प्रेरित गर्न पर्याप्त प्रमाणित भयो । सत्यतालाई यथार्थ तुल्याउने अत्यन्तै अतियथार्थवादी कार्यको जिम्मेवारी बोकेर वैकल्पिक कलाको कला–सक्रियतावादले आफ्नो अवधारणागत सिर्जनामार्फत प्रतिकूल परिस्थितिहरूलाई सम्बोधन गर्न थाल्यो ।
अन्य अनेक परम्परागत एवं गैर–परम्परागत कलाकारहरूका अतिरिक्त ज्योति दवाडी, अश्मिना रञ्जित, सुदर्शन राणा, गोविन्द आजाद शाह, सुविना श्रेष्ठ, मनिषलाल श्रेष्ठ, चिराग बाङ्देल, गोपाल कलाप्रेमी र सुनिल सिग्देल आदि वैकल्पिक कलाकारहरूले नागरिकहरूमाथि भएको हिंसाको विरोध गर्न कलालाई माध्यम बनाए । स्थापत्य एवं प्रदर्शनी कलाहरू, जस्तो कि– घटना, नेपालमा शान्तिको द्वन्द्व, मूल्य : हिंसाको लागत श्रव्यीकरण, शान्तिको सम्झना, तमस र रातो सृंखला (सिरिज रेड) आदि अन्य अनेक कला परिघटनामध्ये केही आयोजना हुन् जसले द्वन्द्वकालीन पीडा एवं विरहलाई मात्र प्रतिबिम्बित गरेनन्, बरू सरकारी सेना र विद्रोही लडाकुबीच समायोजन गर्नेसम्बन्धी विचारसमेत प्रवाहित गरे । विचलित वर्तमान र ह्यापनिङ आदि जस्ता संयुक्त कला–सक्रियतावादी आयोजनाहरूले कलाकार, लेखक, कवि, संगीतकार, नाटयकर्मी, मिडियाकर्मी, विद्यार्थी संस्था र नागरिक समाजका सदस्यहरू आदि सबैलाई एकै ठाउँमा भेला हुने वातावरण मिलाइदिए, र, शान्तिका लागि स्थापत्य एवं प्रदर्शनी कला सिर्जना गर्नका लागि ब्रुस अनि रंगरोगन, फोटो क्यामरा, संगीत, साउन्ड क्लिप, र शारीरिक क्रियाकलाप आदिलाई माध्यम बनाए । आफ्ना कला आयोजनाहरूका लागि सार्वजनिक स्थलहरूको चयन गरेर कलाकारहरूले सार्वजनिक स्थानहरूमा भेला हुन नदिने प्रतिबन्धात्मक सरकारी कानुनलाई चुनौती दिने कामसमेत गरेका थिए । बीसौँ शताब्दीको सुरुतिर समाजमा प्रभावशाली रहिआएका मूल्य–मान्यताहरूलाई हल्लाउने गरी उदाएका आधुनिक पश्चिमी कला आन्दोलनहरू –डाडावाद, अति यथार्थवाद, भविष्यवाद, र निर्माणवाद आदि– जस्तै नेपालका कलाकारहरूले पनि नेपाली कला जगतमा वैकल्पिक कला साधना भित्र्याउन गैर–परम्परागत कला माध्यमलाई अपनाए ।
कला र सक्रियतावादबीचको सम्बन्ध अर्थात् कला–सक्रियतावाद सधैँ द्विअर्थी र प्रतिस्पर्धी हुुन्छ । अनेक कलाकार र कला–आलोचकहरू के विश्वास गर्दछन् भने कला राजनीतिभन्दा माथि हुनु पर्दछ । आफ्ना तर्क अगि सार्दै उनीहरू भन्छन्– कला सधँै सम्पूर्ण तवरबाटै सौन्दर्यमूलक पक्षहरूमा मात्र केन्द्रित रहनु पर्दछ र कुनै किसिमको सक्रियतावादमा कहिल्यै अल्झिनु हुँदैन । यसो भए तापनि, मैले यहाँ उल्लेख गरेका केही दृष्टान्तहरूले के देखाउँदछन् भने हामीमाझ अनेक कलाकारहरू छन् जसले कलासम्बन्धमा रहेका पूर्वमान्यताहरूलाई चुनौती दिने मात्र होइन त्यसका परम्परागत सिमानाहरूलाई भत्काउने साहस पनि गर्दछन् ।
वैकल्पिक कलासित जोडिएको कला–सक्रियतावादले देशमा व्याप्त द्वन्द्वको स्थिति अन्त्य गर्न शान्तिको विचारलाई प्रबद्र्धन गर्दै आएको छ, र यसनिम्ति धेरैजसो त मध्यमार्गी पथ –अर्थात्, राज्य र विद्रोही पक्षबीच संवाद– का लागि पैरवी गर्दै आएको छ । वास्तवमा, यस्ता कला आयोजनाहरूले द्वन्द्वकालीन आतंकलाई मात्र अभिव्यक्त गर्दैनन्, अपितु सर्वसाधारण जनमानसको मस्तिष्कमा रहेका घाउहरूमा मलम लगाउने औषधिको काम पनि गर्दछन् । कलामा सामाजिक–राजनीतिक विषयवस्तुको प्रभावशाली समायोजनले एउटा तथ्य निश्चित गर्दछ, त्यो के भने– समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि कलालाई पनि एक शक्तिशाली माध्यमको रूपमा समेत प्रयोग गर्न सकिन्छ । सन्दर्भवश यहाँ उल्लेख गरिएका वैकल्पिक कला आयोजनाहरूले के प्रमाणित गर्दछन् भने कलाकृतिहरू कुनै शून्यमा अस्तित्ववान हुँदैनन्, बरू कलाकृतिहरू त विभिन्न आकार–प्रकारका छवि, मूर्ति, प्रदर्शनी, स्थापत्य र संकेतहरूको रूपमा आ–आफ्ना समयका ऐतिहासिक यथार्थहरू अभिव्यक्त गर्न प्रवृत्त भइरहेका हुन्छन् । यसर्थ, कलालाई बृहत् सन्दर्भमा समेत प्रयोग गर्न सकिन्छ, र सक्रियतावादलाई कलासित गाँसेरअगाडि बढ्न सकिन्छ भनिन्छ भने पक्कै पनि गलत ठहरिने छैन ।

 

प्रतिक्रिया