हाम्रो राजनीति मदारीको नाचजस्तै भएको छ

RK-mainali‘खिलराज त लोभी बाहुन रहेछन्’

दोस्रो संविधानसभा निर्वाचन नजिकिँदै गर्दा नेताहरूको घरमा कार्यकर्ताको भिडभाड बढेको छ । कोही आफूअनुकूल गुटका नेता कार्यकर्तालाई टिकट दिलाउन गुटबन्दीमा व्यस्त छन् त कोही आफूअनुकूल गुटको नेताले टिकछ नपाएको गुनासो सुन्न । यो सबै पार्टीको सामूहिक रोग हो । योग्यता, क्षमता, त्याग र इतिहासलाईभन्दा गुटलाई सबैले प्राथमिकता दिँदै छन् । राजनीतिको यत्रो चलखेल भइरहँदा इतिहांसकै चर्चित झापा आन्दोलनका नायकमध्येका एक भनेर चिनिने राधाकृष्णा मैनालीलाई न कसैलाई टिकट दिने टन्टा छ न कसैको गुनासो सुन्नुपर्ने चिन्ता । उनका समकालीन मात्र होइनन्, उनले राजनीति सिकाएका व्यक्तिसमेत यतिबेला टिकटको राजनीतिक खेलमा व्यस्त छन् । उनै झापा आन्दोलनका एक नायक अनि कुनै बेला राजनीतिका व्यस्त खेलाडी मैनाली यतिबेला लोकदोहारी सुन्नमा मस्त छन् । कुनै बेला व्यस्त राजनीतिका कारण आफन्त र परिवारलाई समय दिन नभ्याएका उनको दैनिकी कसरी चलेको छ ? नजिकिँदो निर्वाचनलाई उनले कसरी हेरेका छन् ? उनै मैनालीसित भएको सौर्य–संवादका बान्कीहरू :
वर्तमान राजनीतिक वातावरण हेर्दा लाग्छ, देशमा हुँदै गएको घातको हस्ताक्षर गर्ने ठाउँमा नभएकाले जनताको गाली र तिरस्कारबाट मुक्त भएछु भनेर सन्तुष्ट छु । बढ्दो राष्ट्रघाती काम गर्ने ठाउँवरिपरि नभएकोमा एकातिर सन्तुष्ट छु भने अर्कोतर्फ मुलुक संकटमा परेको बेला निर्णायक ठाउँमा भएको भए मुलुकलाई निकास दिने सवालमा आफूले पनि केही गर्न सकिन्थ्यो कि भनेर खिन्नता लाग्छ । म कुनै पार्टीमा भएको भए आफ्नो पार्टीले गरेको जसअपजसको भागिदार हुनुपर्ने थियो । यतिबेला म कुनै जस वा अपजस लिनुपर्ने ठाउँमा छैन । नेपालको वर्तमान राजनीति र आफ्नो स्थानबाट के कुरामा सन्तुष्ट छु भने मलाई राजनीतिबाट निष्कासन गरेपछि जो जो जिम्मेवार ठाउँमा रहे, उनीहरूले देशलाई प्रगतिको दिशामा लान सकेको भए मैले चाहिँ यो देशका लागि केही गर्न सकिनँ उनीहरूले गरे भनेर सोच्नुपर्ने हुने थियो । त्यस्तो अवस्था रहेन ।
यो आरकेलाई लागेको कुरा जस्ताको जस्तैभन्दा सीतापाइलातिर फर्केर थुक्ने, धिकार्ने वा स्याबास भन्नेहरू हुन सक्छन् । मलाई लागेको कुरा भन्न रोक्ने कोही छैन वा कसैलाई सोधेर बोल्नुपर्ने अवस्था छैन । पदीय रूपमा म कुनै ठाउँमा नभए पनि राजनीतिक रूपमा सन्यास लिएर बसेको छैन । विचार र चिन्तनको हिसाबले अहिले पनि सक्रिय छु । सक्रिय राजनीतिक जीवनमा रहँदा अठार घन्टा व्यस्त हुन्थेँ । अहिले आरामले चाहेको आफन्त साथीभाइलाई भेटेर समय बिताएको छु । समय दिएन वा फोन उठाएन भनेर कसैले गुनासो गदैनन् । समय बिताउन केही चाहिने रहेनछ । राजनीतिक खेलाडीको खेल हेरेर समय बितेको छ । त्यसबाट बचेको समय टेलिभिजन च्यानलमा आउने लोकदोहोरी गीत सुनेर बिताउँछु । मस्तिष्कलाई तनाव मुक्त गरेर फ्रेस बनाएको छु । यसैमा आफ्नो जीवनको मिठास पाएको छु । लामो समय जेल, भूमिगत जीवन, सक्रिय राजनीति र सत्ताको जिम्मेवारीका कारण सधैँ तनाव थियो । अहिले ती सबै तनावबाट मुक्त छु । हिजोको तनावपूर्ण जीवनलाई आराम मिलेको छ ।
यतिबेला मेरो दैनिकी धैरैलाई जान्न मन लाग्न सक्छ । मेरा समकालीन मात्र होइनन्, मेरा धेरै चेला राष्ट्रिय राजनीतिको केन्द्रमा छन् । निर्वाचनको चहलपहल नजिकिँदै छ । मलाई पुन एमाले हुनुपर्छ भन्नेहरूको संख्या एमालेमा ठूलो छ । तर, म एमाले नहोस् भन्नेहरू एमालेको निर्णायक तहमा बस्ने पाँच–सात जना छन्, जसका कारण मलाई एमाले हुनै दिँदैनन् । धेरै नेता आएर भन्छन्– कमरेड यसरी भएन, सक्रिय हुनुपर्‍यो । मेरो जवाफ प्रस्ट हुने गर्छ– पहिला आफ्नै नेतालाई मनाउनू । एमालेमा मेरो पुनरागमनले जो जो तर्सेका छन्, तर्सिनु पर्दैन । यो उमेरमा मैले त्यहाँ गएर के नै गर्न सक्छु र ? तिनै पाँच–सात जनालाई लागेको होला, आरके आएर हाम्रो भाग खोस्ला । उनीहरूले चाहने र मलाई सम्मानजनक वयवहार गर्ने हो भने यो मुलुकका लागि म अझै केही गर्न सक्छु भन्ने लाग्छ । उनीहरूलाई लागेको होला– आरके प्रस्ट छ । लागेको कुरा भनिदिन्छ । देशी विदेशीको चाकडी र चाप्लुसी गर्दैन । म सधैँ चाकडी र चाप्लुसीको विपक्षमा रहेँ र रहिरहने छु । तर, उनीहरूले सोचेको जस्तो म त्यति ठूलो हैसियत भएको मान्छे होइन । तर, नेता बन्ने र राजनीतिक सक्रियताको नाममा सबैको सर्त स्वीकार गर्न पनि सक्दिनँ । पँैतालीस वर्ष राजनीति गरेँ आज पनि आमजनताको नजरमा म राजनीतिककर्मी नै हुँ । त्योभन्दा बढी अरू केही होइन ।
हिजोको सक्रिय राजनीतिक जीवन सम्झेर आज पूरै निस्क्रिय भएँ भनेर चिन्तित छैन । राजनीति भनेको विचार, सिद्वान्त, दर्शन र स्वाभिमानले चल्ने चिज हो । ती सबै कुरा गुमाउने हो भने किन गर्ने राजनीति ? राजनीति गर्ने नाममा कसैको चाकडी, चाप्लुसी गर्दै आत्मस्वाभिमान गुमाएर होमा हो गर्न मेरो स्वाभिमानले दिँदैन । पछिल्लो समय माओवादी हुँदा पनि देखँे विचार र चिन्तनको भन्दा त्यहाँ बलजफ्तीको राजनीति हाबी भएको । नेताले आफूलाई आफँैले जबर्जस्ती राजनीतिको सम्राट् सम्झने चिन्तन नजिकबाट देखेँ । त्यस्तो प्रवृत्ति मेरा लागि स्वीकार्य भएन । मेरो दर्शन र आदर्शले राजनीतिका नाममा न कसैलाई सम्राट् मान्छु न आफूलाई सम्राट् ठान्छु । राजनीतिककर्मी भनेको सधैँ देश र जनताको सेवक हो । राजनीतिमा प्रवेश गर्दा सिकेको र पढेको थिएँ– हामी वामपन्थीले सधैँ नेपालीको स्वाभिमान बचाउनका लागि जेजस्तो बलिदान गर्नु परे पनि तयार हुनुपर्छ भनेर । त्यो आदर्श आज पनि जस्ताको तस्तै छ । तर, आजको राजनीति विचार, सिद्वान्त र आदर्शको होइन । स्वाभिमान गुमाएर नेताको पुच्छर बनेर उसैको टाङमुनि छिरेर गर्नुपर्ने संस्कारको विकास भएको छ । मलाई कसैको प्रवक्ता वा उसको कुरोमा होमा हो मिलाएर नेता बन्नु छैन । पछिल्लो समय एमाओवादी मात्र होइन एमाले पनि मलाई उनीहरूको पछिपछि लागोस भन्ने चाहन्थे । त्यो मेरा लागि स्वीकार्य भएन ।
म सक्रिय राजनीति गर्न नपाएर अत्तालिएको छैन । समाजका लागि राजनीति कसरी गर्ने भन्ने कुरो प्रमुख हो । यो उमेरमा कसैको चाकडी गरेर नेता बन्नु छैन । विचार र आदर्शले स्वाभिमानपूर्वक स्वतन्त्र बस्दा ठीक हुन्छ । यतिबेला आफूलाई लागेको कुरा सहज रूपमा राख्न सक्छु । राजनीतिक र विचारको रूपमा पूरै निस्क्रिय पनि छैन, कुनै पार्टीमा सक्रिय पनि छैन । वर्तमान राजनीतिक खेलको अवलोकन गरेर बसेको छु । यति बेला देख्दै छु– नेपालको राजनीति ‘मदारीको खेल’ जस्तै भएको छ । चार दलका नेताले देश नचाएका छन् । मेरो लामो राजनीतिक अनुभवको आधारमा ०४६ पछि राजनीतिमा अहिले जस्तो फोहरी खेल कहिल्यै भएन । अहिलेकै अवस्थामा जाने हो भने देश कहाँ पुग्छ भन्न सकिँदैन । यतिबेला राष्ट्र गम्भीर संकटमा पुगेको छ । मुख्य नेता देश बचाउनेभन्दा शक्ति कसरी बढाउने भन्नेमा केन्द्रित छन् । यसले मुलुक असल दिशातिर जाँदैन ।
संविधान निर्माणको उत्तम प्रजातान्त्रिक अभ्यास भनेको संविधानसभा नै हो । यतिबेला संविधानसभा आवश्यक छ । हिजो संविधानसभालाई चार दलले बुख्याँचा बनाउन खोजेका कारण संविधान बन्न सकेन । ऐतिहासिक कुरा हो कि चार दलका चार नेताको बलमा संविधान बनेन र मुलुक बच्यो । चार/पाँच जनाले संविधानसभा बाहिर बसेर संविधान बनाउने र जनताबाट निर्वाचित भएर आएकालाई हस्ताक्षर मात्र गराउन खोजेका थिए । मुख्य दलका नेताको त्यो अभीष्ट पूरा हुन सकेन । धेरै सभासद्ले जेठ १४ गते दिउँसो मात्र आफ्नो भूमिका बुझे । देशी/विदेशी शक्ति र दलका आ—आफ्नो आकांक्षा थिए होलान्, ती पूरा हुन सकेनन् । त्यो संविधानसभाबाट संविधान नबनेर केही बिग्रिएको छैन । बरु संविधानसभाको इतिहासमा लाग्न आँटेका धब्बाबाट मुलुक बचेको छ । संविधान बन्नुभन्दा नबनेका कारण देश एउटा संकटबाट मुक्त भयो ।
यतिबेला पुन: संविधानसभाको निर्वाचनको कुरो छ । त्यो निर्विकल्प हो तर निर्वाचन हुने कुरामा विश्वस्त हुने अवस्था भने देख्दिनँ । निर्वाचनको घोषणासँगै शंका उब्जिएको छ । त्यतिबेला कतिलाई लाग्यो बाबुरामको सरकार हटाए निर्वाचन भइहाल्छ भन्ने । बाबुरामकै सरकारले निर्वाचन गर्दा आपत्ति मान्नु पर्ने के थियो ? त्यो आफ्नो विचारमा भन्दा बाह्य शक्तिको इसारामा बोलेका थिए नेताहरूले । सधैँ राजनीति गरेको बाबुरामको नेतृत्वमा निर्वाचन गर्न नमान्ने दलहरू जीवनमा राजनीतिको ‘र’ नबुझको बबुरो खिलराज बाहुनको नेतृत्वलाई स्वीकार गर्नुको कारण के हो ? न्यायालय चलाएर बसेका मान्छे केको आसमा सरकार प्रमुख हुन आए, बुझ्न सकेको छैन । राजनीतिको फोहरको डँुगुरमा किन आएका हुन ? उनी लोभी बाहुन रहेछन् । रेग्मी दलहरूको बुख्याँचा बने जसले उनलाई पनि बदनाम बनायो ।
संविधान आपसी सहमतिले बनाउन सकिन्थ्यो । त्यता मुख्य दलहरूको ध्यानै गएको छैन । अन्तरिम संविधान निर्माण गर्दा जस्तै सहमतिको आधारमा संविधान निर्माण गर्न सकिन्थ्यो । त्यसो गर्दा वैद्य माओवादी पनि राजनीतिको मूलधारमा समेटिने अवस्था रहन्थ्यो । सबैले सिद्वान्तको लडाइँ भन्दै छन् तर वर्तमान राजनीति शक्ति र हस्तक्षेपको राजनीति हो भन्ने लाग्छ । हिजो माओवादीले जनयुद्व गर्दा सिद्धान्तको राजनीति भन्यो । उसले सिद्धान्तको राजनीति गरेको भए पछिल्लो समय भारतसँग हात किन मिलायो ? हतियार, सेनालगायत सबै पावर आफूसँग हुदाँहुँदै माओवादीले किन आत्मसमर्पण गरेको हो ? सधैँ विस्तारवाद भनेर गाली गरेको भारतका सामु किन लम्पसार परेको ? सैद्धान्तिक लडाइँको हवला दिने, सबै शक्ति हातमा हँुदा सम्झौता गर्न जाने र अरूलाई गाली गर्ने । यसले के पुष्टि गर्छ भने एमाओवादीको सैद्धान्तिक लडाइँ थिएन ।
यतिबेला देख्दै छु, वैद्यहरू आन्दोलन गर्ने भनेर लागेका छन् । हिजो सेना र हतियार सरकारलाई बुझाउँदा चुपचाप बसे । सबै शक्ति सरकारलाई सुम्पिएपछि आन्दोलनको हौवा दिँदै छन् । राजनीतिमा आउने यस्ता कुराको सबैले मूल्यांकन गर्नुपर्छ । गणतन्त्रपछि सबै सामधान हुने भए भारतमा गणतन्त्र छ । तर, त्यहाँका माओवादीहरू जनगणतन्त्रको नाममा युद्व गर्दै छन् । मंसिर चारमा निर्वाचन नहोला भन्न सकिन्न । यदि भयो भने सहज रूपमा होला जस्तो लाग्दैन । निर्वाचन त होला तर संविधानसभाभित्र रहेका दलविरुद्व वैद्यहरू जाँदा मुलुकमा फेरि द्वन्द्व हुनेछ । हिजो नबुझेकाले पनि संविधानसभाको अवधारणा बुझेका छन् । त्यहीभित्र प्रधानमन्त्रीको लडाइँ हुन्छ । मुलुकको इतिहास फेरि दोहोरिने छ । निरन्तर अनन्त द्वन्द्व कायम हुने खतरा छ । खिलराजले राजीनामा दिने र निर्वाचन चैतमा सार्ने विषयमा कुरा मिल्न लाग्दा भारतीय विदेश सचिवले भाँडेर गए । तर, हाम्रा नेताहरूले आँट गरेर भन्न सकेनन्, वैद्यलाई मनाएर मंसिरमा नभए पनि चैत्रमा निर्वाचन गराउँछौँ । त्यसैले अनुमान लगाउन सकिन्छ, नेपालको राजनीति कसले कसरी चलाउँदै छ भनेर । नेपालको राजनीति विगत र वर्तमानमा भारतको चासोमा चलेको छ । मुलुकमा संकटकाल हुँदा भारतले कहिले दरबारलाई उकास्यो, कहिले माओवादी त कहिले कांग्रेसलाई । माओदीलाई ठोकेर सिध्याउन दरबारलाई उकास्यो । सरकारी सेनालाई सिध्याऊ, चाहे जति हतियार दिन्छौँ भन्दै माओवादीलाई उकास्यो । राजासँग मिलेर माओवादी सिध्याऊ भन्दै कांग्रेसलाई उकास्यो । यो भारतको राजनीतिक चरित्र हो, त्यही खेलले राजतन्त्र सकियो ।
नेपालको राजनीतिमा भनिन्छ– दबरबार बलियो भए प्रजातन्त्र खतरामा पर्ने डर हुन्छ, कांग्रेस बलियो भए राष्ट्रियता कमजोर हुन्छ, वामपन्थीहरू बलिया हुँदा देश संकटमा जाने खतरा हुन्छ । यो इतिहासले देखाएको पनि छ । यो राष्ट्रियताप्रति चिन्ता गर्ने आमनेपालीको भनाइ हो । विगतलाई फर्केर हेर्ने हो भने राजा बलियो हुँदा प्रजातन्त्र कमजोर भएको थियो, यो सबैले भोगेको कुरा हो । कांग्रेस बलियो हुँदा नेपालको राष्ट्रिय सम्पदा कमजोर भएको थियो । त्यसका लागि कहीँ जानु पर्दैन कोसी, महाकाली र गण्डक सम्झौता हेरे पुग्छ । पछिल्लो समय वामपन्थी बलिया भए देशमा अराजकता बढ्दै गयो । सबैका अगाडि देखिएको कुरालाई ढाकछोप गर्नु हुँदैन । नेपालमा सिद्वान्त र निष्ठावान नेता नै भएनन् । बुर्जुवा भए पनि बिपी केही सिद्वान्तमा निष्ठावान थिए । पुष्पलाल, मदन भण्डारीको विचार भएर पनि काम गर्न पाएनन् । मनमोहन सत्तामा पुगे पनि केही गर्न सकेनन्, उमेर र स्वभावले पनि उहाँलाई साथ दिएन । उहाँ कमान्डिङभन्दा उदार स्वभावका थिए । बिपी पछि पुँजीवादी वा साम्यवादी कुनै विचारमा निष्ठावान नेता देखिएनन् ।
मुलुकमा गणतन्त्र स्थापना भएर पनि सरकार बलियो हुन सकेन । यहाँका नेतामा आफ्नो बुताले चल्ने खुबी देखिएन । अर्कोतर्फ भारत नेपालमा स्वतन्त्र राजनीति भएको हेर्ने चाहँदैन । यसको पछिल्लो उदाहरण हो हालै बजारमा निस्केको ‘प्रयोगशाला’ नामक किताब । प्रकाशित किताबमा भएका विषय धेरै वास्तविक भए पनि त्यो यति बेला नै बजारमा आउनुको पछाडि भारत र ‘र’ को चलखेल छ । नेपालको हित चाहने र नेपालमा स्थिरता चाहेको भए माओवादीविरुद्व यसरी किताब ल्याउनु जरुरी थिएन । लेखकको बुताले मात्र उक्त किताब निस्केजस्तो लाग्दैन । यति नै बेला किताब निकाल्नु र मंसिर ४ मा निर्वाचनका लागि दबाब दिनुपर्ने के उद्देश्य हो भारतको ? सोच्नुपर्छ । मंसिरको निर्वाचन चैत्रमा सर्दा भारत र चार दललाई के फरक पर्छ ? चार दल राजनीतिमा आफूमात्र हाबी हाँै भन्ने मानसिकतामा देखिन्छन् । नत्र भने दुईचार महिना निर्वाचन पछि सार्दैमा के बिग्रन्छ ? आन्तरिक समस्या सुल्झाएर चैतमा निर्वाचन गराउँछौँ भन्ने हिम्मत भारतका अगाडि नेपालका कुनै नेताको देखिएन । चार दलका नेता भारतका अगाडि नतमस्तक देखिएका छन् ।
चमिना भट्टराई

प्रतिक्रिया