प्रकृति र सभ्यता

Dr.-D.B.-Sunuwarसभ्यताको शिखर चढ्दै गर्दा मानव जातिहरूले गरेको विकास चरम विन्दुमा पुगेको दाबी गर्छन् । हरपल हरक्षण प्राय: हरेक कुराको खोज तथा अनुसन्धान भइरहेको खबर सुन्न पाइन्छ । नयाँ–नयाँ कुराको आविस्कार भएको थाहा पाइन्छ । त्यसको साथ–साथै आफ्नो जीवनयापन तथा सुविधा भोगका लागि प्राय: सबै कुरा कृत्रिम तयार पारिरहेको छ । हुँदाहुँदा त बस्ने बास, लगाउने लुगा, खाने खानाको जोह पनि कृतिम नै हुँदै गइरहेका छन् । एक छानो बस्ने बास, एक आङ लगाउने लुगा तथा एक गाँस खाने खाना हरेक जीवनको नैसर्गिक अधिकारभित्र पर्ने कुरा हुन् ।
आज आम मानिसको स्वास्थ्यमा विभिन्न किसिमका प्रतिकूल परिस्थिति र्सिजना भइरहेका छन् । प्रकृतिको सम्पूर्ण हावा, पानी, माटो, आकाश र प्रकाश दूषित छन् । पहिले चालीस वर्षपछि लाग्ने समस्या आज बीस पच्चीस वर्षका जवानलाई देखा परिरहेका छन् । जस्तो मधुमेह पाकाहरूलाई लाग्ने समस्या भनेर सुनिन्थ्यो तर आज युवाहरूलाई प्राय: लक्षण देखिइसकेको आवस्था छ । उच्च रक्तचाप पनि पैंतीस चालीस पछिकै उमेरकोलाई लाग्ने समस्या जवानहरूलाई देखा परिरहेको परिप्रेक्षमा प्रकृति प्रेमको महत्त्व बढेको छ ।
संसार प्रकृतिको आफ्नै नियमअनुुसार सञ्चालन हुन्छ । प्राकृतिक भाषामा भन्ने हो भने देशको नीतिविपरीत काम गर्नेलाई जसरी सजायको भागिदार हुनुपर्छ, त्यसरी नै प्रकृतिको नियमविपरीत जानेलाई स्वाभाविक स्वस्थभन्दा प्रतिकूल प्रभाव सहनुपर्ने हुन्छ, त्यसैलाई अस्वस्थ वा रोग भन्न सकिन्छ । अब प्रश्न उठ्न सक्छ, प्रकृतिसँग मानव स्वास्थ्यको के सम्बन्ध हुन्छ ? मानव स्वास्थ्यमा यति सूक्ष्म चीजहरू छन्, जसको निश्चित कुराको अनुसन्धानको निष्कर्ष नभएको हुनाले विभिन्न व्यक्तिका व्याख्या फरकफरक पाइन्छन् ।
भौतिक हिसाबले प्राकृतिक संरचना पाँच तत्वले बनेको हुन्छ । जसमा हावा, पानी, आगो, माटो र आकाश मानिन्छ । प्राकृतिक संरचनामा हरेका रीतिले यिनीहरूको परस्पर सम्बन्ध रहन्छ । त्यसरी नै मानव शरीरमा पनि यिनै पाँच तत्वको परस्पर सम्बन्धबाट नै हाम्रो पूर्ण शरीरको संरचना भएको हुन्छ ।
हावा:
प्रकृतिमा हावा भन्नाले प्राण वा स्वासलाई लिन सकिन्छ । हरेक प्राणी स्वास प्रस्वासको प्रक्रियाबाट जीवित रहन्छ । हावा वा अक्सिजनबिना कुनै पनि प्राणी वा वनस्पतीको अस्तित्व सम्भव छैन । हावाविना संसारको सृष्टिको कल्पना पनि गर्न सकिँदैन ।
पानी:
मानिसको शरीरमा पनि सरदर ७० प्रतिशत पानी हुनु आवश्यक छ । यसको असन्तुलनले मानिस अस्वस्थ्य हुन पुग्छ । पानी हरेक वस्तुमा विद्यमान छ । यसको उपस्थितिविना प्रकृति नै अधुरो रहन्छ त्यसैले जति हावाको महत्त्व छ, पानीको पनि कम छैन ।
माटो:
पाँच तत्वको सम्पर्कमा जब वस्तु ठोस हुँदै जान्छ तब यसले माटोको रूप धारण गर्छ । माटो यी सबै कुराको आधार हो । बाह्य दृष्टिले ठम्याउन गाह्रो पर्ला तर वास्तविकता यही नै हो । हाम्रो शरीर सुरुमा नै ठोस थिएन । एउटा महिला र पुरुषको तरल रूपको डिम्ब र शुक्रकीटबाट विकसित यो बाल, जवान तथा बृद्ध हुँदै फेरि ठोस रूपमा नै मिलन हुुने माटोमा नै हो त्यसैले माटोको पनि ठूलो महिमा छ ।
आगो:
आगो पाँच तत्वमध्येको एक तत्व हो । यसलाई अग्नि तथा सूर्य भनेर पनि व्याख्या गरिन्छ । सामान्य रूपमा यसको त्यति महत्त्व देखिँदैन तर सृष्टिकै पहिलो रूप तेज शक्ति स्वरूप आगो हाम्रो शरीरमा नभइहुँदैन । यसको असन्तुलनले पनि मानिस रोगी हुन पुग्छ । शरीरभित्र भएको विद्युतीय चार्जको असन्तुलनले बाहिर थाहा पाउन सकिन्छ कि स्वास्थ्यमा गडबडी हुनु लागेछ । जस्तो ज्वरो आउनु तथा रुघाखोकी लाग्नु आदि यसका लक्षणहरू हुन् ।
आकाश:
आकाश सबैभन्दा ठूलो तत्व हो । यसको उपस्थितिबिना त कुनै कुरा पनि सम्भव छैन । खालिपन, संसारमा धेरै वैज्ञानिले धेरै खोज अनुसन्धान भयो भनेर दाबी गरे तापनि यसको विषयमा कतिपय कुरा अझै पनि रहस्यमय नै छन् । विनाखालिपन जसरी प्रकृति संरचना सम्भव छैन, त्यसरी नै विनाखालिपन मानव शरीरको पनि कल्पना गर्न सकिँदैन । हामीले वार्तालाप गर्ने स्वर या ध्वनि यसै खालिपनको सहायताले स्वासनली स्वरनलीको खालिपनको मद्दतले सम्भव भएको हो । स्वासप्रस्वास तथा रक्त संचार स्नायु प्रणाली जति पनि शरीरको प्रणालीको परस्पर सम्पर्क छ त्यो सबै आकाश तत्वको महत्त्वपूर्ण भूमिका रहन्छ ।
जनस्वास्थ्यको राम्रो प्रवर्धन भएको खण्डमा जनता बलियो भएको खण्डमा देश पनि बलियो रहन्छ, देश बलियो भएको अवस्थामा कुनै छिमेकी राष्ट्रले चलाउन सक्दैन। प्रकृति र स्वास्थ्यको परस्पर घनिष्ठ सम्बन्ध छ । स्वास्थलाई सदैव तन्दुरुस्त, सबल तथा सुदृढ बनाई राख्नका लागि प्रकृतिलाई पनि सफा तथा स्वच्छ राख्न जरुरी छ । हाम्रो हावा पानी र वातावरणलाई स्वच्छ राख्न र जीवन शैलीलाई प्रकृतिमय बनाउँदै लैजानका लागि राष्ट्र, समाज र व्यक्ति हामी सबैको साझा दायित्व हो ।
यसको व्यवस्थामा उचित सन्तुलन गर्न नसक्नु नै प्रकृतिदेखि टाढा रहनु हो । जस्तो हाम्रो बस्ने बास र सुत्ने ओछ्यान कस्तो हुनुपर्छ ? यसमा साधारण कडा, साह्रै गद्दीदार नभएको उत्तम रहन्छ । लुगामा पनि मौसमअनुसार र शरीरको आवश्यकताअनुसारको साधारण सुती, ऊनी, रेसम आदि राम्रा हुन्छन् । खानामा सात्युविक र साकाहारी, सकेसम्म साधारण तरिकाले पकाएको नुन, तेल, अमिलो, पीरो तथा मरमसला कम भएको खाना स्वास्थ्यका लागि लाभदायक हुन्छ ।
प्रकृतिप्रेम भनेको सामान्य भाषामा भन्ने हो भने प्रकृतिको नजिक रहेर जीवनयापन गर्नुलाई भन्न सकिन्छ । प्रकृतिसँग घुलमिल हुनु, प्रकृतिअनुसार चल्नु, प्रकृतिको नीतिनियमलाई मान्नु, समग्रमा भन्नु पर्दा जीवनलाई प्रकृतिमय बनाउने काम हो प्रकृतिप्रेम । हाम्रो शरीरको प्रकृतिसँग राम्रो तालमेल छ, प्रकृतिसँगको सम्पर्कबिना जीवन जिउनु पनि सम्भव हुँदैन । यदि हामीले शरीरलाई शक्ति मान्ने हो भने प्रकृतिचाहिँ महाशक्ति हो ।
शरीरमा शक्तिक्षिण हुने हो भने त्यो प्रकृतिमा नै गएर विलीन हुने हो । यदि प्राप्ति हुने हो भने प्रकृतिबाटै प्राप्त हुन्छ । त्यसैले प्रकृतिसँगको हाम्रो शरीरको गहिरो नाता रहेको हुनाले यसको मर्मलाई बुझेर हाम्रो जीवन शैलीलाई प्रकृतिमय बनाउनुपर्छ । प्रकृतिसँग प्रेम गर्न आवश्यक छ ।

प्रतिक्रिया