नेकपा–माओवादीका नयाँ बाटाहरू

anil-yogi-1कुरा अलि समय अगाडिको हो । चिनियाँ शासनविरुद्ध नेपाल खाल्डोमा आएर आत्मदाह गर्ने स्वतन्त्र तिब्बतका अभियन्ता डोमेन डुक्चेको विषयलाई लिएर चिनियाँ सरकारले केही समय पहिले नेपाल सरकारलाई नोट’ नै लेखेको थियो । त्यो विषयमा तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले चिनियाँ सरकारलाई कुनै प्रतिक्रिया दिन आवश्यक ठानेन र आजसम्म दिएको कतै सुनिएको पनि छैन । चिनियाँहरू हाम्रो महत्त्वपूर्ण धार्मिक स्थलमा आत्मदाह गरेर आफ्नो जीवन किन समाप्त गरिरहेका छन् ? विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको स्तुपामा नै चिनियाँहरू आत्मदाहको केन्द्र किन बनाउँदै छन् ? नेपालका राजनीतिक दलका नेता यो विषयलाई हल्का ढंगले किन लिँदै छन् ? यो विषयको अन्तरवस्तु खोतल्ने हो भने नेपाल राष्ट्रमाथि एक प्रकारको विपध ल्याउने गुरुयोजना अन्तर्गत आत्मदाहको शृंखला चलाइँदै छ भन्ने बुझिन्छ ।
४० वर्षिया अर्का चिनियाँ नागरिक कर्मा ग्यास्टोले पनि आफ्नो आत्मदाहको केन्द्र बौद्धस्तुपा नै बनाए । कर्मा २०१२ जनवरी ३० मा नेपाल आएका थिए । उनी स्वयम्भूस्थित तिब्बती रिफ्युजी रिसेप्सनमा बसेका थिए । तिब्बतको डामसुङबाट भारतको धर्मशाला हुँदै नेपाल आएका कर्माका विषयमा यो देशको शासन, सत्ता र दलका नेताले के भन्छन् ? त्यो कुरा महत्त्वपूर्ण हुन सक्दैन । किनकि यो देशका शासक नालाएक छन् भन्ने कुरा त विश्व राजनीतिक रंगमञ्चमा सिद्ध भइसक्यो । भारत निर्वासनमा बसेका दलाई लामा स्वतन्त्र तिब्बतको माग गरिरहेका छन् । त्यही कारण चिनियाँहरू यसरी आत्मदाहको मार्ग रोजिरहेका छन् । भनिन्छ छिमेकी राष्ट्र चीन विश्वमा आर्थिक हिसाबले विकसित राष्ट्रका रूपमा विकाश हुँदै गएको छ । चीनको विकाश र प्रगतिले विश्व अर्थतन्त्रमा उसको महत्त्वपूर्णस्थान कायम हुँदै गएको पनि देखिन्छ । त्यही देशका जनता यो गरिबहरूको भूमिलाई आत्मदाह र मृत्युको केन्द्र किन बनाइरहेका होलान् ?
आत्मदाहबाट एउटा चिनियाँ नागरिकको जीवन जानु त्यो पनि हाम्रो देशमा राम्रो कुरा हुनै सक्दैन । हामी नेपालीले बुझ्नुपर्छ, यो कुनै असल नियतका साथ गरिएको कर्म होइन । यो त दलाइ लामाको राजनीतिको हामी मार खेप्दै छौँ । धर्मका ठूलठूला आदर्श पनि छाँटने अर्कोतर्फ निमुखा दुनियाँलाई मृत्युको मुखमा धकेल्ने धर्मभीरुका कारण विगत विश्व राजनीतिमा मानव विनाशका ठूलठूला युद्ध पनि भएका छन् । जुनसुकै नामको युद्धमा पनि निमुखा दुनियाँ नै बलिमा चढ्छन् तर त्यही दुनियाँमा त्यो कारकतत्व र व्यक्ति महान् धर्मात्माका रूपमा पुजिन्छ र पुज्नेहरू पनि हुन्छन् । मानिस भएर जन्मिने तर आफ्नो विवेक स्वचालित गर्न नसक्ने मानव दुनियाँका नाममा राजनीति गरिन्छ, धर्मको नौटंकी गरिन्छ केबल मारिन्छन् र मर्छन् बिचराहरू † यो कुकर्म रोकिनेवाला पनि छैन । किनकि मानिसमा आफू मानिस हुनुको चेतना र ज्ञान भएन भने त्यो पशुतुल्य नै हुन्छ, यस्तै प्रकारले सहज मृत्युको मुखमा आफैँ पर्न जान्छन् । कसको जीवन रक्षाका लागि को नै जन्मेको हुन्छ र ? आजसम्मको मानव इतिहासमा कुन धर्मगुरुले कसको जीवन बचाएको छ र ?
नेपाल राष्ट्र साँच्चिकै हरेक हिसाबले स्वर्ग नै हो । हामीलाई धर्ती माताले न्याय नै गरेकी हुन् तर सुन्दर राजनीतिक नारा अगाडि सारेर यो देशलाई नरक बनाउने र मानिसको जीवनसँग खेल्ने हरेक विचारका राजनीतिक खेलाडी अहिले पनि नेपालको राजीतिमा सक्रिय भूमि खेलिरहेका छन् । जोजसले देश र नेपाली समाजलाई लथालिङ बनाए तिनीहरूको पहिचान पनि नेपाली समाजमा खुलिसकेको छ । जसले देशको अस्मिता र जनताको जीवन नै धरापमा पारिरहेका छन् तिनका पछाडि आँखा चिम्लेर दौडिने नेपाली दुनियाँ आत्मदाहकै मार्गमा लम्किरहेको छ । हामी नेपाली जनताले गर्वसाथ यो राष्ट्रमा मर्न आउनेहरूलाई स्वागत गर्दै अझै मार्ग प्रशस्त गर्नुपर्छ । यो भूगोल हामीले त्यत्तिका लागि मात्र पाएका हौँ । हामीसँग कुनै जीवित चेतना र विचार छैन भन्ने कुरा त विश्व मानव दुनियाँमा हामीले स्थापित गरिसकेको नयाँ मान्यता नै हो । दलका नेताले यो युगको हाम्रो दुरावस्थालाई सुन्दर राजनीतिक सफलताका रूपमा लिएका हुन भने तिनीहरूलाई नालायक नै भन्नुपर्छ ।
विगत कुनै पनि देशको नागरिक यो देशमा आएर शान्ति र स्वतन्त्रपूर्वक बाँच्न सक्ने अवस्था थियो, आज त्यो अवस्था छैन । हामी नेपाली यति निरीह भयौँ कि आफू त सुरक्षित हुन सकेनौँ नै विदेशीलाई पनि सुरक्षा दिन नसक्ने अवस्थामा पुग्यौँ । राजनीतिको नाममा दलका नेताले राज्यका सबै संरचना कम्जोर बनाउने काम गरे । तिनीहरूलाई सरापेर मात्र अब कुनै उपलब्धी होला र तिनीहरूको चेतना जाग्ला भन्ने आशा र विश्वास गर्न पनि सकिँदैन । आफ्नो बुद्धिले गरेका काम अन्जानवस बिग्रियो भने सुधार गर्न सकिन्छ तर अर्काको विचार र बुद्धिले गरिएका काम सुधार गर्न सकिँदैन । हाम्रा नेता आफ्नो देशको प्रगतिका लागि आफ्नो बुद्धि प्रयोग गर्न सक्ने अवस्थामा छैनन् । दलका नेताको राजनीतिले यो देश नेपालीका लागि त मसानघाट बनेको थियो नै अब त विदेशीका लागि पनि सजिलो र सुगम मसानघाट बन्दै छ ।
हाम्रा नेतालाई लाज पनि नलाग्ने, आफ्नो देशप्रति माया पनि नलाग्ने कस्तो नालायक पुस्ताका हाथमा देशको राजनीतिको बाग्डोर पुगेछ, सोच्न पनि सकिँदैन । नत देशको भविश्य सुन्दर देखिन्छ तन जनताको जीवनको सुरक्षा छ । देशभित्र आत्मदाह त हाम्रा नालायक नेता र समाजमा छाँटिएर हिँड्ने हामीले गर्नुपर्ने हो । विदेशी आएर आफ्नै आँगनमा आत्मदाह गर्छ यो देशको शासकवर्ग र जिम्मेवार निकायमा बसेका व्यक्तिहरूले सुइँको सम्म पाउँदैनन् । राज्यको मूल्य, मान्यता यसरी लथालिङ र भताभुङ भयो कि दिन प्रतिदिन यसको सुधार गर्न निकै कठिन हुने अवस्था विकाश भएर जाँदै छ । जुन देशमा मानिसको जीवनको सुरक्षा हुन सक्दैन त्यो राष्ट्र, राज्य कसरी हुन सक्छ ? दलका नेताले यो देशलाई के गर्न खोजेका हुन ? यो राष्ट्रलाई कसरी चलाउन खोजेका हुन ? यो विषयमा घनीभूत रूपमा देशभित्र बहस चलाउनुपर्ने अवस्था सिर्जना भएको छ । कुनै पनि देशको नागरिकले हाम्रो देशमा आएर मर्नु भनेको यो देशको शान्ति, सुरक्षा र राज्यलाई एक प्रकारको चुनौती नै हो ।
संसदीय व्यवस्थाको नाममा राजनीति गरिरहेका लफंगा र तिकडमबाजलाई आफ्नो राजनीतिक महत्त्वाकांक्षा पूर्तिका लागि राष्ट्र र जनताको जीवन दाउमा राख्नु सहज भएको छ । धूर्त व्यक्तिगत स्वार्थका लागि लाभको योजना बनाएर कुनै विचारको राजनीति गरिरहेका छौँ भन्नेहरू धर्म वा धार्मिक सम्प्रदायको वकालत गरेर आफ्नो उद्देश्य पूरा गर्न चाहनेहरू, दुवै प्रवृत्तिका मानिसले आउने विपद्लाई अन्दाज गर्न सकिरहेका छैनन् । फरकफरक राजनीतिक विचार, वाद, धर्म र सम्प्रदायका नाममा कुनै पनि राष्ट्रका जनतालाई आपसमै जुधाउने नियतसाथ आत्मदाहसम्मको अवस्थामा वा मृत्युको मुखमा धकेल्ने व्यक्ति धार्मिक हुन सक्दैन । कुनै पनि व्यक्तिले प्रतिपादन गरेको राजनीतिक विचार होस वा धार्मिक विचार त्यो नै अन्तिम सत्य हुन सक्दैन ।

प्रतिक्रिया