पुरन्धाराको छहरा पर्यटकीय गन्तव्य

KB-Mashalएसियाको ठूलो मानिएको दाङ उपत्यका जसको लम्बाइ ९२ किमी छ । पूर्वमा प्यूठान जिल्लाको सिमाना गनाहखोलाबाट सुरु हुने महाभारत पर्वतले पश्चिम सल्यान जिल्लाको सीमा शारदाखोलासम्म प्राकृतिक वन, झर्ना, गुफा र यस्तै अन्य प्राकृतिक स्वरूपले दाङको महत्त्व बढाएको छ । पश्चिम दाङको पुरन्धारा गाविस –१ गैरीगाउँमा रहेको दाङ जिल्लाको पर्यटकीय स्थलको रूपमा विकास हुन थालेको झर्नाले मानवबस्तीको महत्त्व बढाउनुका साथै पर्यटकलाई पनि आकर्षण गराएको छ । कडा चट्टानबाट निर्मित पहाडबाट झर्ने सेतो पानीको झर्नाले प्रकृति प्रेमीलाई पुग्नैपर्ने ठाउँ बनेको छ, पुरन्धाराको छहरा भएको गाउँ गैरीगाउँ । तुलसीपुर बजारबाट ३० किमीको दूरीमा रहेको पुरन्धाराको झर्ना १५० मिटरको उचाइबाट झरेको छ । यो झर्नाबाट बगेको पानीले पुन: केहीतल अर्कौ ७० मिटर अग्लो झर्ना बनेको छ । एउटै पानीको स्रोतबाट यसरी बनेको झर्ना हेर्नका लागि आजभोलि दाङलगायत अन्य जिल्लाबाट समेत मानिस पुरन्धारा पुग्न थालेका छन् । निर्माणाधीन दाङ–सुर्खेत सडक तुलसीपुरदेखि सुर्खेत जिल्लाको बोटेचौरसम्म ८५ किमि पर्ने हँदा अब सुर्खेतबाट समेत दाङ उपत्यकामा आउन सजिलो हुने भएको छ ।
महाभारतको श्रृंखला पुरन्धारा–८ बगरपुर गाउँबाट बग्ने कालाखोलाको पानी नै पुरन्धाराको पर्यटकीय झर्ना हो । झर्नाभन्दा माथि महाभारत पर्वतको उत्तरतिर सल्यान जिल्लाको लक्ष्मीपुर र काभ्रा गाविस पर्छ । चट्टानसँग ठोकिएर बनेको झर्ना टाढाबाट हेर्दा सेतो धागोको आकृतिमा देख्न सकिन्छ । त्यसैले यो झर्नालाई स्थानीय भाषामा धागेझर्ना पनि भन्ने गरिन्छ । ऐतिहासिक झर्ना केही वर्षयता यसको महत्त्व बढ्न थालेपछि स्थानीय स्रोत साधनलाई परिचालन गरी शिवको मन्दिर, पानीको पोखरी, प्राकृतिक मूललाई खानेपानीको प्रबन्ध मिलाएर स्थानीय बासिन्दाले त्यहाँ पुग्ने मानिसलाई सुविधा दिलाएका छन् । छहरा हेर्न जाने मानिसले प्राकृतिक छहरा, वन, चराचुरुङी र ग्रामीण बस्तीका बारेमा अध्ययन गर्न सक्छन् । पुरन्धारा दाङ जिल्लाको विविध संस्कृतिको धनी बस्ती हो । यस गाविसमा परम्परादेखि बसाइँ सर्नेक्रमले गर्दा सल्यान, रुकुम र जुम्लासम्मका मानिसको बसोबास छ । त्यसैले गर्दा पुरन्धारामा विभिन्न जिल्लाको भाषा र संस्कृतिको पहिचानसमेत भेट्न सकिन्छ । जुम्लाको डेउडा, रुकुमको मयूर नाच र सल्यानको टप्पा नाचको दृष्य पनि पुरन्धरामा देख्न सकिन्छ ।
विकाश भनेको पविर्तन हो । परिवर्तन अनन्त चलिरहने प्रक्रिया पनि हो । पश्चिम दाङको पुरन्धाराको छहरालाई ग्रामीण पर्यटकीय स्थलको रूपमा विकाश गर्नुपर्ने माग हुन थालेको छ । पुरन्धारामा छहरा मात्र होइन ऐतिहासिक पानीघट्ट पनि देख्न सकिन्छ । पौराणिक कालखण्डको यो प्रविधि नदेखेका मानिसका लागि महत्त्वपूर्ण मानिन सक्छ । एउटै ट्वाङ खोलाको पानी र एउटै कुलोबाट हंसपुर गाउँमा ७ स्थानमा घट्ट र त्यही पानीबाट सुपारे भन्ने गाउँमा पानीमिल सञ्चालन भएको छ । पानीबाट घट्ट र मिल सञ्चालन भएपछि बगेको पानीले घट्टेखोला, पतेरी, धनुबास, सीतापुर र रातामाटाका सयौँविघा जमिनसमेत सिंचाइ भएको छ । ग्रामीण बस्तीमा यस्तो बहुउद्देश्य कृर्षि विकाशको पूर्वाधार देख्न पाउँदा पुरन्धाराको छहरा हेर्न जाने मानिस आकर्षित हुने गरेका छन् । तरेली परेको पुरन्धाराको हंसपुर गाउँको बस्ती, बब ैनदीको किनार, बस्ती तल हरियाली वनजंगल र रमणीय वातावरण पुरन्धाराको विशेषता हो ।
जिल्लाभित्र पनि प्रचारप्रसार हुन नसकेको पुरन्धाराको अर्को छहरा हो पुरन्धारा–१ मथुरेकोटको । यो छहरा पुरन्धारा र पञ्चकुले गाविसको सिमानामा बग्ने चेटिखोलाको शिरमा पर्छ । महाभारत पर्वतको श्रृंखलामा पर्ने यो छहरामा पुग्नका लागि गैरीगाउँदेखि २ किमी उत्तर पैदल यात्रा गर्नुपर्छ । हापुरे, गैरीगाउँ हँुदै दाङ र सल्यानको सिमानामा पर्ने महाभारत पर्वतको ठाटीखोला गाउँको बाटो हँुदै सल्यान जाने घोरेटो बाटोमा पर्नै मथुरेकोटको छहरा प्राकृतिक छहरा हो । यो छहरा वरपर घना जंगले छ । महाभारत पर्वतको खारा र अखेला गाउँ नजिकैको यो छहराको प्राकृतिक आनन्दसँगै पुरन्धारा आसपासका ऐतिहासिक सम्पदासमेत अवलोकन गर्न सकिन्छ । पर्यटकीय सम्पदाको दृष्टिकोणले पुरन्धारा उपयुक्त छ । तर, यसका लागि पुरन्धारा क्षेत्रका प्राकृतिक पर्यटकीय सम्पदाको खोज, अनुसन्धान र आवश्यक प्रचारप्रसार हुन सकेको छैन ।
पुरन्धाराको छहरा मात्र होइन यहाँ पुग्ने मानिसका लागि गंगामाला बज्युको मन्दिर पनि अध्ययन अनुसन्धानका लागि अर्को धार्मिक सम्पदा छ । पुरन्धारा–२ हापुरेमा रहेको गंगामाला बज्युको मन्दिर च्याटीखोलाको पश्चिम किनारमा छ । यस मन्दिरको ऐतिहासिक शिला, ताम्रपत्र जस्ता प्रमाणहरू मन्दिरसँग नभए पनि यो मन्दिर ऐतिहासिक मानिन्छ । करिब सय वर्षअगाडि सल्यान जिल्लाको रामपुर कालीमाटीमा रहेको ऐतिहासिक मन्दिरबाट घण्ट र शिला ल्याएर मन्दिर स्थापना गरिएको यो मन्दिर खोज अनुसन्धानका लागि थप सम्पदा बनेको छ । पुरन्धारा दाङ जिल्लाको पश्चिम सल्यान र बाँके जिल्लासँग जोडिएको गाविस हो । दाङ उपत्यकाको सबै खाला र झर्नाको पानी बवै नदीमा मिसिएर यसै गाविसबाट बाँके जिल्लामा प्रवेश गर्छ । पुरन्धाराको झर्ना हेर्न जाने मानिसका लागि बबै नदीको जल सम्पदा समेतको पनि आनन्द लिन सकिन्छ । बबै नदीमा देखिने जल हाँस, जंगलमा भेटिने बन्यजन्तु, चराचुरुङगीले जो कोहीलाई पनि छुट्टै आनन्दको अनुभूति हुन्छ ।
महाभारत पर्वतको सीमा बनेर दाङसँग जोडिएको सल्यान जिल्लाका काभ्रा र लक्ष्मीपुर, एवं रामपुरकाल्चे गाविसको ऐतिहासिक धार्मिक पर्यटकीय स्थलको पनि पुरन्धारा जाने इच्छुक पर्यटकलाई थप गन्तव्य स्थल बन्न सक्छ । अहिले हाम्रो समाजमा आफ्नो देश भित्रका प्राकृतिक सम्पदा, धार्मिक मठ, मन्दिर को भ्रमण र अनुसन्धान गर्नेको संख्या क्रमश: वृद्धि हुन थालेको छ । यो राम्रो पक्ष हो । तर, आफ्नो गाउँमा आन्तरिक वा बाह्य पर्यटक भित्र्याउन पहिले गाउँको आधारभूत विकास हुनुपर्छ । विकासको पूर्वाधार भनेको सडक, पानी, बत्ती, शिक्षा, स्वास्थ्य र सुरक्षाको अनुभूति दिलाउन सक्नुपर्छ । हाम्रा गाउँघर यी सबै कुराबाट पछाडि परेका छन् । सडक बनेका छैनन्, बनेका सडक पनि अधिकांश कच्ची नै छन् । भरपर्दो यातायातका साधन सडकमा गुड्दैनन् । गाउँघरमा पर्यटकलाई खाने र वासबस्ने होटल र लजको प्रबन्ध पनि गाउँघरमा हुँदैनन् ।
अहिले ग्रामीण पर्यटकीय स्थल र पर्यटकहरूको सख्या वृद्धि गराउन होमस्टेको प्रचलन बढेको छ । एउटा मानिस कुनै उद्देश्यले गाउँमा पुग्दा बस्नेखाने सुविधा पाउन सकियो भने त्यो सुविधाले अरू मानिस गाउँमा पुग्न सक्छन् । आफ्नो गाउँमा भएका ऐतिहासिक प्राकृतिक, धार्मिक वा अन्य कुनै किसिमका सम्पदाको अवलोकन गराउन पर्यटकको खोजीमा लाग्ने ग्रामीण बस्तीले पहिला होमस्टेको विकाश गर्न जरुरी छ । पुरन्धारा गाउँ होमस्टे सञ्चालन गर्न सकिने उपयुक्त स्थल मानिन्छ । दाङ, सुर्खेत निर्माणाधीन सडकले बीचभागबाट नागबेली आकृतिको रेखांकन बनाउँदै दाङ सल्यानको सीमा शारदा नदीपार गर्दै सल्यान रामपुर काल्चे पारगरी सुर्खेत पुग्ने सडकले निकट भविश्यमा पुरन्धाराको प्राकृतिक झर्नाको महत्त्व झनै बढाउँछ ।

प्रतिक्रिया