श्रीमानको भाग्यको फैसला

Khilraj-Regmi चार राजनीतिक दलका असीम अनुकम्पाले न्यायपालिका प्रमुख हुँदाहुँदै पनि कार्यपालिका प्रमुखको पदमा आसीन हुन पाएका मुलुकको इतिहासमा सबैभन्दा भाग्यवान प्रधानन्यायाधीश सम्माननीय श्रीमान् खिलराज रेग्मीलाई आजकल दोहोरा चिन्ताले सताएको छ । चारदलीय संयन्त्र र चुनावविरोधी राजनीतिक दलबीच वार्ता हुँदै छ, श्रीमान्को चिन्ताको लेवल पनि गुणात्मक रूपमा अगाडि बढ्दै छ । मंसिर ४ मा हुने भनिएको अर्को संविधानसभाको निर्वाचन सारेर उनी आफैँ असफलताको जस लिने पक्षमा पनि छैनन् तर उनी चुनाव गराउन पनि चाहन्नन् । चुनाववादी र प्रतिवादी दलबीच मिलापत्र नभइदिए वा मिलापत्र भए पनि चुनाव सार्ने गरी भइदिए आफू पानीमुनिको ओभानो भएर राजनीतिक दललाई अपजसको भारी बोकाउने भित्री योजनामा रहेका श्रीमान्को भाग्यको फैसला हुने घडी नजिकिन लागेको छ । शनिबारको वार्ताको नाटकले त श्रीमान्लाई झन् ओझेलमा पारेको छ ।
‘०७० साल मंसिर ४ गतेभित्र त जसरी पनि नयाँ संविधानसभाको निर्वाचन गराउँछु’ भनी चारदलीय संयन्त्रलाई साक्षी राखी शीतलनिवासमा शपथग्रहण गरेका श्रीमान् रेग्मी जति फुर्तीफार्तीका साथ बालुवाटार छिरेका थिए अब त्यो फुर्ती विस्तारै हराउँदै गएको छ । उनी अब यो मंसिर ४ गते भन्ने दिन कहिल्यै नआइदिए हुन्थ्यो भन्नेमा पुगेका छन् । रोपाइँको बेलामा सम्याइएको गरामा फेरी आली कान्ला भत्किएछ भने खेतालालाई जसरी नैराश्यता हुन्छ ठीक त्यसैगरी यो चार दल मालिक रहेको खेताला सरकारलाई पनि नैराश्यता उत्पन्न भएको छ ।
श्रीमान्को सरकारले आँट नगरेको चाहिँ होइन । जे गरेर भए पनि, जसरी भए पनि मंसिर ४ गतेभित्र संविधानसभाको निर्वाचन अनिवार्य रूपमा गराउने भन्ने नेपालको अन्तरिम संविधान ०६३ माथिको राष्ट्रपति महोदयको ०६९ चैत १ गतेको बाधा–अड्काउ फुकाउ आदेशलाई कार्यान्वयनमा ल्याउने हरसम्भव प्रयास गर्‍यो, श्रीमान्को सरकारले र अहिले पनि गरिरहेको छ । तर, मालिकहरू आ–आफँैमा अन्य–अन्य कुराका पछि लागिदिँदा श्रीमान् निराश हुन थालेजस्तो देखिएको छ । यद्यपि, वास्तविकता खोज्दै जाने हो भने श्रीमान् आफँै चुनाव गराउन चाहँदैनन् । तागतले भ्याएसम्म त सरकारले गरेकै हो, गरेन भन्न मिल्दैन । चुनावको मिति ठ्याक्कै तोक्ने सवालमा पनि दलहरूका आ–आºनै मतभिन्नता थिए । त्यसका साथै ‘थ्रेसहोल्ड’ मा पनि पेलेरै ल्याएको हो । निर्वाचन आचारसंहितामा पनि अलि बलै लगायो सरकारले । तर, अब सरकारको बलै समाप्त भएको हो वा अब यस्तै होस् भन्ने चाहेको हो थाहा छैन । चार दलका शीर्ष नेताले यदि चुनाव प्रतिवादी पनि चुनाववादी बन्ने ग्यारेन्टी भए चुनावको मिति पनि सार्न सकिन्छ भन्ने आशय व्यक्त गरेपछि श्रीमान्लाई अलि राहत मिलेजस्तो भएको छ, त्यसका साथसाथै छट्पटी पनि दुगुना भएको छ ।
समग्रमा मुलुकका लागि र कानुनी व्यवस्थाका लागि त मंसिर ४ गते चुनाव नहुनु दु:खदायी कुरा हो । तर, प्रधानमन्त्री श्रीमान् स्वयंका लागि सौभाग्यको कुरा पनि हो । ‘प्रधानमन्त्री हुने भए सर्वोच्च न्यायालयबाट राजीनामा दिएर जा’ भन्नेहरू अहिले पनि राजीनामाको माग गरिरहेका छन् । राजीनामा माग्नेमा चुनाववादी र प्रतिवादी दुवै छन् । मंसिरमै निर्वाचन सम्पन्न भयो भने त बालुवाटारमा नयाँ निर्वाचित प्रधानमन्त्री आउँछन् । त्यसपछि श्रीमान्ले आºनो पुरानै जिम्मेवारीमा फर्कनुपर्ने बाध्यता छ । यदि, त्यसो भयो भने उनी इतिहासमै सबैभन्दा अपमानित र विवादित न्यायमूर्ति हुनेछन् । उनलाई सर्वोच्च प्रवेश गर्नबाट गेटमै रोकिनेछ । यस अवस्थामा श्रीमान्का लागि दुई विकल्प रहनेछन् ।
१. जति विवाद र विरोध भए पनि आफूलाई प्रधानन्यायाधीशै हुँ भनस् प्रहरीको बलमा पुरानो र्कुीिमा पुग्ने,
२. फेरि बालुवाटारबाटै मथुरा, काशी, गयाको बाटो रोज्ने । यी दुइटै बाटा पनि त्यति सजिला छैनन् । यदि, उनी सर्वोच्च जान्छन् भने उनको हविगत अर्कै हुन्छ, जान्नन् भने भागेर गयो भन्ने पर्छ अर्थात् उनी सम्मानजनक रूपमा प्रधानन्यायाधीशको कुर्सीबाट सेवानिवृत्त हुन सक्दैनन् । त्यसैले श्रीमान्का लागि यो धर्मसंकटको अवस्था छ ।
त्यसकारण श्रीमान्का लागि यो दु:खद घडी हो । श्रीमान् आफँै चुनाव सार्नुपर्‍यो भन्छन्, अक्षमको बिल्ला भिर्नुपर्छ, जसरी पनि गरौँ भन्छन् लामो सरकारी सेवाबाट बिदाइ हुँदा अपमान खेप्नुपर्ने स्थिति छ । त्योभन्दा त चुनाववादी र प्रतिवादी दलबीचको वार्ताले चुनाव सार्नेतिर सकारात्मक मोड लियो र चुनाव चैत वा वैशाखमा हुने भन्ने भयो भने त श्रीमान्को दुवै हातमा लड्डु हुनेछ । प्रधानन्यायाधीश भइ–भई प्रधानमन्त्री पनि हुन पाइहालियो, बालुवाटारबाटै सेवानिवृत्त पनि हुन पाइहालियो । इतिहासमा प्रधानमन्त्री पदबाट सेवा निवृत्त हुने प्रधानन्यायाधीश भनेर दर्ज हुनेछ, सायद ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा पनि दर्ज होला । यदि त्यसो भयो भने श्रीमान्ले धाक लाउन पाउने ठाउँ पनि प्रशस्तै रहन्छ । ‘म त जसरी पनि तोकिएकै समयमा निर्वाचन गराइहाल्थँे तर दलहरूले सार्ने सहमति गरे’ भन्न पनि पाउने, ‘अलि ढिला भए पनि चुनाव त गराएरै छाडेँ नि †’ भन्न पनि पाइहाल्ने ।
त्यसैले यो अवधि श्रीमान्का लागि यति पीडादायी भएको छ कि उनले न त्यो कुरा कसैसँग व्यक्त गर्न सक्छन् न त आफँै झेल्न सक्छन् । साँच्चै भाग्यको फैसला गर्ने घडी अहिले छ । ‘श्रीमान्’ श्रीमान्को हैसियतले सम्मानित भएर पेसाबाट अवकाश हुने कि आमप्रधानमन्त्रीजस्तै गरी अपमानित भएर बालुवाटारबाटै झोली–झिम्टो बोकेर आºनो बाटो रोज्ने ?’ अस्तु ।

प्रतिक्रिया