निर्वाचनमा अवसरवादी अनुहार

BB-Shresthaपहिलो संविधानसभाले संविधानसभाको घोषणा नगरी विघटन भएपछि यति बेला देशमा दोस्रो संविधानसभाको चुनाव लागेको छ । संविधानसभाको निर्वाचनका लागि मुख्य उद्देश्य लिएर गठन भएको रेग्मी सरकार जसरी पनि मंसिर ४ गते संविधानसभाको निर्वाचन गर्नका लागि तयार भएको छ । यसमा देशका मुख्य राजनीतिक दल एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाले जसरी पनि चुनाव गर्नुपर्ने भन्दै आइरहेका छन् । संविधानसभा केका लागि र यसले देश र जनताका लागि निकास दिन सक्छ कि सक्दैन भन्ने यथार्थता प्रस्तुत गर्न सकेको देखिँदैन । यसबाहेक एमाओवादीबाट विद्रोह गरेर अलग पार्टी गठन गरेको मोहन वैद्यको नेकपा–माओवादी भने यो संविधानसभालाई विदेशीले गरेको नाटकको संज्ञा दिएर विदेशी सम्राज्यवादको विरोध गर्दै आइरहेको छ । यति मात्र होइन, कथंकदाचित संविधानसभाको निर्वाचन भएमा झन् विदेशी हस्तक्षेप बढ्ने मात्र होइन, औपनिवेश बन्ने कुरा अगाडि सारेको छ । यसैगरी, राष्ट्रियता नै संकटमा पर्ने र देश नै चरम द्वन्द्वको भुमरीमा फस्न जाने दाबीसहित उसले यो संविधानसभाको निर्वाचनलाई जसरी पनि बहिष्कार गर्ने र असफल पार्ने उद्घोष गरेको छ । दुवै पक्षको यो क्रियाकलापलाई हेर्दा अबको केही दिनपछि फेरि पनि युद्ध हुने कुरामा विमति नरहन सक्छ । राष्ट्रियता, संविधानसभाको विवादित विषयमा गोलमेच सम्मेलनपछि निकास निकाल्ने भन्दै दुवै पक्ष वार्तामा बसे पनि यसले कुनै निकास दिन सकेन ।
नेकपा–माओवादीको जसरी पनि निर्वाचन भाँड्ने र सरकारको जसरी पनि निर्वाचन गराइछाड्ने अडानको बीचमा बगेको यो समयमा आमजनतामा कुतूहलता जागेको छ । एकातिर सरकार पक्षको तयारी छ भने अर्कोतर्फ १० वर्ष द्वन्द्व गरेको जमात, जसले संविधानसभाको सशक्त बहिष्कारस्वरूप रत्नपार्कमा मतपेटिका फुटाएर विरोध जनाएको अवस्था छ । जिल्लाको गतिविधिमा शून्य रहने, पार्टीलाई आफ्नो बाउको पेवा सम्झने, विगतमा गरेको कर्मको ब्याज खाने प्रवृत्ति मौलाएको छ । पैसा र धम्कीको आडमा आºनो सिट सुरक्षितका लागि क्षेत्र जिल्ला मात्र होइन, केन्द्रमा समेत आºनो पहुँच पुर्‍याएका हुन्छन् । पार्टी काममा सिन्को नभाँच्ने, पार्टीको नीति, नियमभन्दा बाहिर हिँड्ने, पार्टीमा अराजकता सिर्जना गर्ने व्यक्ति नै निर्वाचनको संघारमा टिकटका लागि अग्रपंक्तिमा रहेको पाइन्छ ।
अवसरका लागि जस्तो पनि कदम चाल्न उद्यत रहने यो प्रवृत्तिले आमकार्यकर्ता पिल्सिएका छन् । अवसर प्राप्तिका लागि पार्टी चाहिने नेताहरू पार्टी कामका लागि भने उदासीन रहने पाइएको छ । जसरी पनि आफूअनुकूलको निर्णय गर्नका लागि पार्टीलाई नै बन्धक राख्न नेताहरू चुनावको मुखमा भने नेताको घरदैलोमा टिकटका लागि भौंतारिरहेको पाइन्छ । त्यति मात्र होइन, चुनावको संघारमा अर्को पार्टीमा प्रवेश गरेर आºनो टिकट सुरक्षित गर्न हरेक पार्टी परित्याग गरी हरेक पार्टीमा प्रवेश गरेको पाइन्छ । स्वार्थता, चरम अवसरवाद हाबी हुँदै जाँदा र निर्वाचनको संघारमा आइपुग्दा वर्षौंदेखि पसिना बगाएको पार्टीलाई लत्याएर नयाँ पार्टीमा प्रवेश गर्दा जनताले के सोच्लान् भन्ने कुरामा कथित राजनीतिज्ञले बुझेर पनि बुझ पचाएका छन् । वर्षाैंदेखि पार्टीमा लागेर देश र जनताका लागि लडेका व्यक्तिले अवसर नपाउने तर हिजो आएका पिपलपाते/अवसरवादीले नेताको फेरो समातेकै भरमा राजनीतिमा अवसर, पद, प्रतिष्ठा पाउने परिपाटीले पूर्णरूपमा गाँजेको पाइन्छ । प्राप्ति र अवसरका लागि जता पनि ढल्कन सक्ने नेतालाई आमजनताले कुनै पनि समयमा दण्डित गर्न सक्नेछन् भन्ने सामान्य हेक्का पनि राख्न नसक्नुले उसको व्यक्तित्वलाई नांगझार पार्छ ।
पार्टी भनेकै आफँै मात्र हो र अरूको यो पार्टीमा कसैको पनि स्थान छैन भन्ने कुभावनाले पनि आमव्यक्तिलाई गाँजेको पाइन्छ । पार्टी नै आºनो बाउको बिर्ता हो र पार्टीलाई जसो गरे पनि र जे गरे पनि हुन्छ भन्ने मनसायले गर्दा पनि समाज बन्धक बनेको हुन्छ । जहिले पनि र जहाँ पनि आफँैलाई मात्र स्थान चाहिने तर अरू नेता–कार्यकर्तालाई कहिल्यै पनि अवसर नपाउने प्रवृत्तिले कर्मठ, कुशल, नेता–कार्यकर्ता ओझेलमा परेको पाइन्छ भने त्यस्तो व्यवहारले उनीहरूलाई हीनताबोध बनाउँछ । हिजो अवसर र पदका लागि छाडेर गएको पार्टीमा पुन: आउने प्रचलनले पनि त्यसलाई पुष्टि गर्छ । पद, प्रतिष्ठा, मान अवसरका लागि जता र जुन पार्टीमा पनि प्रवेश गर्ने परिपाटीले गर्दा आमपार्टीप्रति निष्ठावान, विवेकी नेताहरूलाई मर्माहित गराएको पाइन्छ ।
के युवाले कहिल्यै पनि अवसर नपाउने ? चुनावमा टिकट नपाउने ? अनि वरिष्ठको नाममा पहँुचवाला नेताले मात्र अवसर र टिकट पाउने ? पैसाको धाक–धम्की, गुन्डागर्दीले मात्र स्थान पाउने हो भने सोझा–साझा आमकार्यकर्ता कहाँ जाने ? के निर्वाचनमा उठ्न बौद्धिकता, सक्षमता, योग्यता, कुशलताको कुनै मूल्य हुँदैन ? के राजनीतिमा बौद्धिक, क्षमतावान व्यक्ति सधँै पछाडि मात्र पर्ने र अवसरवादीले मात्र स्थान पाउने हो ? यदि, होइन भने कुनै पनि व्यक्ति देश विकास गर्ने, संविधान निर्माण गर्ने ठाउँमा योग्यता, क्षमता, दूरदर्शिता, क्षमतावान व्यक्तिले पनि अवसर पाउनु पर्दैन ? कोही पनि अवसरवादी/नवप्रवेशी चैतेहरूले मात्र नेताको वरिपरि घुमेर, पैसाको खोलो बगाएर, धाक–धम्की र अराजकता सिर्जना गरेर हरेक अवसर, पद, प्रतिष्ठा प्राप्त हुन्छ भने देश र जनताको विकास गर्छु, परिवर्तन गर्छु भनेर फाटेको सुरुवाल र चप्पल लगाएर जनताको घरदैलोमा पुग्नुको के अर्थ भयो र ? केन्द्रमै बसेर ठूलो नेताको फेरो समातेर देश परिवर्तन हुने भए, आमजनताको जीवनशैलीमा परिवर्तन हुने भए, कुनै विकट गाउँमा बसेर राजनीति किन गर्ने ?

प्रतिक्रिया