आठ करोडको उखुबाली नस्ट

sugarविराटनगर, ३१ भदौ । सुनसरी र मोरङ जिल्लामा किसानले लगाएको उखुबालीमा रोग लाग्दा आठ करोड मूल्य बराबरको उखुखेती नष्ट भएको छ । नेपाल औद्योगिक विकास निगम विराटनगरलगायत विभिन्न बैंकबाट ऋण लिएर गरिएको उखुखेती अन्तर्गत आठ सय बिघा उखुबालीमा रोग लागेपछि त्यस्तो खेतीमा मात्र निर्भर किसान चिन्तित भएका छन् ।
उखुमा केही दिनअघि मात्रै यस्तो रोग देखिएको हो । उक्त रोग दिनप्रतिदिन बढ्दै गएको छ । सुनसरीको अमाही बेलामा रहेको इस्टर्न सुगर मिलका लागि गरिएको उखुखेती नष्ट भएपछि मिल सञ्चालनमा पनि समस्या आउने बताइएको छ । अन्य खेती नगरी महंगो मूल्यमा मलखाद तथा बीउ खरिद गरी लगाइएको उखुबालीमा प्लासीबोरर तथा रेडरोट नामक दुई रोग देखापरेको र त्यसबाट उखुखेती नष्ट भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
मिलका वरिष्ठ उखु प्रबन्धक सुरेश मेहताका अनुसार सुनसरी र मोरङमा ११ हजार ६ सय बिघामा उखुखेती गरिएकामा सुनसरीमा चार सय तथा मोरङमा चार सय  गरी आठ सय  बिघामा सो रोग लागेको र रोग लागेको उखु काम नलाग्ने र नष्ट गर्नुपर्ने देखिएको छ । किसानले भने सुगर मिल व्यवस्थापन तथा सरकारले तत्काल रोग नियन्त्रण गर्नुपर्ने माग गरेका छन् । बंैक र सुगर मिलको ऋण मिनाहाका साथै राहत र क्षतिपूर्तिसमेत माग गरिएको छ । मिलबाट प्राप्त विवरणअनुसार सुनसरी र मोरङमा आठ हजार बिघामा गत आव २०६९/७० मा १९ लाख ३४ हजार क्विन्टल उखु उत्पादन भएको थियो ।
चालु आवमा किसानलाई विभिन्न सुविधा दिइएपछि ११ हजार ६ सय बिघामा उखुखेती गरिएको छ । सोबाट ३० लाख क्विन्टल उखु उत्पादन हुने आशा गरिएको थियो । तर,  रोग लागेपछि सुगर मिल र किसानको समस्या बढ्दै गएको प्रबन्धक मेहताको भनाइ छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख मनोज यादवको नेतृत्वमा सुगर मिलका प्राविधिक, उखु व्यवसायी तथा किसानले उखुखेतीको निरीक्षण गरेका छन् । उखुको पात र डाँठ सुक्ने र भित्र किरा लाग्ने देखिएको छ ।
निरीक्षणका क्रममा प्रमुख यादवले रोग लागेका उखु तत्काल काट्नुपर्ने अवस्था रहेको र नकाटे रोग बढ्दै जाने सुझाव दिए । यो रोग उखुको बीउबाट सरेको उनको आशंका छ । एक बिघामा ४ सय क्विन्टल उखु उत्पादन हुन्छ । ३६ क्विन्टल चिनी उत्पादन हुने गरेको मिलले जनाएको छ । यो वर्ष ऋण लिएर दुई बिघा उखुखेती गरेका अमाहीबेला–९ का धर्मलाल यादवले क्षतिपूर्ति नपाए आन्दोलन गर्नुपर्ने स्थिति आएको बताए । यसैबीच, रोग नियन्त्रणका सम्बन्धमा सो मिलका उपप्रबन्धक धर्मचन्द्र सिंहले किसानलाई प्लासीबोरर रोग नियन्त्रण गर्ने उपायबारे तालिम दिएका छन् । उखु किसानले भने सरकारको प्राविधिक टोली पठाउनसमेत कृषि विकास कार्यालयमार्फत माग गरेका छन् ।

प्रतिक्रिया