टिकटमा देखिएको लुछाचुँडी

एकातिर चुनाव हुने/नहुने आशंका कायमै छ भने अर्कातिर प्राय: प्रमुख दलले क्षेत्र, जिल्ला हँुदै अञ्चलबाट उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रमा पठाइसकेका छन् । कहीँ सर्वसम्मत रूपमा नाम केन्द्रमा आएका छन् भने कहीँ एउटा उम्मेदवारका लागि एक दर्जनसम्म नाम प्रस्तावका रूपमा आएका छन् । यसले सबै पार्टीको केन्द्र भोलि टिकट बाँड्ने निर्णायक बेलामा नैतिक संकटमा पर्ने देखिएको छ । उम्मेदवारको सिफारिस हेर्दा प्रत्यक्षतर्फमा बढी नयाँ पनि यो पाला परेको देखिन्छ तर केन्द्रमा पुराना र बूढाहरूको हालीमुहाली हुने निश्चित प्राय: पनि छ । बूढाहरूको अझै पनि उम्मेदवार हुने इच्छालाई के भन्ने उत्साह या आशक्ति ।
जोश या भकारो ओगट्ने नियत । प्रस्ट छ टिकट त्यसलाई दिने जसले जसरी पनि जुनसुकै हालतमा, मूल्यमा चुनाव जितेर आउँछ न कि हारेर ङिच्च दाँत देखाउँदै । चुनाव जित्नुपर्‍यो टाउको फोरेर हुन्छ, खुट्टा भाँचेर हुन्छ कसरी हुन्छ । हाम्रो अहिले एकसूत्रीय नीति नै हो । आदर्शका कुरा हँुदै जान्छन्, जसले हान्यो उसले जान्यो भनेझँै युगनुसारको व्यवहार गर्नुपर्छ । भन्नेहरू निष्पक्षताको कुरा भन्दै गर्छन्, कसैले कठैबरा भन्नेवाला छैन । ठोक्नी रणनीतिमा छौँ हामी । केही दिनपहिला भएको अफ द रेकर्ड कुराकानीमा एक नेताको कुरा हो यो । यो दमको कुरा हो । न चुनाव लड्ने हार्छु भनेर लड्छ न दिनेले हारेर आइज भनेर नै पठाउँछ । प्रत्यक्षतर्फ यो भइरहँदा समानुपातिकतर्फ भने उसले पार्टीको राजनीतिक आदर्श बुझेको होस्/नहोस् नगद फालिदिन सक्यो भने ऊ सुरक्षित रहनेछ, केही पेटी लगेर फालिदिएपछि समानुपातिकमा सुरक्षित कसो नभइएला, यस्ता धारणा पनि सुन्न पाइन्छ । सापेक्षतामा उम्मेदवारको, दलको लोकप्रियता, उम्मेदवारको क्षमता, त्याग, इतिहास, व्यक्तित्व, वाक्कला अनि उसको आर्थिक हैसियतले पनि चुनावमा फरक पार्छ । अहिले हाकाहाकी भन्न थालिएको छ जसले बढी खर्च गर्न सक्छ उसैलाई दिनुपर्छ टिकट । माथिकाले पनि आफू चुनाव लड्न, गुट धान्न पनि खर्चको राम्रै जाहो गर्ने सुरमा छन् यो पाला । आफू चुनाव लड्ने खर्च उठाउनु छ टिकट बाँड्दा राम्रैसँग खेलेर । हार्नेलाई सोधेका छैनन् कसरी धानिनुभएको छ, जित्नेलाई फेरि पनि सोधिएको छ यो पाला के छ विचार । टिकट जित्नेले पाउनुपर्छ । जित्नलाई अब यी माथि उल्लिख गरेको इतिहास, योगदानको कुरा होइन, कति धनी छ, कति लाख, करोड खर्च गर्न सक्छ । धनले डन किन्न पाइन्छ डनले चुनावमा बुथ कब्जाको रिस्क मोलिदिन्छ । त्यसैले राजनीति अब धनीहरूले गर्ने पेसा भएको छ । जीवनभर पार्टी भन्यो, संगठन भन्यो, रात भनेन, दिन भनेन जनताका कामका लागि मध्यरातमा उठेर हिँड्यो अब ऊ पल्लोछेउ पर्ने भएको छ । हिजोदखि संगठन भनेर हिँड्यो हिँड्दा खर्च भयो, भएको श्रीसम्पत्ति सिध्यायो जनताको काममा हिँड्दा डुल्दा ।
हिँड्दा दुई/चार जना पछि लगाएर हिँड्यो, भात खुवायो, आज अस्ति आएका चैतेहरूलाई टिकट चाहिएको छ, सम्पत्तिको ध्वाँस दिँदै भनेको छ– तिम्रो के हैसियत छ र चुनाव लड्छौ ? तपाईं गाउँमा कांग्रेस, एमालेको कुरा गर्नुहुन्छ भने हिजो माओवादीको दबदबा रहँदा पनि न डर न धाकधम्की न लोभ–लालचमा नबगेर बसेका संकटका समयमा पनि पार्टीलाई जोगाइराखेका कार्यकर्ता आज अन्यायमा परेका छन् । माओवादीको कुरा गर्नुहुन्छ भने हिजो भइखाई आएको सेवा–सुविधा छाडेर युद्धमा लागेकाहरू आज पछि परेका छन् । जाबो दुई/चार जनाले खाएको चियाको पैसा त तिर्न सक्दैनौ भने तिमी कसरी चुनाव लड्छौ, जित्ने कुरा त परको कुरा । त्यसैले महोदय बरु चाहिन्छ भने दुई/चार लाख लिएर कुना पस । मेरो समर्थनमा ताली पड्काउ, मैले टिकट पाएँ भने, चुनाव जितँे भने तिमीलाई बरु केही हेराँैला ।
पहिला दिएको कारोबारको कुनै हिसाब नगरौँला । त्यसैले फुक जताततै मेरो नाम फुक । गाउँमा फुक, क्षेत्रमा फुक, जिल्लामा फुक, केन्द्रमा फुक अनि समग्र नेपालमा फुक । गरिब राजनीतिकर्मीले गर्ने त्यत्ति हो । पैसा देखेपछि महादेवका त्रिनेत्र राजनीतिक क्षेत्रमा त यो झन् लागू भएको छ । नेपालको न्याय सानातिनाका लागि भनेझैँ पार्टीमा विधान पनि सानातिनाका लागि त हो नि † बिहान खाए बेलुका के खाउँm को स्थितिमा छ राजनीतिको गुड्डी हाँक्न तपाईंहरूले सुहाउँदैन अप्रत्यक्ष ढंगले स्थानीयदेखि जिल्ला हुँदै केन्द्रीय नेताहरूले यसै भनिरहेका छन् कोहीले मुखै फोरेर त कोहीले व्यवहारले । हिजोदेखि नै खटेका राजनीतिक मान्छे टाउको हल्लाउन अभिशप्त छन् । हिजोदेखि जनताको नाममा सुको नखाएको पनि त्यही सिफारिसमा परेको छ, बाटोको बजेट खाएर, पुलको पैसा खाएर, कुलुको पैसा खाएर हिँड्ने पनि सिफारिसमा परेको छ । राजनीतिमा योभन्दा अर्को विडम्बना के हुन सक्छ ? भूगोलमा खट्ने बिचरा न रक्तचन्दन बेच्न जान्यो न बाटोको ठेक्कामा खान जान्यो । नेता हुन फगत अब सदस्यता काटे भएको छ । गुटवाजहरू आज त्यो जुनसुकै पार्टीमा होस् ऊ समानुपातिकमा परेको छ । अब डनहरूले टिकट पाउनेछन् नत्र कम्तीमा समानुपातिकमा त अवश्य पर्नेछन् । अब हरेक पार्टीभित्रका इमानदार राजनीतिकर्मीले विनम्रतापूर्वक भन्नुपर्ने भएको छ, टिकट र भोट त्यसलाई देऊ जसले जनताको घर गएर मकै खाएको छ, राजनीतिभन्दा आºनो श्री–सम्पत्ति सिध्याएको छ, जनताका कामलाई न रात भन्यो न दिन भन्यो, सुखमा सुख बाँड्यो दु:खमा दु:ख बाँड्यो, होइन र छैन भनेन भएको र रहेको दियो आफू सिद्धिएर जनतालाई नाइँ भनेन, रूखो बोलेन, देखे पनि नदेखेको अभिनय गरेन, सक्ने र हुनेलाई हुन्न भनेन, जोतिइरह्यो सधैँ जनताको काममा चाहे त्यो गोरेटो निर्माणमा होस् या पुल निर्माणमा अनि समग्रमा विकास निर्माणमा ।
के यस्ताले चुनाव जित्लान् त प्रश्न आउँछ । यदि, यिनीहरूले टिकट नपाउने हो र नजित्ने हो भने राजनीतिको आगामी पुस्ताका लागि राजनीति अहिले भन्दा पूरै आपराधिक र विशुद्ध व्यवसाय बन्नेछ । त्यो बेलाको राजनीति विवेकले भन्दा धनले निर्देशित गर्नेछ । जसरी पनि चुनाव जित्नु पनि राजनीति होइन । हारेर पनि यस्ता राजनीतिकर्मीलाई प्रोत्साहन गरियो भने राजनीतिमा असल नजिर बस्न सक्छ । राजनीतिलाई आदर्श भनेर बुझेकाहरूले टिकट पाए भने राजनीतिलाई आदर्शका रूपमा बुझिरहन मद्दत गर्नेछ तर राजनीतिलाई अर्थोपार्जनको माध्यम अर्थात् राजनीतिको आडमा कमिसन खान पल्केका नै हाबी हुने हो भने फेरि राजनीतिमा निष्ठावानहरूको काम रहने छैन । जतिबेला राजनीति डन र ठेकेदारहरूको नियन्त्रण र निर्देशनमा सञ्चालित रहन्छ, त्यतिबेला राजनीति सबैभन्दा दयालाग्दो परिस्थितिमा पुग्ने निश्चित छ । त्यसकारण पनि आगामी नेपालको राजनीतिलाई के बनाउने भन्ने प्रमुख दलका टिकट बाँड्ने नेतामा निर्भर रहनेछ । उनीहरू राजनीतिको भट्टीबाट व्यापारी निकाल्न चाहन्छन् या राजनेता ? त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया