जीवन र भयवाद

Desh_Dubbaचारैतिर भय छ । राजनीतिक, आर्थिक, सामाजिक, जैविक । देश जलिरहेको छ । अधिकारका लागि वैचारिक आन्दोलनको हानाहान छ । एउटै पार्टीभित्र एउटा नेता अर्को नेतासित भयभीत छ । एउटा पार्टी अर्को पार्टीसित भयभीत । जाति, क्षेत्रमा पनि यही रोग फैलिँदै छ । भयको आक्रमण, खेदाखेद, बचाउ सबैतिर छ । यसले युद्ध निम्त्याउँछ, आन्दोलन गराउँछ, हत्या गराउँछ, लोभी, अपराधी षड्यन्त्रकारी, शंकालु, घमन्डी सबै बनाउँछ । यो ब्रह्माण्डजति नै विशाल छ । जन्मदेखि मृत्युसम्म नै यसको प्रभाव छ । एककोषीय जीवदेखि बहुकोषीय सबैमा विद्यमान । यो विभिन्न आकारको हुन्छ– सानो, मध्यम र ठूलो । बाह्य तथा आन्तरिक । यही भयको कारण मानसिक, भौतिक समस्या देखापर्छ । ठूलो र सानो मान्ने यन्त्र आफैँभित्र छ । यो सकारात्मक र नकारात्मक दुवै हुन्छ । विश्वका धेरै दर्शन, वैज्ञानिक आविष्कारलगायत संघसंगठन भयबाट लुक्न, छल्न, प्रतिवाद गर्न स्थापना गरिएका हुन्छन् । आखिर भय के हो ? किन मान्छे आकाश हेर्दै चारैतिर दौडिन्छ । यी सबैलाई व्याख्या गर्न ‘भयवाद’ आएको छ ।
भयवादले विश्वका दर्शन, अध्यात्म, जीवन, मृत्यु सबै राखेर व्याख्या गरिरहेको छ । कसरी हुन्छ ? कताबाट हुन्छ ? कस्तो असर पर्छ र यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ ? यसबारे विस्तृत व्याख्या कतै पाइन्न जब कि घरबाट निस्केपछि फर्किंदासम्म भयै–भय हुन्छ । काममा जाँदादेखि फर्किंदासम्म प्रत्येक कदम भयमै गुज्रिन्छ । उठेदेखि सुतेसम्म भय भइरहन्छ । सरकार, बैंक, अस्पताल, विद्यालय, समाज सबै भयबाट लुक्न, सुरक्षित रहन स्थापना गरिएका संस्थाहरू हुन् । जहाँ लुकेर हामी सुरक्षित हुन चाहन्छौँ । यी सबै विषयलाई ध्यानमा राखेर यसको व्याख्या भयवादमा भइरहेको छ । यसको सूत्र छ—जीवन, चेतना, ज्ञान, भय र संज्ञान ।
जीवित प्राणीमा चेतना हुन्छ नै । चेतनाकै कारण मान्छेलाई ज्ञान हुन्छ । ज्ञानपछि भय । यही भयबाट निस्किन हामी चारैतिर दौडिरहेका हुन्छौँ, संगठन बनाउँछौँ, देश बनाउँछौँ, सम्पत्ति आर्जन गर्छौँ । आफूलाई बचाउने, सुरक्षित गर्ने सिलसिलामा अरूलाई काट्छौँ, मार्छौँ, आतंकित बनाउँछौँ । सदियौँदेखि सभ्यताको विकासक्रममा यही रीत चलिरहेको छ । अब्राहम मास्लोले भनेझैँ आवश्यकताकै कारणले हामी दौडिरहेका हुँदैनौँ, न माक्र्सवादले भनेजस्तो वर्गसंघर्ष बोकेर हिँडिरहेका हुन्छौँ । हामी पहिला एक्ला मान्छे हौँ, आदिमकालमा पनि एक्लै थियौँ । आज हामी वरिपरि समाज राखेर पनि एक्ला छौँ । एक्लो मान्छेलाई बाँच्न, सुरक्षित रहन समाज, देश सबै चाहिन्छ । भयबाट सुरक्षित रहन हामी देश, समाज, संगठन सबैमा लुकेर बस्छौँ । हामीसित कहिले धेरै भय हुन्छ कहिले थोरै । यो कतैबाट आएको हुँदैन, हामीबाटै निस्केको हुन्छ । यसको नियन्त्रण हामी गर्छौँ र उपयोग हामी नै गर्छौँ । यसको सदुपयोग हुन सकेन भने यो झन् भयानक हुन्छ । भयबाट पीडित भएका मान्छेहरूलाई चिकित्सा विज्ञान मनोरोग, डिप्रेसनमा राखेर उपचार गरेको पाउँर्छौँ ।
फ्रायडको मनोविज्ञानको व्याख्या हुनुअघि मनोरोगी, सुस्तमनस्थिति भएका मान्छेहरूलाई थुनेर राख्ने, बाँध्ने, यातना दिने गरिन्थ्यो । मनोविज्ञानको व्याख्यापछि आज संंसारभर सजिलैसित उनीहरूको वर्गीकरण भएको छ । रोग पत्ता लागेको छ र उपचार पद्धतिको विकास भएको छ । यसरी नै भयरोगीलाई पनि अहिले अन्यत्र राखेर उपचार गरिएको पाइन्छ । भयरोगीलाई अन्यत्र राखेर उपचार गर्दा निश्चय पनि उपचार फलदायी हुँदैन । भयबाट रोगीलाई त भयबाटै उपचार गर्नुपर्छ । भयबाट उपचार गर्न पहिला यसका सिद्धान्त हुनुपर्‍यो, सिद्धान्तले व्याख्या गरेपछि चिकित्सकले विश्वास गर्नुपर्‍यो अनि भयको चिकित्सक चाहियो, उपचारविधि चाहियो, औषधि चाहियो । तब मात्र उपचार हुन्छ । उदाहरणका लागि कुनै विद्यार्थीले उच्च भय राखेर परीक्षा दियो भने ऊ आफूले जानेको कुरा पनि परीक्षामा लेख्न सक्दैन । लेख्न सकेन भने ऊ असफल हुन्छ । त्यसको असरस्वरूप विद्यार्थीले आत्महत्या गर्न सक्छ, तनावमा पर्न सक्छ, कुलतमा पर्न सक्छ, परिवारलाई पिर्न सक्छ, पलायन हुन सक्छ । सामान्यत: मध्यम भय राख्ने मान्छे प्राय: सबैतिर सफल हुने गर्छ । कम भय राख्ने मान्छे पनि उच्च भय राख्ने मान्छेजस्तै असफल हुन्छ । यस्तै हुन्छ चालक, व्यापारी, अपराधी, सरकार सबै मान्छेलाई ।
भयवाद एउटा यस्तो विचार हो, यसमा भय, भयको स्रोत, प्रकार, असर, युग, उपचार सबै उल्लेख भएको छ । यस विचारका अनुसार युद्ध, हत्या, आतंक, लोभ, सुरक्षा, संरक्षण, धर्म, अन्धविश्वास, रूढिवादी, अधिकार, स्वतन्त्रता, पलायन, अवसाद, पहिचान सबै भयका कारण हुन्छन् । त्यस्तै आविष्कारहरू आणविक हतियार, औषधि, ठूल्ठूला भवन, यातायात सबै भयका कारणले हुन्छन् । हामी दौड प्रतियोगितामा झैं साँझ–बिहान कुदिरहेका छौँ । देश–विदेश कुदिरहेका छौँ । कोइलाखानीमा कुदिरहेका छौँ । समुद्रमाथि कुदिरहेका छौँ । मरूभूमिको तातो हावासित जुधिरहेका छौँ । यी सबै जोडेर भन्छौँ– हामी भविष्यको सपनाको महल बनाइरहेका छौँ । जीवनका सुन्दर बगैंचा बनाइरहेका छौँ । यसको अर्थ के हुन जान्छ भने हामी सपनासित डराइरहेका छौँ । बगैंचासित डराइरहेका छौँ । कतै चोइटिन्छ, कतै टुट्छ कि भन्ने भयले । यसैलाई बचाउन ज्यान फालेर दौडिरहेका छौँ । पौडिरहेका छाँै । तर, सजिलै हामी यो यथार्थ स्वीकार गर्दैनौँ । बरू दौडिन्छाँै । हामी मात्र होइन, बिलगेट्स दौडिन्छ, संसारका धनाढ्य सबै दौडिरहेका छन् । माक्र्सवादले पनि स्वीकार गरेको कुरा के हो भने शिकारी युग, ढुंगयुगमा न वर्गसंघर्ष थियो न त बुर्जुवावर्ग, न सामन्त, न पुँजीपति, न त सर्वहारा नै । तापनि, भय थियो, त्यही भयबाट बच्न आदिम मान्छे ओढारमा बस्न थाले, ढुंगाको हतियार बनाउन थाले । ओढार गगनचुम्बी महल बन्यो, ढुंगे हतियार आणविक हतियार । त्यसबेलाको मान्छेले मान्न थालेको हावापानी, असिना, घाम, जून, चट्टान ईश्वर भए ।  त्यही ईश्वर फैलिएर, मोटाएर, ध्यानमग्न भएर, राजनीतिज्ञ भएर, दार्शनिक भएर आज हाम्रोअघि आइपुगेको छ । ईश्वरको काम आज पनि विभिन्न भयबाट मान्छेलाई ओढार दिनु हो, सुरक्षा दिनु हो । आदिमकालको ईश्वरको कार्य र आजको ईश्वरको कार्य उस्तै हो । रंग, रूप, विश्वास, प्रविधि मात्र बदलिएको हो ।
त्यसकारण मान्छेले जे गरिरहेको छ, जे मानिरहेको छ, जे पढिरहेको छ सबै भयबाट निस्किने बाटा मात्र हुन् । बुद्धत्व पनि एउटा मार्ग मात्र हो ।
भयवाद जीवन, साहित्य, कला, मनोविज्ञान, दर्शन, समाजशास्त्र सबैतिर हेर्ने विश्वदृष्टि हो । भयले सबैतिर प्रभाव पारेको छ । मानवलाई मात्र होइन पशुपंक्षी सबैलाई । पशुपंक्षीमा पनि मानवको जस्तै जैविक सबै गुण हुन्छ । तर, हामी देखिरहेका हुँदैनौँ । काम, क्रोध, माया, मोह, इष्र्या, लोभ, घृणा, विश्वास सबै हामी प्रस्ट रूपमा देख्न सक्दैनौँ । तर, भय परबाट देख्न सकिन्छ । भय देख्नुभनेको लक्षण देख्नु हो । आकासमा चिल उडेको देखेपछि चल्लाहरू हल्ला गर्दै भाग्छन् । त्यस्तै जंगलमा कुनै सिंह, अजिंगर आएको देखे अन्य प्राणीको हसले ठाउँ छाड्छ । उनीहरू ज्यान जोगाउन भाग्छन् । प्राकृतिक संकट जस्तै : भूकम्प, सुनामी आउने कुरा पशुपंक्षीले अगाडि नै थाहा पाउँछन र सुरक्षित ठाउँमा लुकेर ज्यान जोगाउन थाल्छन् । हामी पनि भविष्यमा आइपर्ने आर्थिक, सामाजिक तथा प्राकृतिक संकटबाट बच्न विभिन्न उपाय गर्छाैँ । यी सबै भयबाट लुक्न सुरक्षित हुन गरिएका प्रयास हुन् । त्यसैले भय बुझ्न, भयबाट सुरक्षित रहन, रोगहरूबाट बच्न, उपचार गर्न अब भयको विद्यालय, महाविद्यालय हुन आवश्यक छ । उपचार केन्द्र आवश्यक छ, चिकित्सक आवश्यक छ । विश्व झन् भयानक हुँदै छ, आतंककारी हुँदै छ, जातिवादी, क्षेत्रवादी हुँदै छ । वर्गविहीन समाजको कल्पना गरेर मात्र हुँदैन, समाज वर्गविहीन भए पनि भयविहीन हुन सक्दैन । भयानक रोगहरूले विश्वलाई हमला गरिरहेको छ । नयाँ–नयाँ समस्याले आक्रमण गरिरहेको छ । यी सबैसित जुध्न भयको ज्ञानका साथै उपचार हुन जरुरी छ । यसले मान्छेलाई आत्महत्या, हत्या, आतंक, युद्ध, आक्रमण, असफलता सबैबाट बचाउँछ र समाजलाई शान्त, समन्वयात्मक, मेलमिलाप सबैमा डोर्‍याउँछ ।

प्रतिक्रिया