“राष्ट्रवादी” को राग

Mahesh-Thapaसंविधानसभा निर्वाचन समयमा होला/नहोला भन्ने आशंकामा गर्माइरहेको राजनीतिक बजारलाई पूर्वप्रधानमन्त्री मरिचमान सिंहको मृत्युको समाचारसँगै सुरु ‘राष्ट्रवादी’ र ‘अराष्ट्रवादी’को बहसले ढाक्न पुग्यो । नेपालमा असामान्यझैँ प्रतीतहुने पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले उपचार खर्च जुटाउन नसकेको प्रसंगले उद्वेलित बनाइरहेको नेपाली मनलाई थप भड्काउने काम गर्‍यो–उनको उपचार एवं अन्त्यष्टिमा देखाइएको सरकारी बेवास्ताले । उनी कुन हदसम्मको ‘राष्ट्रवादी’ थिए वा थिएनन्, आफ्नो दृष्टिकोणको आधारमा मानिसले भिन्न धारणा बनाउन सक्छन् । बनाइरहेका छन् पनि । उनको पक्ष–विपक्षमा अखबार, टेलिभिजन, चियापसलदेखि सामाजिक संजालसम्म जुन ढंगले तीव्र बहस भइरहेको छ, त्यो अस्वाभाविक देखिन्छ । सतहमा मरिचमान देखिए पनि यो बहसको अन्तर्यमा वर्तमान राजनीतिक अव्यवस्थाप्रति सर्वसाधारणमा चुलिँदै गएको आक्रोश, अनिश्चित उद्देश्य प्राप्तिका लागि त्यसलाई भड्काउन भइरहेको नियोजित प्रयास लुकेको छ ।
पछिल्लो राजनीतिक दुरावस्थाको एउटा सकारात्मक पाटो के छ भने राष्ट्रियताको विषयले सर्वसाधारणलाई समेत पोल्न थालेको छ । नागरिकता मुद्दा, सीमा मिचिएको कुरा, सुरक्षा हस्तक्षेप, बाह्य शक्तिहरूले खुलेआम गरिरहेको ‘सोसियो–पोलिटिकल इन्जिनियरिंग’ को प्रयत्नहोस् या विदेशीहरू अघिल्तिर लम्पसार पर्ने हाम्रो नेतृत्वको प्रवृत्ति, यी यावत् विषयहरूमा आम चासो प्रकट हुनथालेको छ । पार्टीगत एवं व्यक्तिगत स्वार्थका लागि राष्ट्रिय स्वार्थलाई तिलाञ्जली दिई राजनीतिक नेतृत्वले राष्ट्रियता धरापमा पारे भन्ने असन्तुष्टि जनस्तरमा व्यापक छ । त्यहीअसन्तुष्टिको ठूलो हिस्सा अहिले मरिचमानको समर्थनमा प्रकट भएको छ । जसलाई हावा दिएर गणतन्त्र एवं लोकतन्त्र नै बेठिक हो भनी स्थापित गर्न खोजिँदै छ । मरिचमान सिंह कस्ता व्यक्तिथिए भन्दा पनि उनले जुन कालखण्डको प्रतिनिधित्व गरे, त्यो वर्तमान नेपालका लागि उपयुक्त छ/छैन भन्ने कुरा बढी महत्त्वपूर्ण हो ।
वर्तमान नेतृत्वको नालायकीका कारणनै मरिचमानको अन्त्यष्टिमा ‘श्रीमान् गम्भीर…’ गाउन सक्ने अवस्था सिर्जना भयो । मरिचमान प्रधानमन्त्री भएका बखत कुनै दलको नेताको अन्त्यष्टिमा  ‘श्रीमान् गम्भीर…’ को सट्टा अर्को राष्ट्रगान गाइएको भए, त्यहाँ अरू पनि धेरै चिताजल्ने अवस्था उत्पन्न हुन सक्थ्यो । ‘राष्ट्रवादी’को हल्ला पिटाएर पञ्चायती शासन बढी प्रगतिशील रहेको बताउन खोजिँदै छ । कमलथापाले उनलाई उत्कृष्ट पाँचमध्येका एक प्रधानमन्त्री भन्ने घोषित गरिसकेका छन् । आफ्नो विश्लेषणलाई तटस्थ देखाउन विपीको नाम जोडे पनि उनको सूचीमा बाँकी चार पञ्चायतकालीन प्रधानमन्त्री छन् । त्यसभित्र छोटो अवधिका लागि भए पनि लोकप्रिय सरकार चलाएका मनमोहन अधिकारी र विदेशीको आश्रयमा बस्नुभन्दा स्वदेशी जेल रोज्ने कृष्णप्रसाद भट्टराई अटाएनन् । यो हल्लाले आकार ग्रहण गर्दै गएको खण्डमा भोलि उनले उत्कृष्ट गृहमन्त्रीहरूको सूची पनि सार्वजनिक गर्लान् नै !
इतिहासमा पटकपटक अवसर पाएर पनि समयको पदचाप बुझ्न नसक्दा राजतन्त्रले आफ्नो पतनको बाटो आफैँ खन्यो । पृथ्वीनारायण शाह पश्चात कोतपर्वसम्म करिब सात दशक नेपालमा लम्पट राजाहरूले शासन गरे । सत्तरी वर्ष कुनै छोटो समय थिएन । त्यति अवधिभित्र अक्टोबर क्रान्ति सम्पन्न भई महाशक्तिका रूपमा एउटा ध्रुवको नेतृत्व गरेर सोभियत संघ विघटन भइसकेको थियो । अयोग्य राजाका कारण नायव, मुख्तियार र काजीहरूबीच शक्ति संघर्ष चल्यो । जसको जगमा राणा शासनको उदय भयो । जन बलमा खोपीबाट गद्दीमा पुन:स्थापित राजाले ०१७ सालमा निर्वाचित सरकार विघटन गर्दै तानाशाही लादे । बलपूर्वक परिणाम आफ्नो पक्षमा ल्याउदा जनमत संग्रहको अवसर गुमाए । ‘टुलुटुलु हेरेर नबस्ने रचनात्मक राजा’ बन्ने महत्त्वाकांक्षामा ०४६ सालको सहमति भत्काएपछि गणतन्त्रको पृष्ठभूमि तयार भयो । शासन गर्ने व्यक्ति वा संस्था राष्ट्रवादी हुनुपर्छ । तर, त्यही एक मात्र सर्तले कुनै शासन व्यवस्थाको औचित्य सावित हुँदैन । त्यसो हुन्थ्यो भने नेपाल एकीकरण पछिका सबैभन्दा राष्ट्रवादी शासक जंगबहादुर हुन् । उनले सुगौली सन्धिमा गुमेको ‘नयाँ मुलुक’ फर्काए । नेपाल–तिब्बत युद्धमा चीन मिसिन आएपछि अपमान जनक ढंगले गर्नुपरेको बेत्रावती सन्धिमा गुमेको हाम्रो स्वाभिमानलाई थापाथली सन्धिद्वारा उकासे । चीन थाइपिंग विद्रोहमा अल्झिएको मौका छोपी तिब्बत चढाइ गर्ने चतुर जंगबहादुर राष्ट्रवादी थिए भन्दैमा राणा शासन ब्युँताउन सकिन्छ ? जंगबहादुरको कुनै सन्तानलाई श्री ३ महाराज बनाइदिएर वर्तमान नेपालको समस्या समाधान हुन्छ ? राजसंस्था नेपालमा ‘आउटडेटेड’ भइसक्यो । नयाँ प्रविधिमा अभ्यस्त मान्छे ‘आउटडेटेड’ प्रविधिमा फर्किने सम्भावना सामान्यत: रहन्न । मोबाइल फोनको नेटवर्क गुणस्तर खराब भयो भन्दैमा मान्छे पेजर बोक्न तयार होलान् ?
वर्तमान नेतृत्व राष्ट्रियताको मुद्दामा उदासिन रहँदा इतिहासले असफल सिद्ध गरिसकेको व्यक्ति, विचार र संस्थामा नायकत्व खोज्न थालिएको विडम्बनापूर्ण अवस्था हाम्रो सामु छ । विगत केही वर्षमा राजनीतिक दलहरूले कतिपय संवेदनशील मुद्दाहरूमा विरोधाभाषपूर्ण रबैया अपनाउँदा आम मानिसको ठूलो तप्कामा गणतन्त्र, धर्म निरपेक्षता जस्ता विषयप्रति संदेह उत्पन्नभएको छ । त्यही संदेहलाई भड्काएर लोकतन्त्रकै घाँटी निमोठ्ने दुस्प्रयत्न हुँदै छ । राजतन्त्रभन्दा लोकतान्त्रिक गणतन्त्र उन्नत शासन व्यवस्था भएजस्तै समाज विकासको कोणबाट राज्यधर्म निरपेक्ष हुनु प्रगतिशील कुरा हो । तर, धर्म निरपेक्षता कुनै धर्म, संस्कृति समाप्त पार्ने औजार बन्नुहुँदैन । यहाँ धर्म निरपेक्षता होचोलाई अग्लो बनाउन, अग्लोको खुट्टा काट्ने लाइसेन्स जस्तो भएको छ । चर्चको माध्यमबाट तीव्र रफ्तारमा भइरहेको धर्म परिवर्तनको विषयलाई लिएर छिमेकी देशहरूले समेत सार्वजनिक चिन्ता जाहेर गरिरहेका बखत प्रत्यक्ष प्रभावित समुदायमा छटपटी उत्पन्न हुनु अस्वाभाविक होइन । त्यही चिन्ता र असन्तुष्टिलाई भजाएर असफल इतिहासलाई सुनौलो देखाउने प्रयत्न भइरहेछ । मन्दिर गएर पूजा गरेवापत हात भाँचिदिने ‘क्रान्तिकारी’ हरूले चर्चमा पादरीको आशीर्वाद थापिरहेको तस्बिर सार्वजनिक भएपछि मानिसको संशय अझ विस्तारित भएको छ । साम्प्रदायिकताको बीउ रोप्न जति सजिलो हुन्छ, मास्न त्यति नै कठिन । राजनीतिक नेतृत्वले आफ्नो नीति र व्यवहारमा न्यूनतम सुझबुझ देखाउन आवश्यक छ, ताकि पछाडि फर्कन खोज्नेहरूले ठाउँ नपाऊन् ।
जीवित छउन्जेल सत्तोसराप गर्ने र मरेपछि गुणगान गाउने हाम्रो परम्परा छ । मृत्यु शैय्यामा पुगेपछि मरिचमानको गुणगान गाउनेहरूले धेरै पहिलानै उनलाई राजनीतिमा अघि सार्नु पथ्र्यो । उनको चाहना के थियो भन्दा पनि त्यति ‘राष्ट्रवादी’ र ‘योग्य’ मान्छे नेतृत्वका लागि अघि बढ्नु राष्ट्रिय आवश्यकता हुन जान्थ्यो । त्यसैले यो ‘राष्ट्रवादी’को राग अलापेर बस्नुभन्दा मरिचमानजस्तै राष्ट्रका लागि अपरिहार्य मान्छेको–को बाँकी छन्, तिनको नाम सार्वजनिक गरिदिउँm र आगामी संविधानसभा निर्वाचनमा उम्मेदवार बनाऔँ । फैसला जनताले गर्नेछन् । प्लेटोको प्रसिद्ध भनाइ छ, ‘राजनीतिमा सहभागी नहुनुको एउटा सजाय यो हुनेछ कि तिमी आफूभन्दा कमसलद्वारा शासित हुनुपर्छ ।’
मरिचमानको समर्थनमा स्वर गुञ्जनु भनेको लोकतान्त्रिक गणतन्त्र नेपालका नेतृत्वकर्ताहरूको गालामा नराम्रो झापड हो । आफूले गरेका कर्महरूको आत्म समीक्षा गर्ने मौका पनि । राजनीतिमा विकल्पविहीन कुरा केही हुँदैन । उपयुक्त ढंगले चल्नन सक्दा हिजो राजतन्त्रको विकल्प जनताले खोजे । जनस्तरमा उठिरहेको असन्तुष्टि सम्बोधन हुने गरी व्यवहार परिवर्तन गर्न सकेनन् भने अहिले राजनीतिको केन्द्रमा रहेका दल र तिनको नेतृत्वको पनि जनताले विकल्प खोज्ने नै छन् । कुनै पनि व्यक्ति र संस्थाको चरित्रका विविध आयाम हुन्छन् । समष्टिगत रूपमा त्यसको मूल्यांकन गरिनुपर्छ । कुनै एउटा पाटो टपक्क टिपेर कसैलाई नायक/खलनायक बनाउनु उपयुक्त हुँदैन । अहिले उरालिएको ‘राष्ट्रवादी’को रागभित्र अन्तर्निहित आशयलाई ‘डिकोडिंग गर्नु जरुरी छ । अन्तत: त्यो लोकतन्त्र र नागरिक अधिकारविरुद्ध परिलक्षित छ ।

प्रतिक्रिया