विकल्परहित निर्वाचन

govinda-copyनिर्वाचन हुन्छ वा हुँदैन भन्ने अवस्था अहिले पनि कायमै छ । बौद्धिक जगत् सशंकित छ भने मतदाताको पनि त्यही अवस्था छ । यो अवस्था कायम रहेसम्म मतदाताको मनबाट शंका हट्ने सम्भावना देखिँदैन । कुनै पनि राष्ट्रिय मुद्दामा पवित्र उद्देश्य राखेर ठोस निर्णय गर्न नसक्ने, समयसापेक्ष सोच्न हिचकिचाउने र आफ्नो विचारलाई नै निर्विकल्प ठान्ने नेतृत्वकै कारण वर्तमान अवस्था सिर्जना भएको मान्नुपर्छ । अहिले नेकपा–माओवादीलगायत केही दल निर्वाचन बहिस्कार गर्ने अवस्थामा पुगेका छन् । लोकतन्त्रमा कुनै पनि दलले निर्वाचन बहिस्कार गर्न सक्छ । लोकतन्त्रको असल पक्षमध्ये यो पनि एउटा हो । तर, यही लोकतन्त्रमा नागरिकलाई मतदान गर्नबाट वञ्चित गर्न पाइँदैन । मतदान गर्न पाउने अधिकार नागरिमा सुरक्षित रहन्छ भने बहिस्कार गर्ने अधिकार दलहरूमा रहन्छ । यो तथ्यलाई कसैले पनि बिर्सन मिल्दैन । दलहरूको आ–आफ्नो एजेन्डा र मुद्दा हुनु स्वाभाविक हो । बहुदलीय व्यवस्थामा धेरै दल हुनुलाई पनि अन्यथा मान्नु हुँदैन तर लोकतन्त्रमै टेकेर लोकतान्त्रिक पद्धतिप्रति नै विमित जनाउनु भने सान्दर्भिक हुँदैन । यसतर्फ नेकपा–माओवादीले गम्भीरतापूर्वक सोच्न जरुरी छ ।
नेकपा–माओवादीले उठाएको गत संविधानसभामा नमिलेका बुँदामा मोटामोटी सहमति गर्नुपर्ने मागबाहेक अन्य विषय जनता र राष्ट्रको हित खातिरभन्दा पनि दलगत स्वार्थ प्रेरित देखिन्छन् । सरकार परिवर्तन गर्नुपर्ने, निर्वाचनको मिति सार्नुपर्ने र गोलमेच सभालाई शक्तिसम्पन्न बनाउनु पर्ने माग, निर्वाचन नगर्ने उद्देश्य साथ ल्याइएको हो भन्ने बुझिन्छ । यही उद्देश्य बुझेर नै अन्य दलहरूले अब वार्ता नहुने घोषणा गरेको हुनुपर्छ । तथापि अन्य प्रकारले वार्तालाई निरन्तरता दिनु निर्वाचन चाहने दलहरूको कर्तव्य हुन आउँछ । किनकि संविधानसभाको निर्वाचनलाई सुनिश्चित गर्ने र मतदाताको मनबाट डर–त्रास हटाउने एकमात्र उपाय वार्ता नै हो । तसर्थ, वार्तालाई कुनै न कुनै रूपमा निरन्तरता दिनु पर्छ । अन्यथा निर्वाचन सुनिश्चित हुँदैन र भयरहित वातावरण पनि बन्दैन । यही कारणले अहिले संविधानसभाको निर्वाचन ‘सम्भव’ र असम्भव’ को चेपुवामा परेको हो । निर्वाचन गराउने दृढ संकल्पित दलहरूकै मनसाय स्पष्ट भई नसकेको अवस्थामा निर्वाचनको विपक्षमा रहेकाहरूको मनोबल बढेको पाइन्छ । यो अवस्था केन्द्रमा देखिन्छ भने ग्रामीण क्षेत्रमा निर्वाचनको माहोल बनेको पाइँदैन । निर्वाचन चाहनेहरूको भन्दा नचाहनेहरूको स्वर गतिशील भएको पाइन्छ । अर्थात् निर्वाचन बहिस्कारले जनताको मनमा भयमिश्रित चासो उत्पन्न गराएको छ । जुन भयलाई चिर्न भरपर्दो वातावरण बनाउन जरुरी छ । यदि भयरहित वातावरण नबनाउने हो भने विगत संविधानसभालाई ‘व्यर्थ’ भन्ने मतदाताले पुन: त्यही संविधानसभाका लागि मतदान नगर्ने सम्भावना रहन्छ ।
अहिले निर्वाचन बहिस्कारको पाटोलाई विभिन्न कोणबाट हेर्न थालिएको छ । यसभित्र पक्कै रहस्य लुकेको छ भन्नेहरू पनि धेरै देखिएका छन् । रहस्यको पाटो खुल्दै जाला अहिले भने भयरहित, स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचनको सुनिश्चितता नै प्रमुख विषय वन्नु पर्छ ।  नेताहरूले के स्पष्ट हुन जरुरी छ भने उपत्यका मात्र नेपाल होइन । पूर्वीपहाड, मध्य तराई र दूरदराजका ग्रामीण क्षेत्र पनि नेपाल हुन् । शंकाको, फन्दामा नराम्रोसँग बेरिएको निर्वाचनप्रति त्यहाँका जनताको मनोभावना बुझ्न अहिलेसम्म कोही पुगेको छैन । केही दलका केही नेता कुनैकुनै जिल्लाको सदरमुकामसम्म पुगेर फर्किए । आफ्नै विगतबाट तर्सिएका पूर्वसभासदहरू पुराना मतदातानजिक गएर आफ्ना कुरा राख्न हिचकिचाइरहेका छन् । मतदाताको एउटै प्रश्न छ ‘विगत दोहोरिँदैन भन्ने ग्यारेन्टी के ?’ यसको जवाफमा निर्वाचन चाहनेहरू आफूहरूलाई बहुमत दिन भनिरहेका हुन्छन् भने बहिस्कारवालाहरू ‘पहिला नै मोटामोटी सहमति नभए विगत दाहोरिने ग्यारेन्टी गरिहेका हुन्छन् । यो अवस्थामा मतदाता झन् रनभुल्लमा परेको पाइन्छ । अन्योल यथावत् राखेर निर्वाचन सम्भव छ कि छैन भन्ने सवाल पनि मुखरित भइरहेको छ । गत संविधानसभाको निर्वाचनमा कमसेकम सबै दल सहभागी थिए । धाँधलिरहित र भयरहित निर्वाचन भएन त्यो अर्कै पक्ष थियो तर अहिले भने निर्वाचन हुनु अगावै जनतामा त्रास पैदा गरिँदै छ । यदि यो त्रास हटाइएन भने मतदान गर्न जनता उपस्थित हुन गाह्रो पर्छ । वैद्य पक्षले निर्वाचन बिथोल्न सक्तैन भन्ने डंका पिट्नुभन्दा पनि उनीहरूलाई निर्वाचन प्रक्रियामा भाग लिने वातावरण बनाउनु पर्छ । कसले के गर्न सक्छ र कसले के गर्न सक्तैन जस्ता कुराले अर्थ राख्दैन । सबै मिलेर पूरै समावेशी संविधानसभा बन्दा पनि संविधान नबनेको विगत कसैले बिर्सन मिल्दैन । यसतर्फ गम्भीर भएर सोच्न जरुरी छ ।
राजनीतिक संकट, संवैधानिक अन्योलता र भयपूर्ण वातावरणको अन्त्य गर्न पनि निर्वाचन आवश्यक भएको हो । यदि यो निर्वाचन भएन भने मुलुक फेरि अर्को संकटमा फस्नेछ । वास्तवमा मोहन वैध पक्षले पनि निर्वाचनमा भाग नलिने भनेको छैन । तसर्थ, उसका उचित सर्तहरू स्वीकार गरेर निर्वाचनमा सहभागी गराउनु पर्छ । चारदलले आफ्ना सर्तहरू स्वीकार गरेन भनेर निर्वाचन प्रक्रिया नै भाँड्ने तानावाना बुन्नु वैध पक्षको आफ्नै हितमा पनि छैन । जनचाहनाकै उपेक्षा गरेर विद्रोहमा उत्रन्छु भन्नु पनि मनासिब होइन । किनकि अहिले जनता निर्वाचनको पक्षमा छन् । राष्ट्रको आवश्यकता पनि निार्वचनले पूरा गर्छ भन्ने सोच बढेको छ । दलहरूले विगतबाट पाठ सिकेको आभास पनि मिलेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा सबै मुद्दाहरू मतदानका लागि सभामा प्रवेश नगराउनु आफ्नो ठूलो भूल भएको’ भनेर स्वीकार गर्नुभएको छ । त्यसै गरी सोही पार्टीका नेता डा. बाबुराम भट्टराईले पनि जातीय पहिचानको आधारमा राज्य नबन्ने ठोकुवा गरी सक्नु भएको छ । यसबाट के स्पष्ट हुन्छ भने विगतले नेताहरूलाई पाठ सिकाएको छ । यही कारणले अहिले नै नमिलेका विषयमा मोटामोटी सहमति भन्ने विषयलाई थाति राख्न सकिन्छ । को अर्घेलो छ र कसले गल्ती गरेको हो भन्ने कुरा अब जनतालाई सिकाइरहनु पर्दैन । सबै दल, नेता र कार्यकर्तालाई नेपाली जनताले नजिकबाट अध्ययन गरिसकेका छन् । तसर्थ, वैद्य पक्षले निर्वाचन बिथोल्ने वा बहिस्कार गर्नेभन्दा पनि आफूसमेत जनतासमक्ष उपस्थित हुन सान्दर्भिक हुन्छ ।
अहिले वैध मोर्चाबाहेक सबै पक्ष र क्षेत्र निर्वाचनको पर्खाइमा रहेको पाइन्छ । यो सत्यलाई स्वीकार गर्दै निर्वाचनमा अगाडि बढ्नेहरूले नै मुलुकलाई निकास दिन सक्छन् । निर्वाचनमा हार जितलाई सामान्य रूपमा लिनुपर्छ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पनि दुई स्थानबाट चुनाव हार्नुभएको थियो । पछि उहाँको आवश्यकता संविधानसभाले महसुस गर्‍यो । संविधानसभा सदस्य बन्दै प्रधानमन्त्रीसमेत बन्नुभयो । भोलि राष्ट्रलाई मोहन वैद्यको खाँचो पर्न सक्छ । किनकि राष्ट्र बनाउने भनेको सबै मिलेर नै हो । पुन: क्रान्ति वा विद्रोह राष्ट्रको आवश्यकता होइन । अहिले प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्दै दिगो बनाउनेतर्फ नै सोच्नुपर्छ । यही नै राष्ट्र र जनताको आवश्यकता हो । निर्वाचनको विपक्षमा रहेकाहरूले पनि जनभावना र राष्ट्रको आवश्यकता बुझ्न जरुरी छ । संविधानसभाको निर्वाचनले कसैलाई पनि हानी पुर्‍याउँदैन । बरु त्यसले राजनीतिक संकट हटाउँदै संवैधानिक अन्योल समाप्त पार्नेछ । यसर्थ, निर्वाचनलाई ‘सम्भव’ र ‘असम्भव’ को चेपुवाबाट निकालेर सुनिश्चित गर्नुपर्छ । निर्वाचनपछि नेताहरूमा इच्छाशक्ति भयो भने थुप्रै राम्रा काम हुन सक्छन्, तर त्यसका लागि भयरहित वातावरणमा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन हुन जरुरी छ । यो निर्वाचनमा वैध पक्षले भाग लिए मतदाता लगायत सम्बन्धित पक्ष ढुक्क भएर निर्वाचनको गतिविधि अगाडि बढाउने थिए । अहिले पनि बेला घर्किसकेको छैन । सबैले ठन्डा दिमागले सोचौँ जनता निर्वाचनको पक्षमा छ ।

प्रतिक्रिया